गभर्नरको सिफारिस नहुँदै गुणाकरलाई रोक्न सर्वोच्चमा निवेदन, योग्यता नपुगेको दाबी

2.9k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्न लागिएको चर्चाबीच सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ ।

भट्टलाई गभर्नरमा नियुक्त गर्नका लागि आवश्यक योग्यता नपुगेको दाबी गर्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा पुरक निवेदन दर्ता गरेका हुन् । उनीहरुले गभर्नर नियुक्ति सम्बन्धी मापदण्ड संशोधनविरुद्धको रिट दायर गरेका थिए।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले पुरक निवेदन दर्ता भएको क्लिकमान्डुलाई जानकारी दिए ।

गभर्नर नियुक्तिसम्बन्धी अन्तरिम आदेशमा छलफल हुने दिन भट्टविरुद्धको पूरक निवेदन पनि पेशीमा समावेश हुने उनले जनाए।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सहमतिका आधारमा ऐनको प्रावधानलाई बेवास्ता गर्दै भट्टलाई नियुक्त गर्न खोजिएको निवेदनमा दाबी गरिएको छ ।

यसअघि वैशाख २ गते नै दायर गरिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ६५ वर्ष नपुगेका व्यक्तिहरूमात्र नियुक्तिको प्रक्रियामा सहभागी गराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशका विषयमा छलफलका लागि आइतबारका लागि पेसी तोकिएको छ ।

भट्टलाई सरकारले गभर्नर नियुक्त गर्नेगरी कुनै प्रक्रिया नै सुरु गरेको छैन । प्रक्रिया सुरु नहुँदै उनलाई रोक्न भन्दै सर्वोच्चमा रहेको अर्को मुद्दासँगै हुनेगरी पूरक निवेदन दर्ता भएको हो ।

डा. भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन्, तर उनको राजीनामा स्वीकृत भएको छैन ।

कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामाको पत्र दर्ता भएको भए पनि त्यसमा तोक लगाएर अगाडि बढाएकी छैनन् ।

गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । समितिले राष्ट्र बैंकको एक डेपुटी गभर्नरसहित तीन जनालाई सिफारिस गर्ने र उनीहरुमध्येबाट सरकारले १ जनालाई गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर समितिले अहिलेसम्म कसैको पनि नाम सिफारिस नगर्दै मुद्दा सर्वोच्च पुगेको हो ।

नेपाल राष्ट्र बैंक ऐनमा भने गभर्नरको लागि आवश्यक कार्यअनुभवमा राष्ट्र बैंकको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट)को लागि कार्यअनुभव पुग्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० ले राष्ट्र बैंकको सञ्चालकको योग्यता सम्बन्धी व्यवस्था गरेको छ । उक्त दफामा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्ति हुनको लागि नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था छ ।

सोही दफाको (ग) मा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाको स्पष्टिकरणमा यस खण्डको प्रयोजनको लागि ‘कार्य अनुभव’ भन्नाले नेपाल सरकार, राष्ट्र बैंकको विशिष्ट श्रेणीको पद, विश्वविद्यालयको प्राध्यापक, ‘क’ श्रेणीको वाणिज्य बैंक, वित्तीय संस्थाको कार्यकारी प्रमुख, अन्तर्राष्ट्रिय संघ संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद र मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्ने उल्लेख छ । यस व्यवस्थाले राष्ट्र बैंकको अधिकृत विशिष्ट (कार्यकरी निर्देशक) गभर्नर बन्न सक्ने देखिन्छ ।

डा. गुणाकर भट्ट त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरका गोल्ड मेडलिस्ट हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् ।

को र कस्तो गभर्नर क्लिकमान्डुको विशेष श्रृंखला हेर्न यहाँ क्लिक गर्नुस् ।