
काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले राष्ट्र बैंकको सिस्टम बुझेकै मान्छेलाईनेपाल राष्ट्र बैंकको गभर्नर बनाउने बताएका छन् ।
सत्ता साझेदार कांग्रेस र एमालेबीच भएको भागबण्डामा राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटामा परेपछि को गभर्नर बन्ला भन्ने चासो बढेको छ ।
यसैबीच कांग्रेस प्रवक्ता डा महतले राष्ट्र बैंकको सिस्टम र अर्थतन्त्रलाई राम्रोसँग बुझेको व्यक्तिलाई गभर्नर बनाउने बताएका हुन्।
शुक्रबार बिहान क्लिकमान्डुसँग कुराकानी गर्दै महतले भने- ‘राष्ट्र बैंकको सिस्टम र अर्थतन्त्रलाई राम्रोसँग बुझेको व्यक्तिलाई गभर्नर बनाउँछौं, जसले संकटोन्मूख अर्थतन्त्रलाई उकास्न सकोस् र व्यावसायिक भएर काम गरोस् ।’
यसैबीच, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई बिहिबार बिहान बुढानीलकण्डस्थित निवासमै बोलाएर कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थतन्त्रबारे ब्रिफिङ लिएका छन् । देउवाले ‘राम्रोसँग काम गर्नुपर्छ’ भनेर भट्टलाई ढाडस पनि दिएका थिए ।
बिहिबार दिउँसो कांग्रेसको पदाधिकारी बैठकमा बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति चासो राख्दै कांग्रेसले कुनै पनि हालतमा गभर्नर छाड्न नहुने दबाब सभापतिलाई दिँदै अहिले के भइरहेको छ ? भनेर प्रश्न गरेका थिए ।
नेताहरुको प्रश्नको जवाफमा देउवाले गभर्नर कसलाई बनाउने भन्ने विषयमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा भइसकेको र कुरा पनि मिलिसकेको बताए ।
‘गभर्नरमा प्रधानमन्त्री ओलीजी र मेरो कुरा मिलिसक्यो, एमाले दाबीबाटै पछि हटिसक्यो, कांग्रेसले भनेको मान्छे नै गभर्नर बन्ने हो,’ सभापति देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘छिट्टै राम्रो मान्छे गभर्नर नियुक्त हुन्छ, दुई दिन त धैर्य गर्नुस् ।’
मंगलबार देउवा र ओलीबीच भएको छलफलमा गभर्नर कांग्रेसको भागमा परेको थियो । देउवाको दबाबपछि प्रधानमन्त्री ओली कामू गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई गभर्नर बनाउने अडानबाट पछि हटेका थिए । देउवाले सबै नियुक्ति एमाले निकटको मात्रै हुने हो भने कांग्रेस सत्ता साझेदार भएर बसिरहन उपयुक्त नहुने बताएपछि ओली गभर्नरको दाबीबाट पछि हटेका हुन् ।
गत सोमबार भएको एमाले सचिवालयको बैठकमा ओलीले गभर्नरमा छाड्ने प्रष्ट संकेत गरिसकेका थिए ।
‘गभर्नरमा कांग्रेसले अडान छोडेन, यसैकारण सत्ता सहयात्रा टुंग्याउने कुरा हुन्न,’ ओलीले भनेका थिए ।
कांग्रेस र एमालेले आ-आफ्नो अडान नछोड्दा राष्ट्र बैंक ऐनको उल्लंघन भइसकेको छ । गत चैत २४ गते महाप्रसाद अधिकारी कार्यकाल सकिए पछि राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सहमति नजुट्दा राष्ट्र बैंक ऐनमा ‘सामान्यतयाः एक महिनाअघि नै गभर्नर नियुक्ति गरेर नाम सार्वजनिक गर्नुपर्ने’ भन्ने व्यवस्थाको उल्लंघन भइसकेको छ । ऐनले तोकेको समयमा गभर्नर नियुक्त नगरेर कानूनको उल्लंघन भएको भन्दै सरकारको चर्को समेत आलोचना भइरहेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सरकारले गठन गरेको ३ सदस्यीय गभर्नर सिफारि समितिमा कांग्रेस निकट मानिएका पूर्वगभर्नर विजयनाथ भट्टराई र देउवा निकट रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।
राष्ट्र बैंक ऐनअनुसार बहालवाला डेपुटी गभर्नर मध्येबाट अनिवार्य १ जनासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने र सिफारिसमा परेका ३ मध्येबाट १ जनालाई सरकारले गभर्नर नियुक्त गर्नसक्ने छ । बहालवाला दुईवटै डेपुटी गभर्नर एमाले निकट हुन् ।
कांग्रेसबाट पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहेका नबिल बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगना र बहालवाला कार्यकारी निर्देशक डा. गुणाकर भट्टको चर्चामा छ ।
‘हाम्रो उदेश्य भनेको व्यावसायिक ढंगले अर्थतन्त्र हाँक्न सक्ने व्यक्ति गभर्नर हुनुपर्छ भन्ने हो,’ महतले भने । महतको संकेतले भट्टलाई गभर्नर बनाउन लागिएको बुझिन्छ ।
को हुन् भट्ट ?
सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । उनको कांग्रेस सभापति शेरबहादुर देउवासँग सिधा पहुँच छ । देउवाले भट्टको परिवारले लगाएको एउटा गुन तिर्नुपर्ने बताउँदै आएको र उक्त गुन तिर्न गुणाकरलाई एउटा नियुक्त दिनुपर्ने बताउँदै आएका थिए । भट्टलाई डेपुटी गभर्नर बनाउन नसकेका देउवाले यसपटक गर्भनर बनाएर ‘एउटा पुरानो गुन’ तिर्न लागेका हुन् ।

२०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् । भट्ट अर्थशास्त्र स्नातकोत्तरका गोल्ड मेडलिस्ट पनि हुन् ।
नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि देउवाले भट्टलाई बोर्डको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव अस्वीकार गरेका भट्टको चासो गभर्नरमा थियो।
राष्ट्र बैंकको शक्तिशाली विभागका कार्यकारी निर्देशक भएर काम गरेका उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए । भट्ट धितोपत्र बोर्डको सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् । राष्ट्र बैंकमा नियमन, बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान र भुक्तानी प्रणाली विभागजस्ता शक्तिशाली विभागको प्रमुख भएर काम गरिसकेको छन् ।
अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी उच्च नैतिक चरित्र भएका सालिन र नम्र स्वाभावका छन् । राष्ट्र बैंकमा अर्थशास्त्री नेतृत्व नहुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको आम बुझाइ छ, यस्तो अवस्थामा राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका भट्टलाई कांग्रेसले गभर्नर बनाउन लागेको हो ।
देशको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने राष्ट्र बैंकले नेपाली मुद्राको निष्काशन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरीवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो ।
प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरुसँग नियमित छलफल, बजेट निर्माणदेखि मौद्रिक नीति तर्जुमासम्मको कार्यमा गभर्नर प्रत्यक्ष संलग्न हुन्छन् । यसैगरी देशविदेश भ्रमण, मौद्रिक निकाय तथा केन्द्रीय बैंक प्रमुखको रुपमा मिल्ने सम्मान र पहुँचजस्ता कारण राष्ट्र बैंकको गभर्नर सरकारको सबैभन्दा आकर्षक नियुक्तिमध्ये एक हो ।
को र कस्तो गभर्नर क्लिकमान्डुको विशेष श्रृंखला हेर्न यहाँ क्लिक गर्नुस् ।








प्रतिक्रिया