सूर्यज्योति लाइफको कुल आम्दानीसँगै नाफामा सुधार

56
Shares


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको कुल आम्दानीमा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानीमा सुधार देखिएको हो ।

कम्पनीले चैत मसान्तसम्म कुल १० अर्ब ४८ करोड १९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आवको तेस्रो मसान्तसम्ममा भने कम्पनीको यस्तो आम्दानी ८ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ थियो । बैंकले चालू वर्षको तेस्रो त्रैमासमा मात्रै कुल ३ अर्ब ४८ कोड १९ लाख रुपैयाँ कुल आम्दानी आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको कुल आम्दनी बढ्दै गर्दा खर्चमा पनि वृद्धि भएको छ । चालू आवको चैत मसान्तसम्मको तथ्यांकअनुसार कम्पनीको कुल खर्च ९ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ रहेको छ । अघिल्लो त्रैमाससम्ममा भने कम्पनीको यस्तो खर्च ८ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ थियो ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै कुल ३ अर्ब २७ करोड ७९ लाख रुपैयाँको खर्च गरेको छ जबकि, गत आवको सोही अवधिमा भने कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ बराबरको खर्च गरेको थियो ।

यस अवधिमा कम्पनीको पोलिसी दायित्व (ग्रस चार्ज कन्ट्र्याक्ट लाइबलिटीज) बढेर जाँदा कम्पनीको कुल खर्च बढेर गएको हो । चैत मसान्तसम्म आईपुग्दा कम्पनी माथिको यस्तो दायित्व ५ अर्ब ८३ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा भने कम्पनीमाथिको यस्तो दायित्व ४ अर्ब ५५ करोड रुपैयाँ थियो ।

कम्पनीको विमितसँगको सम्झौता अनुसारको कुल दायित्व गत असार मसान्तमा ३३ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चैत मसान्तमा आउँदा ३९ अर्ब ४५ करोड रुपैयाँ पुगेको हो ।

यसका अलावा कम्पनीको सेवा शुल्कमा पनि वृद्धि भएको देखिन्छ । ४ करोड ७८ लाख रुपैयाँबाट बढेर कम्पनीको सेवा शुल्क ५ करोड ६३ लाख रुपैयाँ पुगको छ । यी र यस्ता कारणले कम्पनीको कुल खर्च बढेर गएको हो ।

चैत मसान्तसम्मको तथ्यांअनुसार कम्पनीको खुद बिमाशुल्क आर्जन पनि बढेर गएको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा ६ अर्ब ३७ करोड ४४ लाख खुद बिमाशुल्क आर्जन गरेकोमा यसबाट बढेर चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ अर्ब ५१ करोड २२ लाख बिमाशुल्क आर्जन गरेको छ । चालू आवको तेस्रो त्रैमासमा मात्रै कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँ बराबरको खुद बिमाशुल्क आर्जन गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले कुल २ अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै खुद बिमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा कुल २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले कुल २२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा मात्रै कम्पनीले ९ करोड ९६ लाख रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३ करोड ४४ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीको लगानी गत असार मुान्तमा ३४ अर्ब ९६ करोड रुपैयाँबाट बढेर २०८१ चैत मसान्तमा आउँदा ३९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले लगानी गरेको कर्जा ४ अर्ब १८ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५५ करोड पुगेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।