
काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारीमा देखिएको समस्याले खुम्चिएको जीवन बिमा व्यवसायले अझै लय समाउन सकेको छैन । पछिल्लो केही समय यता बैंक तथा वित्तीय संस्था र सहकारीमा समस्या देखिएपछि जीवन व्यवसाय नै संकुचित बन्न पुगेको थियो ।
नागरिक सहकारी समस्याको चेपुवामा पर्दा बिमालेख जारी संख्या घट्दै गयो भने सक्रिय बिमालेखमा पनि गिरावट आयो ।
खासगरी लघुवित्त तथा सहकारीमा गरेको लगानी फिर्ता पाउन कठिन भएपछि नागरिकमा अन्य संस्थामाथिको विश्वास पनि डगमगायो । एकातर्फ, बिमा कम्पनीमा गरेको लगानीसमेत डुब्ने हो कि भन्ने आशंका मानिसमा पैदा भयो भने अर्कोतर्फ सहकारीमा राखेको रकम डुबेपछि बिमामा लगानी गर्न नसक्ने स्थिति बन्यो । यही कारण जीवन बिमासहित अन्य वित्तीय क्षेत्रमा असर पर्यो ।
हाल उक्त स्थितिबाट केही मात्रामा सुधारोन्मुख स्थिति देखिएपनि सही लय भने समाइसकेको छैन । बिमा कम्पनीहरु (लघु बिमासहित)ले पछिल्लो तीन महिनामा जारी गरेको जीवन बिमालेखलाई हेर्ने हो भने व्यवसाय विस्तारमा सुधार हुन नसकेको देखिन्छ । बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणका अनुसार तीन महिना अघि अर्थात् गत पुसमा कुल ६ लाख ७ हजार ७६६ बिमालेख जारी भएको थियो ।
त्यसबाट घटेर माघमा ५ लाख ७ हजार ८९१ बिमालेख जारी भयो । बिमालेख जारी संख्याको घट्दोक्रम यतिमा मात्रै रोकिएन, फागुनमा थप घट्दै ४ लाख ६६ हजार २५० मा सीमित भयो । यसरी पुसको तुलनामा फागुनमा १ लाख ४१ हजारले कम जीवन बिमालेख जारी भएको देखिन्छ । पछिल्लो पाँच वर्षको तथ्यांकलाई केलाउने हो भने पनि जीवन बिमा व्यवसायमा धक्का पुगेको स्पष्ट हुन्छ ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५१ लाख ६२ हजार बिमालेख जारी भएको थियो । यसबाट बढेर २०७७/७८ मा ७१ लाख ७७ हजार र २०७८/७९ मा उल्लेख्य वृद्धि हुँदै १ करोड २७ लाख ६९ हजार बिमालेख जारी भयो । तर, २०७९/८० मा जारी बिमालेखको संख्यामा कमि आउँदै १ करोड २३ लाख ७१ हजार कायम भयो ।

२०८०/८१ मा बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुमा परेको प्रभावका कारण जीवन बिमकहरुबाट जारी हुने जीवन बिमालेखमा झनै ठूलो कमि आयो ।
यस वर्ष ६४ लाख ७९ हजार मात्रै बिमालेख जारी भयो । यद्यपि, यो स्थिति सुधारको चरणमा भने देखिन्छ । जीवन बिमक संघका उपाध्यक्ष समेत रहेका नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुली जीवन बिमामा देखिएको संकुचित अवस्था विस्तारै सुधार हुँदै गएको बताउँछन् ।
‘सहकारी राम्रो हुँदाको अवस्थामा त्यसले हाम्रो वित्तीय क्षेत्रमा धेरै सहयोग गरेको थियो । स्वभावैले, त्यसमा समस्या आउँदा समग्र क्षेत्रमा असर देखिने नै भयो,’ सीईओ पराजुलीले भने, ‘सहकारीमा आएको समस्या कारण जीवन बिमा व्यवसायमा पनि प्रभाव पर्यो । यद्यपि, हाल भने सुधारोन्मुख अवस्थामा छ ।’ उनले व्यवसाय पूर्णतया लयमा नफर्किएपनि विस्तारै सुधार हुँदै गएको बताए ।
पराजुलीका अनुसार सहकारी लगायत वित्तीय संस्थाबाट नागरिकको पैसा फिर्ता हुन नसक्दा बिमा कम्पनीमा गरेको लगानी पनि त्यस्तै हुने होकि भन्ने त्रास नागरिकमा उत्पन्न भएको थियो । ‘वित्तीय क्षेत्रका कतिपय संस्था समस्यामा परेपछि नागरिकले अन्य संस्थामा पनि समस्या आउने हो कि भन्ने ढंगमा सोच्दछ,’ सीईओ पराजुलीले भने, ‘अहिले यो अवस्था सुधार हुँदै गएपनि थप काम गर्नुपर्ने अवस्था भने छ ।’
