
बुद्धलाई स्मरण गरी रहँदा अठारौं शताब्दी तिर नीत्शेले लेखेका यो लाइनबाट सुरू गर्नु मनासिव होला भन्ने लागेर लेख्दै छु । बौद्ध साहित्य दर्शनको उदाहरण दिँदै उनी भन्छन्, सबै नैतिक मूल्य, मान्यता र प्रणालीहरू शून्यवादमा आएर समाप्त हुन्छन् । तर उनले यो भनिरहँदा यो स्मरण राख्नुपर्छ कि बौद्ध दर्शन तथागतले परिनिर्वाण गरिसकेपछि विकास भएको दर्शन हो । नीत्शेले उल्लेख गरेका नागर्जुनको शून्यवाद ।
बौद्ध दर्शन मात्र एउटा यस्तो दर्शन हो जसमा धेरै कालखण्डमा धेरै कुराहरू जोडिए घटाइए, जसको एउटै जग रह्यो – तर्क, बुद्धि, र विवेकको आधारमा मात्र कुनै कुराको विश्वास गर्ने भन्ने बुद्ध वचनबाट । जसका सबै प्रमाणहरू आज देख्न सक्छौं । नीत्शेले बुद्ध वाणीलाई जग बनाएर भन्न यति खोजेका हुन् कि धार्मिक पृष्ठभूमि विना नैतिकतावाद जीवनमा अगाडि बढाउन सकिन्छ तर यसले शून्यवाद तिर लिएर जान्छ, यसले नैतिक हुन सहज बनाउँछ । बुद्धको आर्य सत्य जसको आधारमा संसारले बुद्धलाई प्रिय मान्छन्, यसैबाट यो लेख सुरु गरौं:
“दुःख, दुःखसमुदय (दुःखको कारण), दुःखनिरोध, दुःखनिरोधगामिनी प्रतिपदा ।”
तर्क, बुद्धि, विवेकको आधारमा कुनै पनि विषय जान्न, मनन गर्न र व्यवहार गर्न सिकाएर बुद्धले यस धर्तीलाई गणितीय सटीकताको आधारमा विचार गर्न सक्ने तार्किकताको उपहार दिनुभएको छ । हुन त उहाँको सिकाइको धज्जी उडाइएका उदाहरणहरू हाम्रो समाजमा जताततै देख्न सकिन्छ । उहाँलाई निन्दनीय भनेर लेखिएका तथाकथित धार्मिक ग्रन्थहरू हुन् वा बुद्धलाई भगवान मानेर धार्मिक पन्थ खडा गरी चीवर धारण गर्नेहरू हुन्, सबैले उहाँको तार्किकतालाई तिलाञ्जली दिएका छन् भन्दा अन्यथा हुँदैन । यस विषयलाई थप सरल तरिकाले बुझ्न अङ्गुत्तर निकाय पढ्न सकिन्छ, जसलाई बुद्ध वाणीको रूपमा लिइएको छ ।
यसमा भनिएको छ कि ठूला वृद्धहरूबाट सुनेको आधारमा कुनै पनि कुरामा विश्वास नगर्नुहोस् । पुस्तादेखि हस्तान्तरण गरिएको भन्ने आधारमा परम्पराहरूमा आँखा चिम्लिएर विश्वास नगर्नुहोस् । धेरैले बोलेका छन् वा धेरैले मानेका छन् भन्ने आधारमा कुनै पनि कुरामा विश्वास नगर्नुहोस् । कुनै पनि धार्मिक ग्रन्थ वा पुस्तकमा लेखिएको आधारमा सिधै विश्वास नगर्नुहोस् । आफ्ना गुरुहरू र मान्यजनहरूले भनेको आधारमा मात्र कुनै कुरामा विश्वास नगर्नुहोस् । कुनै पनि कुरामा विश्वास गर्नु पूर्व त्यस विषयमा विश्लेषण, अवलोकन गर्नुहोस् । जब उक्त कुरा तर्कसंगत लाग्छ र धेरैको हित र लाभको लागि अनुकूल हुन्छ, तब मात्र स्वीकार गर्नुहोस् र त्यसैलाई आधार बनाएर जीवन जिउनुहोस् ।
छब्बीस सय वर्ष अगाडि जन्मिएर, उक्त बेलाको समाजमा यस्ता तर्कशील कुराहरू सिकाउने तथागत बुद्धलाई भगत वा भगवान भनेर सम्बोधन गरिनु आजको भाषामा धार्मिक हुनु सरह नठहरियोस् भन्न चाहन्छु । ब्राह्मणवाद, ब्राह्मणधर्म अर्थात विभिन्न धर्मका ब्राह्मण, पादरी, मौलानाद्वारा लिखित वा मौखिक किताब (ग्रन्थ) र फतवाहरू बीच पिल्सिएको समाजमा बुद्धका सबै विचार र उपदेशहरू विष सरह हुनु स्वाभाविक मान्नु पर्छ । नालन्दा र तक्षशिलाका भग्नावशेष हुन् वा बामियानका मूर्ति, यसको तीतो यथार्थ हुन् । यस्ता सयौं उदाहरणहरू हामी देख्न सक्छौं ।
