
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ स्थित मार्से पुगेका छन् । बिहीबार अपराह्न पूर्वराजा आफ्नै स्वामित्वमा रहेको ४२ रोपनी जग्गाको निरीक्षण गर्न त्यहाँ पुगेको जनाइएको छ । स्थानीय एक एमाले नेताको जग्गा केही समयअघि पूर्वराजा शाहले बुहारी हिमानीका नाममा किनेका थिए ।
पूर्वराजासँगै पत्नी कोमल, पूर्वयुवराज्ञी हिमानी, नातिनीसहित पूर्वराजपरिवारका सदस्यहरू पनि सहभागी थिए ।
बुहारी हिमानी शाहले ‘कृषिमा केही गर्न सकिन्छ’ कि भनेसँगै उक्त जग्गा निरीक्षण गर्न शाह परिवार काभ्रे पुगेको स्रोतको भनाइ छ।
‘पूर्वराजपरिवारले उक्त जग्गामा कृषिमा आधारित केही गर्न सकिन्छ भन्दै निरीक्षणमा आउनु भएको हो,’ स्रोतले भन्यो, ‘कृषिमार्फत ३/४ सयलाई रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने हिमानीको सोच रहेको बुझिएको छ ।’
हिमानी ट्रस्टले अहिले त्यहाँ काम गरिरहेको छ । पूर्वराज परिवारका सदस्यहरु केही दिन काभ्रेमै रहने जनाइएको छ।
केही समययता पूर्वराजाको परिवार नगरकोटमा बसिरहेको थियो । भक्तपुरको नगरकोटस्थित सोल्टी वेस्टेन्ड रिर्सोटमा बसेका उनले ५६ औं वैवाहिक वर्षगाँठ समारोह (एनिभर्सरी) त्यही मनाएका छन् ।
ज्ञानेन्द्र र कोमलबीच २०२७ साल वैशाख १९ गते विवाह भएको थियो । ४२ वटा कोठा भएको उक्त रिसोर्टका ३० कोठा शाह परिवारले बुक गरेका थिए ।
पूर्वराजाले उक्त रिसोर्टमा राजतन्त्र पक्षधर दलका नेताहरुसँग समेत भेटवार्ता गरेका थिए । शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह र सहमहामन्त्री रविन्द्र शाहसँग भेटवार्ता गरेका थिए । उनको भेटवार्ता राजावादीहरु एकै ठाउँ भेला भएर जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्नुअघि भएको हो ।

यसअघि चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शनअघि पनि ज्ञानेन्द्रले व्यवसायी दुर्गा प्रसाईं र नवराज सुवेदीसँग छलफल गरेका थिए । तर तीनकुनेको प्रदर्शन हिंसात्मक बनेपछि पूर्वराजा शाह रक्षात्मक अवस्थामा पुगेका छन् ।


प्रतिक्रिया