इतिहासकै सस्तो बन्यो ब्याजदर, ऋण लिन व्यवसायीमा छैन उत्साह

623
Shares

काठमाडौं । कर्जाको ब्याजदर अहिलेसम्मकै न्यून बिन्दुमा झरेको छ । कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकले कर्जाको भारित औसत ब्याजदर गणना गर्न लागेयताकै न्यून बिन्दुमा झरेको हो ।

नेपाल राष्ट्र बैैंकले २०६९ को असोजबाट पारित औसत ब्याजदर गणना गर्न सुरु गरेको थियो । २०६९ असोजमा कर्जाको भारित औसत ब्याजदर १२.९४ प्रतिशत हुँदा निक्षेपको भारित औसत ब्याजदर ४.१४ प्रतिशत थियो । यस्तै २०६९ पुस मसान्तबाट आधारको भारित औसत तथ्यांक राख्न थालेको देखिन्छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको भारित औसत आधार दर ९.३८ प्रतिशत अनुसार कर्जाको भारित औसत ब्याजदर १२.५६ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ५.१३ प्रतिशत थियो ।

२०६९ असोजमा करिब १३ प्रतिशतको बिन्दुमा रहेको कर्जाको भारित औसत ब्याजदर २०७१ फागुनमा आउँदा करिब साढे ९ प्रतिशतसम्म झरेको थियो । २०७१ चैतमा कर्जाको भारित औसत ब्याजदर ९.५६ प्रतिशतमा झर्दा निक्षेपको भारित औसत ब्याजदर ३.७९ प्रतिशत र औसत आधार दर ७.५२ प्रतिशत थियो । १२ वैशाख २०७२ मा भुकम्प गए पनि देशको अर्थतन्त्र थप प्रभावित भयो । उक्त समयमा अधिक तरलताको चाप पर्दै जाँदा भुकम्प पछि ब्याजदर थप घट्दो क्रमममा गयो ।

२०७३ असोजमा कर्जाको भारित औसत ब्याजदर ८.६२ प्रतिशसमम झरेपनि त्यसपछि भने बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा नै चल्यो । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले निक्षेपको ब्याजदर धेरै बढाएको भन्दै ब्याजदरमा भद्र सहमति नै गर्न लगाए । २०७३ असोजमा निक्षेपको भारित औसत ब्याजदर ३.३० प्रतिशत र औसत आधार दर ६.४३ प्रतिशतमा झरेको थियो ।

त्यसबेला पनि औसत स्प्रेड दर ५.३२ प्रतिशत रहेको देखिन्छ । २०७३ कात्तिकबाट बढ्न सुरु भएको कर्जाको ब्याजदर २०७८ असार र साउनमा बढेर १२.४७ प्रतिशतसम्म पुग्यो । २०७५ असारमा औसत आधार दर १०.४७ प्रतिशत र निक्षेपको औसत ब्याजदर ६.४० प्रतिशतसम्म पुगेको थियो ।

त्यसपछि भने बजारले नै आफैं करेन्सन सुरु भएर १२ प्रतिशतभन्दा केही तल कर्जाको भारित औसत ब्याजदर झरेको थियो ।

२०७६ चैतबाट कोरोना महामारी नियन्त्रणको लागि भन्दै सरकारले लकडाउन सुरु गरेपछि बैंकिङ प्रणालीमा पुनः अधिक तरलताको समस्या सुरु भयो ।

राष्ट्र बैंकले नै इजि मनि बनाउँदा बैंकरुले निक्षेप नै नलिने र कर्जा खोसाखोसको अवस्था आयो । जसले गर्दा केही बैंकहरुको स्प्रेड दर २ प्रतिशतमा झरेको थियो । २०७८ असार मसान्तमा आउँदा कर्जाको भारित औसत ब्याजदर ४.४३ प्रतिशतमा झरेको थियो । निक्षेपको औसत ब्याजदर ४.६५ प्रतिशत र औसत आधार दर ६.६६ प्रतिशतसम्म झरेको थियो ।

त्यसपछि पुन बढ्न सुरु भएको ब्याजदर २०७९ माघ र फागुनमा कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो । २०७९ फागुनमा १३ प्रतिशतमाथि रहेको कर्जाको भारित औसत ब्याजदर त्यसको २५ महिनामा अहिलेसम्मकै तल झरेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो २ वर्षयता नै ब्याजदर लगातार घट्दो क्रममा छ । बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै लगेका छन् । जसले गर्दा कोषको लागतसँगै आधार दर नै घटेको छ ।

यसले पनि कर्जाको ब्याजदर घटाउन सहयोग गरेको छ । यस्तै बैंकहरुमा अधिक तरलता हुँदा बढेको प्रतिस्पर्धाले गर्दा स्प्रेड दर समेत बैंकहरुले घटाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने भारित औसत ब्याजदरबीचको अन्तर ४ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था गरेको छ ।

तर, बैंकहरुको प्रतिस्पर्धा बढ्दै जाँदा पछिल्लो समय बैंकहरुले स्प्रेड दर पनि घटाउँदै लगेका छन् । निक्षेपको तुलनमा कर्जा बढ्न नसकेर तरल सम्पत्ति कायम गर्नुपर्ने अवस्था भएपछि बैंकहरुले ब्याजदर घटाएर भएपनि कर्जा लगानी गर्ने प्रतिस्पर्धा सुरु गरेका छन् ।

बैंकहरुले आधार दर वा आधार दरमा १ प्रतिशत ब्याजदर नै कर्जा अफर गर्दा पनि लगानी गर्न सकेको छैनन् । बैंकहरुले तरल सम्पत्ति कायम गर्ने वा ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा तरलता राख्नु भन्दा ब्याजदर केही घटाएर भएपनि अन्य बैंकको ग्राहक तान्ने प्रतिस्पर्धामा लागेका छन् । जसले बैंकहरुको स्प्रेड दर समेत घट्न पुगेको छ । आधार दर नै घटेको र बैंकहरुले स्प्रेड दर पनि घटाउँदै लैजाँदा कर्जाको भारित औसत ब्याजदर निरन्तर घट्दै गएको हो ।

२०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत हुँदा स्प्रेड दर ४.०२ प्रतिशत थियो । २०८१ चैत मसान्तमा आउँदा निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत छ । यस आधारमा स्प्रेड दर ३.७७ प्रतिशतमा झरेको देखिन्छ ।

ब्याजदर घ टेपनि बढेन कर्जा

ब्याजदर घटेपनि कर्जा भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षमा निजी क्षेत्रका प्रवाह हुने कर्जा १२.५ प्रतिशतले विस्तार हुने प्रक्ष्येपण गरिएपनि चैतसम्मको तथ्यांकले आवश्यकताअनुसार कर्जा विस्तार हुने अवस्था देखिदैन । बैंकहरुले बढेको कर्जा पनि त्रैमासको अन्तिममा बैंकहरुले कर्पोरेट क्षेत्रका ऋणीलाई ब्याज दिनेलाई नै दिएको ऋण रहेको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।

चैतसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अवधिमा यस्तो कर्जा रु.२२२ अर्ब २१ करोड (४.६ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।

२०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.४ प्रतिशतले, विकास बैंकहरुको ४.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ ।

२०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ । २०८० चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः ११.४ प्रतिशत र ६७.६ प्रतिशत रहेको थियो ।

चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.९ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ६०.६ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.१ प्रतिशतले घटेको छ ।

Skip This