बुद्धलाई अवतार बनाइनु अर्को क्रूर सौन्दर्य हो । जसको जग नै घृणा, विराग, अप्रीति, द्वेषयुक्त छ, उसले बुद्धको तार्किकतालाई आफ्नो समाजमा स्थान दिन कदापि सक्दैन । यो सत्य हो र कैयौं शताब्दीदेखि प्रचलनमा आइरहेको छ । तर जतिसुकै कुलुषित मानसिकताका धार्मिक भए पनि उसले बुद्धको चार आर्य सत्यलाई नकार्न भने कदापि सक्दैन । दुःख छ, दुःखको कारण छ, दुःख निवारण गर्न सकिन्छ, र दुःख निवारण गर्ने मार्ग छ । यस संसारमा दुःख छ, संसार दुःखमय छ । विरामी, निराशा, चिन्ता, असन्तोष आदि मानवका दुःखहरू हुन् । दुःख अकारण उत्पन्न हुँदैनन्, यसको कारण हुन्छ ।
बुद्धले हामीलाई आफ्नै चित्तको अवलोकन गर्न सिकाउनु भएको छ । घृणा, रिस, लोभ जस्ता अनेकौं वेविचारका कारण मानव दुःखी हुन्छ । तथागत भन्नुहुन्छ, हामीले यो सबै दुःखहरू भोगेर बसिरहनु पर्दैन । यो दुःखको कारण पत्ता लगाएर तिनलाई जरैदेखि उखेल्न सकियो भने त्यो सहज छ । यथार्थको बारेमा मानवलाई जुन भ्रम छ, त्यसलाई हटाउन सकियो भने हामीले दुःख भोग्नु पर्दैन । त्यस्तै भगत भन्नुहुन्छ, दुःख नाशको सरल उपाय भनेको प्रेम नै हो । बुद्धले चार आर्य सत्यसँगै आठ आर्य अष्टाङ्ग मार्गको अनुशरण गर्न पनि भन्नु भएको छ । सम्यक दृष्टि अर्थात जस्तो छ त्यस्तै देख्न सक्नु, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक प्रयास, सम्यक जीवन, सम्यक स्मृति र सम्यक समाधि अथवा निर्वाण प्राप्त गर्नु । तर तथाकथित वादको आडमा आफूलाई देवताका प्रिय वा देवताका माध्यमबाट अप्राकृतिक रूपमा जन्मिएकोको वंशज मान्नेहरूलाई यी विषय पाच्य भएनन्, तसर्थ उनीहरूले आफ्ना ग्रन्थहरूमा बुद्धलाई धेरै गाली गरे । दशौं एघारौं शताब्दीसम्म आउँदा उनीसँग सम्बन्धित सबै ज्ञान, शिप, शिल्प र अन्य वस्तुहरूलाई विलुप्त पारिदिए । तथापि आजपर्यन्त त्यस्तो सोच भएका तिनैहरूको उत्तराधिकारीहरू बुद्धका नाममा आफूलाई विदेशमा भजाइ रहेका छन् ।
सत मार्गतर्फको पहिलो कदम भनेको नै तार्किक कदम हो । अर्थात तार्किकतै सत्य हो । त्यसै कारण बुद्धधर्ममा शब्द, किताब वा कुनै ग्रन्थलाई प्रमाणको रूपमा लिइँदैन । जबसम्म कुनै विषय तर्क, बुद्धि, विवेक अनुरूप खरो उत्रिँदैन, तबसम्म त्यसलाई विश्वास गर्न सकिँदैन । चाहे त्यो कुनै कथा, जातक कथामा लेखिएको होस् वा अरू कुनै सम्बन्धित किताबमा । भगत बुद्धका विचारहरूलाई सरल तरिकाले बुझ्न खोज्दा के थाहा पाइन्छ भने, उहाँले अतीत र भविष्यलाई महत्व दिएको पाइँदैन । उहाँले वर्तमान क्षणलाई केन्द्रमा राख्न सुझाउनु भएको छ । सत्यवाणीलाई अमृतवाणीको रूपमा लिएर बुद्धले सत्य मात्र बोल्न प्रेरित गर्नु भएको छ । त्यस्तै खराबलाई खराबले वा घृणाले समाप्त गर्न सकिन्न, त्यसलाई प्रेमले मात्र जित्न सकिन्छ । बलेको दियोबाट धेरै दियामा प्रकाश दिन सकिन्छ, त्यसैगरी एउटा खुसी बाँड्दा धेरै खुसी बढ्दै जान्छ । योसँगै बुद्ध भन्नुहुन्छ, जीवनमा तीन चीजलाई कहिल्यै लुकाउन सकिँदैन – ती हुन् सूर्य, चन्द्र र सत्य ।
यस्ता तार्किक कुराहरू समाजमा राख्ने बुद्धलाई हिजोआज तिलस्मी बनाएर पूजिएको देख्दा उनले सिकाएको तार्किकताको उपहास भएको आभास हुन्छ । त्यसकारण उनलाई अवतार बनाउनु एक क्रूर सौन्दर्य हो । बुद्धको नाममा रुढिवाद, अन्धविश्वास, अतार्किकता, असंगतलाई प्राथमिकता दिएर समाजमा चलाउनु धेरै ठूलो अपराध हो । तसर्थ, तार्किक हौं – अतार्किक होइन ।








प्रतिक्रिया