हुन त सहकारीमा समस्या आएपछि बचत कर्ताले आफ्नो बचत फिर्ता पाउन सकेनन् । उनीहरुले खर्च गर्न पाएनन् भने यसले अर्थतन्त्रमा शिथिलता ल्याउन सहयोग पुरायो । ठुलो कारोबार गरिरहेका वित्तीय सहकारी संस्थाहरूले जथाभावी गरेको लगानीबाट रकम निकाल्न नसकेका कारण बचतकर्ताहरूको माग बमोजिम रकम फिर्ता गर्न सकेनन् जसको असर जीवन बिमामा पनि देखिन पुग्यो ।

हाल भने बिमा प्राधिकरणको तथ्यांकअनुसार सक्रिय जीवन बिमालेखको अवस्था पनि सुधारोन्मुख देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा सक्रिय जीवन सक्रिय बिमालेखको संख्या ८५ लाख ७८ थियो । यसपछि २०७७/७८ मा घटेर जम्मा ७७ लाख ८० हजार बिमालेख जारी भएपनि २०७८/७९ मा उल्लेख्य बढेर १ करोड ३१ लाख लाख पुग्यो ।
आर्थिक वर्ष २०७९/८० मा सक्रिय जीवन बिमालेखको संख्या थप बढेर १ करोड ४१ लाख ३७ हजार पुगेपनि २०८०/८१ मा भने घट्दै सक्रिय जीवन बिमालेख जम्मा १ करोड ३७ लाख ७५ हजारमा सीमित भयो । यो गिरावटलाई प्राधिकरणले नै बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुमा परेको प्रभावका कारण जीवन बिमकहरुबाट जारी हुने म्यादि जीवन बिमालेखको संख्यामा कमि आउँदा सक्रिय जीवन बिमालेख कम भएको’ उल्लेख गरेको छ ।
तथापि पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने सक्रिय जीवन बिमालेखको संख्या बढ्दो मात्रामा देखिन्छ । प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा १ करोड ४० लाख ४१ हजार सक्रिय जीवन बिमालेख रहेकोमा माघमा १ करोड ४१ लाख ५३ हजार पुग्यो । फागुन मसान्तसम्म आइपुग्दा यसबाट पनि बढेर १ करोड ४२ लाख ३८ हजार सक्रिय बिमालेख रहेको छ ।
बिमा प्राधिकरणको तथ्यांक हेर्दा जीवन बिमालेख जारी संख्यामा कमि आएको समयमा पनि दाबी भुक्तानी भने बढ्दो मात्रामा देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा दावी भुक्तानीको संख्या १ लाख ६ हजार २३९ वापत २२ अर्ब ३३ करोड कूल दावी भुक्तानी भएको थियो । यो संख्या वृद्धि भएर २०८०/८१ मा दावी भुक्तानी संख्या २ लाख ८० हजार १ सय ५१ वापत ६६ अर्ब ५८ करोड कूल भुक्तानी भएको थियो ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा अर्थात् फागुन मसान्तसम्ममा १४ जीवन बिमा कम्पनीले १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । जीवन बिमा कम्पनीहरुले यो अवधिमा वैदेशिक रोजगार बाहेक प्रथम बिमाशुल्क २१ अर्ब १२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गर्दा वैदेशिक रोजगार बिमाशुल्क १ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ र नविकरण बिमाशुल्क ८५ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।
प्राधिकरणका अनुसार फागुन मसान्तसम्म राष्ट्रिय जीवन बिमा कम्पनीले ४ अर्ब ४७ करोड ९३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ६२ करोड ८४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २९ अर्ब ३९ करोड ८९ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
यस्तै मेट लाइफले ३ अर्ब ८८ करोड ९ लाख, एशियन लाइफले ५ अर्ब ६९ करोड ८२ लाख, आइएमई लाइफले ३ अर्ब २८ करोड ७८ लाख, सन नेपाल लाइफले २ अर्ब ७० करोड २९ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड ५९ लाख, सिटिजन्स लाइफले ४ अर्ब ४९ करोड रुपैयाँ बिमाशुलक आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार सूर्यज्योति लाइफले ६ अर्ब ६९ करोड ५० लाख, सानिमा लाइफले ४ अर्ब २९ करोड २६ लाख, हिमालयन लाइफले ११ अर्ब २२ करोड २७ लाख र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया