
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरी बजारमा बिक्री बितरण गरेको अभियोगमा भारतको प्रसिद्ध हल्दिराम ब्राण्डको उत्पादनको बिक्री बितरणमा रोक लगाएको छ ।
विभागको वरिष्ठ अनुगमन अधिकृत अमित झाका अनुसार हल्दिराम ब्राण्डमा उत्पादन भइरहेका उपभोग्य वस्तुको नेपालको आधिकारिक बिक्रेता चन्द्रागिरीस्थित विश्वनाथ ट्रेड हाउस प्राइभेट लिमिटेडलाई उक्त ब्राण्डको कुनै पनि उत्पादन बिक्री बितरण गर्न रोक लगाएको हो ।
विभागको टोली अनुगमनको क्रममा विश्वनाथ ट्रेड हाउसले हल्दिराम ब्राण्ड र भारतकै रसना ब्राण्डको सफ्ट ड्रिंक्सको उत्पादनमा एमआरपी उल्लेख नगरी बजारिकरण गर्दैआएको फेला पारेको थियो । एमआरपी उल्लेख नगरी बिक्री बितरण गरेको अभियोगमा विभागले ३ लाख रुपैयाँ जरिवाना गराउनुका साथै ति दुवै ब्राण्डको उत्पादन बिक्री बितरण नगर्न रोक लगाएको छ ।
यस्तै वाणिज्य विभागको अनुगमन टोलीले भारतीय कम्पनीबाट उत्पादित एप्पल ब्राण्डको चामलको बिक्री बितरणमा पनि रोक लगाएको छ ।
विभागले भारतबाट अवैद्य रुपमा एप्पल ब्राण्डको चामल आयात भएको अभियोग लगाउँदै उक्त चामलको बिक्री बितरणमा रोक लगाएको हो ।
विभागका वरिष्ट अनुगमन निर्देशक झाका अनुसार अवैद्य रुपमा उक्त ब्राण्डको १५० बोरा चामल आयात भएकाले ति चामलको बोरामा सिलवन्दी गर्दै बिक्री बितरणमा रोक लगाएको हो ।
३० किलो तौल भएको १५० बोरा एप्पल ब्राण्डको चामल घैला ब्राण्डको चामलसँगै काठमाडौं ल्याउँदै गर्दा शिलवन्दी गरी बिक्री बितरणमा रोक लगाइएको हो ।
झाका अनुसार व्यवसायी नरेश राठीले उत्पादनकर्ताको नाम, ठेगानालगायतको लेवल नखुलाएर ल्याएर बजारमा पठाउने गरेको अनुगमनको क्रममा फेला परेको थियो ।
प्रतिक्रिया