बालेनले माछापोखरीमा तरकारी बजार हटाएपछि रिसाए कृषक, फोहरका गाडी तीनपिप्लेमा रोकिए

966
Shares

काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा काठमाडौं महानगरपालिकाले तरकारी बजार हटाएपछि बन्चरेडाँडामा फोहर लैजाने गाडीलाई तीनपिप्लेका स्थानीयले अवरोध गरेका छन् ।

महानगर प्रहरीले आज बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजनिक यातायातमा अवरोध गरेपछि तीनपिप्लेका किसानले बिरोध गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले बालाजु माछापोखरी क्षेत्रको बाइपास सडक किनारमा तरकारी व्यापार गर्दै आएका साना किसान र व्यवसायीलाई आज बिहान हटाएको थियो ।

बिहान ४ बजेदेखि ७ बजेसम्म डोको, खर्पन र झोलामा तरकारी बोकेर जीविका चलाउने व्यापारीहरूलाई हटाउन नगर प्रहरीले सडक खाली गराएको हो । यस क्रममा सार्वजनिक सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।

सडक किनारमा बसेर व्यापार गर्दा सवारी आवागमनमा समस्या हुने भन्दै नगरले कडाइ गरेको हो । व्यापारीलाई हटाउने प्रयास गर्दा माछापोखरी क्षेत्र हुँदै सञ्चालन हुने सार्वजनिक सवारी सेवा प्रभावित भएको थियो।

१६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठका अनुसार, वडामा भीडभाडका कारण ट्राफिक जाम हुँदै आएको र त्यसलाई व्यवस्थापन गर्न तरकारी व्यापारलाई अर्को स्थानमा सार्न पहल गरिएको बताइन् । तर, व्यापारीहरूले स्थान परिवर्तन गर्न नमाने बल प्रयोग गरेर हटाउनुपरेको उनको भनाइ छ ।

हालै सम्पन्न उपनिर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठमाथि साना किसान र श्रमिकप्रति निर्मम व्यवहार गरेको आरोप पनि लागिरहेको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

Skip This