
काठमाडौं । धनुषामा रहेको जनकपुर एग्रो फार्मले सञ्चालनमा आएको एक वर्षमै ६० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२३ को अगस्टदेखि आंशिक रुपमा सञ्चालनमा आएको जनकपुर फार्मले एक वर्षमै आधा अर्ब बढीको व्यापार गरेको हो ।
सन् २०२० देखि निर्माण सुरु भएको फार्मको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुन लागेको छ । पाँचवटा कुखुरा उत्पादन सेडमध्ये तीनवटा लेयर सेड सन् २०२३ बाट सञ्चालनमा ल्याएर कम्पनीले व्यापार गरिरहेको छ ।
कम्पनीले करिब २ अर्ब लगानीमा कुखुरा फार्मसँगै जैविक मल उद्योग र सीएनजी बायो ग्यास प्लान्ट निर्माण गर्ने गरी फार्म तयार गरेको छ । कम्पनीले १ अर्ब ८४ करोड ३० लाख रुपैयाँ लगानीमा कुखुरा फार्मसँगै जैविक मल र सीएनजी बायो ग्यास प्लान्ट निर्माण गरेको हो ।
कम्पनीले उक्त प्लान्ट निर्माण गर्न १ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीअनुसार प्लान्ट निर्माणका लागि आवश्यक सामग्रीको मूल्य बढ्दा लागत पनि बढेको जनाएको छ ।
हालसम्ममा कम्पनीको ८७ प्रतिशत आर्थिक प्रगति गरिसकेको छ । मेडिकल व्यवसायीको लगानी रहेको ग्रिनफिल्ड पोल्ट्री फार्मले एकै पटक तीनवटा फार्म सञ्चालन ल्याई व्यापार गरिरहेको छ ।
एग्रो फार्मले सन् २०२५ सम्ममा सबै निर्माण पूरा गरेर पाँचवटै सेड सञ्चालनमा ल्याउने तयारी गरेको छ । फार्मले १ अर्ब १३ करोड ६० लाख रुपैयाँ बैंक ऋण र बाँकी ७० करोड ७० लाखरुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने जनाएको छ ।
फार्मले लेयर्स कुखुरा र अन्डा उत्पादन गर्छ । फार्मबाट ५० हजार लेयर्स सेड र १ लाख कुखुरा उत्पादन गर्ने अर्को गरी दुई सेडको निर्माण गरेको छ ।
फार्मसँगै कम्पनीले प्रतिवर्ष ८ हजार ७ सय २० मेट्रिक टन अर्गानिक मल उत्पादन गर्ने क्षमतामा निर्माण गरिरहेको छ । साथै, ८ सय केभी क्षमताको विद्युत पनि उत्पादन गर्ने भएको छ ।
जनकपुर एग्रो सन् २०१८ सेप्टेम्बरमा स्थापना भएको हो । तर, फार्मले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न सन् २०२२ जुन २६ मा जनकपुर एग्रो पब्लिक लिमिटेडमा रूपान्तरण गरिएको थियो ।
जनकपुर एग्रोका प्रमुख लगानीकर्तामा मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल छन् । प्रबन्ध निर्देशक शोभाकान्त ढकाल छन् । अर्याल गण्डकी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष, युनिभर्सल कलेज अफ मेडिकल साइन्सका प्रबन्ध निर्देशक र नेपालगन्ज मेडिकल कलेजका निर्देशक पनि हुन् ।
त्यस्तै, अर्याल खिलुङ कालिका एग्रो फार्म प्रालिका सञ्चालक पनि हुन् । खिलुङमा शोभाकान्त ढकाल साझेदार छन् । अर्याल र ढकालको बैंकिङ, एग्रो, पर्यटन, होटल र नवीकरणीय ऊर्जामा लगानी छ । एग्रो कम्पनीले कुखुरा र अन्डा व्यापार गर्दै आएको छ ।
प्रतिक्रिया