
वीरगञ्ज । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा अनुसन्धान सम्पन्न गरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत शुक्रबार अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालय पर्सालाई फाइल बुझाइएको हो । प्रहरीले सानो पाइला सहकारीमा ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरेको हो । साथै, सम्पत्ति शुद्धीकरणको कसुरमा छुट्टै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ३० जना व्यक्ति र ११ वटा संस्था गरी ४१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । प्रहरी प्रतिवेदनअनुसार सहकारी ठगीमा कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो दाबी प्रस्तुत गरिएको छ ।
यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी समेत प्रतिवादी रहेका छन् ।
प्रहरीले लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीविरुद्ध ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो माग दाबी सिफारिस गरेको छ।
यसैगरी, सहकारी ठगी प्रकरणका मुख्य नाइके भनिएका फरार अभियुक्त जीबी राईविरुद्ध १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। त्यस्तै, थुनामा रहेका भैरहवाका मेयर देवकुमार नेपालीसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
लामिछाने, जोशी हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । लामिछानेविरुद्ध यसअघि पनि पोखराको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारीमा मुद्दा दर्ता भइसकेको छ । ती मुद्दाहरूमा विभिन्न जिल्ला अदालतहरूले धरौटीमा रिहा गरे पनि पछिल्लो समय उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो।
सानो पाइला सहकारीले ऐन विपरीत सदस्य नबनेका वीरगञ्ज बाहिरका व्यक्तिहरूलाई ऋण प्रवाह गरेर अपचलन गरेको प्रहरीले जनाएको छ ।
कुल जम्मा भएको करिब १ अर्ब ३५ करोड रुपैयाँ मध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर लगानी गरिएको छ।
प्रहरीका अनुसार उक्त सहकारीले करिब ८ सय बचतकर्ताबाट रकम संकलन गरेको थियो । रकम संकलनपछि विभिन्न व्यक्तिहरू र संस्थालाई गैरकानुनी रूपमा लगानी गरेर अपचलन गरिएको हो ।







प्रतिक्रिया