
काठमाडौं । ताप्लेजुङको पाथिभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।
पोलमा लत्रिएको बिजुलीको तार मे १ च ३०११ नम्बरको बोलेरो जीपमा टाँसिएर करेन्ट प्रवाह हुँदा उक्त जीपमा सवार चारजनाको मृत्यु भएको हो । पोलको लत्रिएको तारमा बिहान ४ः५० बजेतिर उक्त जीप अल्झेर करेन्ट प्रभाव भएर आगो लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विवेक बस्नेतका अनुसार करेन्ट लागेर जीपमा लागेको आगलागीमा परी ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्यकी छोरी १६ वर्षीय आध्या आचार्य, उनका मावलीतर्फका हजुरबुवा झापाको भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल तथा गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बु का ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भिर घाइते भएका सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो । उनीहरुको शरीरका विभिन्न भाग जलेकाले उपचारको लागि काठमाडौं ल्याउन लागिएको हो ।
यसअघि उनीहरुलाई स्थानीय जिल्ला अस्पतालमा उपचार गरिएको थियो । उनीहरु पाथिभरा मन्दिरमा दर्शन गर्नका लागि फुङलिङबाट पाथिभरा जाँदै थिए । घटना सेवारो चौकमा भएको थियो ।


तस्वीर : प्रदेश खवर फेसवुक पेज








प्रतिक्रिया