स्पेन र पोर्चुगलको धेरै स्थानमा बिजुली काटियो, विमान रेल प्रभावित

1.7k
Shares

एजेन्सी । युरोपका दुई देश स्पेन र पोर्चुगलको ठूलो भूभागमा बिजुली काटिएको छ । जसले गर्दा सर्वसाधारणको जीवनमा ठूलो असर परेको छ ।

बिजुली गएकाले एयरलाइन्स, मेट्रो र रेल सेवा प्रभावित भएका छन् । पोर्चुगलको एयरलाइन्स टीएपी एयरले यात्रुहरूलाई अर्को सूचना नआएसम्म विमानस्थल नजान आग्रह गरेको छ।

स्पेनको बिजुली कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली गइरहेको जनाएको छ । अहिले उनीहरू बिजुली पुनः सञ्चालन गर्न र बत्ती जानुको कारण पत्ता लगाउन प्रयासरत छन् ।

स्पेन र पोर्चुगलमा आएको यो बिजुली संकटबारे युरोपेली परिषद्को अध्यक्षले यस घटनामा साइबर आक्रमण भएको कुनै संकेत नदेखिएको बताएका छन् ।

यसैबीच पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले पनि बिजुली जानुको पछाडि कुनै साइबर हमला भएको प्रमाण नभएको बताएका छन् ।

बिजुली कम्पनी रेड इलेक्ट्रिकाले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेको छ, “समस्या चाँडै समाधान गर्न सबै स्रोत साधन प्रयोग भइरहेको छ।”

फ्रान्सको कम्पनी आरटीईले पनि उनीहरू स्पेनमा बिजुली आपूर्ति सुधार्न सहयोग गरिरहेको जनाएको छ । तर यस घटनाले हाल फ्रान्समा कुनै असर परेको छैन।

त्यस्तै, युक्रेनका ऊर्जा मन्त्रीले पनि बिजुली मर्मतमा सहायता दिन तयार रहेको बताएका छन् । स्पेनमा हुने ‘म्याड्रिड ओपन’ टेनिस प्रतियोगिता पनि बिजुली समस्या भएका कारण स्थगित गरिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, पोर्चुगलमा पनि बिजुली गएकाले अवस्था बिग्रिएको छ । त्यहाँ ट्राफिक बत्तीहरू बन्द भएका छन्, लिस्बन र पोर्टो शहरका मेट्रो सेवा रोकिएका छन् र रेल सेवा पनि ठप्प भएको छ ।

एक हप्ता लाग्न सक्ने

लिस्बनबाट बीबीसीकी संवाददाता होली भ्यालीसका अनुसार बिजुली गएकाले मानिसहरूले कपाल काट्दै गर्दा सैलुनबाट निस्किनु परेको थियो। धेरै ग्राहकहरूलाई कपाल काट्न र दाह्री बनाउन इलेक्ट्रिक रेजर चाहिएको थियो, जुन बिजुली बिना सम्भव भएन ।

विमान कम्पनी इजीजेटले भनेको छ, ‘पोर्चुगल र स्पेनमा बिजुली संकटका कारण केही विमानस्थलसम्म पुग्न गाह्रो भएको छ र लिस्बन, म्याड्रिड र बार्सिलोनाको विमानस्थलमा असर परेको छ ।’

कम्पनीले भनेको छ, ‘अरू एयरलाइन्स जस्तै हामीलाई पनि उडानमा समस्या भइरहेको छ, जसको अर्थ लिस्बन र म्याड्रिड फर्कने उडानहरू उड्न सकिरहेका छैनन् ।’

पोर्चुगलको बिजुली कम्पनी रेड इलेक्ट्रिका नासिओनालले बिजुली पूर्ण रूपमा फर्कन एक हप्ता सम्म लाग्न सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ। यसअघि स्पेनको बिजुली विभागले बिजुली आपूर्ति फर्काउन ६ देखि १० घण्टा लाग्न सक्ने बताएका थिए ।

आरईएनले जनाए अनुसार स्पेनमा तापक्रमको अचानक ठूलो परिवर्तनका कारण यो बिजुली संकट आएको हो । यद्यपि, स्पेन सरकारले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

स्पेनका केही ठाउँमा बिजुली आए पनि रेल सेवा अझै बन्द

स्पेनको बिजुली कम्पनीले देशको उत्तर, दक्षिण र पश्चिमका केही सबस्टेसनमा पुनः भोल्टेज आएको जनाएको छ । उनीहरूले बिजुली सुधार्ने काममा पूरै प्रयास भइरहेको जनाएका छन्।

तर, स्पेनको रेल सेवा कम्पनी रेनफेले बिजुली संकटका कारण उसका सबै सेवा बन्द भएको जनाएको छ । साथै, म्याड्रिड मेट्रोले पनि सबै लाइनहरू हाल बन्द रहेको जानकारी दिएको छ।

बिजुली संकटपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राष्ट्रिय सुरक्षा सम्बन्धी ‘विशेष’ बैठक बोलाएका छन्।

बिजुली जानुका कारण केही यात्रुलाई रेलबाट झारेर ट्रेनहरू खाली गराइएको छ।

यो संकटले इन्टरनेट सेवा र मोबाइल सेवा पनि प्रभावित पारेको छ।

स्पेनको म्याड्रिड शहरका मेयरले नागरिकहरूलाई कम्तिमा यात्रा गर्न आग्रह गर्दै भनेका छन् कि जहाँ हुनुहुन्छ, त्यहीँ रहनुहोस्।