नेपाल माइक्रो इन्स्योरेन्सको नाफा घट्यो

70
Shares

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको हो ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको चैत मसान्तसम्म कुल ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी भने बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले ११ करोड ५९ लाख कुल आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ५ करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीमा आएको वृद्धिसँगै खर्च पनि बढेको छ । गत आवको चैतसम्म ४ करोड ६८ लाख कुल खर्च गरेको कम्पनीले आलु आवको चैतसम्म कुल ११ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ ।

यस अवधिमा कम्पनीले आफ्नो लगानी भने बढाएको छ । गत आवको चैत मसान्तसम्म कुल ४८ करोड ३५ लाख रुपैयाँ लगानी गरेको कम्पनीले चालु आवको चैत मसान्तसम्म आईपुग्दा त्यसबाट बढाएर ६३ करोड ७५ लाख रुपैयाँ पुराएको छ ।

वित्तीय विवरणअनुसार गत आवको चैतसम्म ५२ करोड ५० लाख रुपैयाँ रहेका कम्पनीको चुक्ता पुँजी हाल बढेर ७५ करोड रुपैयाँ पुगेको छ । यस वर्षको चैतसम्मको कम्पनीको बिमा सम्झौता दायित्व १८ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म भने कम्पनीको यस्तो दायित्व ८ करोड रुपैयाँ थियो ।

गत आवको तेस्रो त्रैमाससम्म ६५ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको कुल दायित्व चालु आवको सोही अवधिसम्म आईपुग्दा १ अर्ब रुपैयाँ पुगेको छ । चैत मसान्तसम्मको कम्पनीको कुल बिमाशुल्क आर्जन १२ करोड ७७ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीले २ करोड ४८ लाख रुपैयाँ बराबरको बिमाशुल्क आर्जन गरेको थियो ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ०.०९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ छ ।