परराष्ट्रमन्त्री आरजू राणा किन गइन् थाइल्याण्ड ?


काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आइतबार थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छिन्।

यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ लागेकी हुन्।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् ।

यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।

उनीहरु यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।