
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताएका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष गरिएको भन्दै प्रतिगमनमा लैजाने हुंकार नगर्न चेतावनी दिए । उनले अब आउने कुनैपनि जेठ १५ मा राजसंस्था पुनः स्थापना हुने सपना नदेख्न आग्रह गरे ।
देश संविधान र कानूनअनुसार चल्ने र संविधान र कानूनअनुसार चल्न तयार हुनुपर्ने उनको भनाइ छ ।
‘आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष गर्नुहुन्छ र देशलाई प्रतिगमनमा लैजाने हुंकार गर्नुहुन्छ । अचम्म लाग्छ मलाई । जेठ १५ गते ? यस पटकको जेठ १५ गते होइन । अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस्, तपाईंहरुको सपना साकार हुनेछैन । सपना काम लाग्दैन, यसमा जोड नगर्न आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘समयलाई चिनौँ, समयानुसार अघि बढौँ । शान्तिपूर्ण आन्दोलनभित्रको कुरा सिके राम्रो हुन्थ्यो । देश संविधान र कानूनअनुसार चल्छ । संविधान र कानूनअनुसार चल्न तयार हुनुपर्छ ।’










प्रतिक्रिया