
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९१२ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा भने कम्पनीले कुल ७ लाख १ हजार खुद नाफा कमाएको थियो । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा मात्रै १ करोड ५८ लाख ४६ हजार खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले ३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आवको चैत मसान्तसम्म २ करोड ७४ लाख खुद नाफा कमाएको कम्पनीले कुल आम्दानी भने २५ करोड ५१ लाख ८७ हजार रुपैयाँको गरेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले ५ करोड ४२ लाख १९ हजार रुपैयाँ बराबरको कुल आम्दानी गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क १ करोड ७८ लाख ६७ हजार रुपैयाँबाट वृद्धि भई १९ करोड ४८ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
वित्तीय विवरणअनुसार कम्पनीले चैत मसान्तसम्ममा कुल ८७ करोड ४८ लाख ८४ रुपैयाँ बराबरको लगानी गरेको छ । गत वर्षको यस अवधिसम्म ५२ करोड ७ लाख रुपैयाँको लगानी गरेको थियो ।
गत वर्षको चैत मसान्तसम्म ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेकोमा यसबाट बढेर चालु आवको चैतसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सर्वसाधारणलाई साधारण सेयर जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी ७५ करोड पुगेको हो । यस्तै कम्पनीको सञ्चित नाफा १ करोड ९० लाख ७ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको कुल खर्चमा पनि उल्लेख्य वृद्धि भएको छ । चालु आवको चैतसम्म कम्पनीले कुल २२ करोड ७७ लाख ५७ हजार रुपैयाँ कुल खर्च गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ५ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको मात्रै खर्च गरेको थियो ।
गत आवको चैतसम्म ३ करोड ५७ लाख ९३ हजार कुल दायित्व रहेकोमा चालु आवको चैत मसान्तसम्म आउँदा कम्पनीको कुल दायित्व बढेर १६ करोड ८३ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा मूल्य आम्दानी अनुपात ५०७.९१ गुणा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा छ ।







प्रतिक्रिया