
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए । उनी २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने त्यसअघि राष्ट्रियसभा सदस्य रहेका थिए ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक रहेका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए ।
नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो ।
१३ महिना अघि गम्भीर बिरामी परेर उनी अस्पताल भर्ना भएका थिए । त्यसयता उनको स्वास्थ्यस्थिति सुधार भएको थिएन ।
प्रतिक्रिया