पदाधिकारी बैठकमा देउवाले भने: कांग्रेसले चाहेको व्यक्ति गभर्नर बन्छ, दुई दिन त धैर्य गर्नुस्

2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भनेको मान्छे नै राष्ट्र बैंकको गभर्नर नियुक्त हुने बताएका छन् ।

बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति चासो राख्दै कांग्रेसले कुनै पनि हालतमा गभर्नर छाड्न नहुने दबाब सभापतिलाई दिँदै अहिले के भइरहेको छ ? भनेर प्रश्न गरेका थिए ।

नेताहरुको प्रश्नको जवाफमा देउवाले गभर्नर कसलाई बनाउने भन्ने विषयमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा भइसकेको र कुरा पनि मिलिसकेको बताए ।

‘गभर्नरमा प्रधानमन्त्री ओलीजी र मेरो कुरा मिलिसक्यो, एमाले दाबीबाटै पछि हटिसक्यो, कांग्रेसले भनेको मान्छे नै गभर्नर बन्ने हो,’ सभापति देउवाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘छिट्टै राम्रो मान्छे गभर्नर नियुक्त हुन्छ, दुई दिन त धैर्य गर्नुस् ।’

मंगलबार देउवा र ओलीबीच भएको छलफलमा गभर्नर कांग्रेसको भागमा परेको थियो । देउवाको दबाबपछि प्रधानमन्त्री ओली कामू गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई गभर्नर बनाउने अडानबाट पछि हटेका थिए । देउवाले सबै नियुक्ति एमाले निकटको मात्रै हुने हो भने कांग्रेस सत्ता साझेदार भएर बसिरहन उपयुक्त नहुने बताएपछि ओली गभर्नरको दाबीबाट पछि हटेका हुन् ।

गत सोमबार भएको एमाले सचिवालयको बैठकमा ओलीले गभर्नरमा छाड्ने प्रष्ट संकेत गरिसकेका थिए ।

‘गभर्नरमा कांग्रेसले अडान छोडेन, यसैकारण सत्ता सहयात्रा टुंग्याउने कुरा हुन्न,’ ओलीले भनेका थिए ।

कांग्रेस र एमालेले आ-आफ्नो अडान नछोड्दा राष्ट्र बैंक ऐनको उल्लंघन भएको छ । गत चैत २४ गते महाप्रसाद अधिकारी कार्यकाल सकिए पछि राष्ट्र बैंकको गभर्नर पद रिक्त छ । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सहमति नजुट्दा राष्ट्र बैंक ऐनमा ‘सामान्यतयाः एक महिनाअघि नै गभर्नर नियुक्ति गरेर नाम सार्वजनिक गर्नुपर्ने’ भन्ने व्यवस्थाको उल्लंघन भइसकेको छ । ऐनले तोकेको समयमा गभर्नर नियुक्त नगरेर कानूनको उल्लंघन भएको भन्दै सरकारको चर्को समेत आलोचना भइरहेको छ ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सरकारले गठन गरेको ३ सदस्यीय गभर्नर सिफारि समितिमा कांग्रेस निकट मानिएका पूर्वगभर्नर विजयनाथ भट्टराई र देउवा निकट रहेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।

राष्ट्र बैंक ऐनअनुसार बहालवाला डेपुटी गभर्नर मध्येबाट अनिवार्य १ जनासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने र सिफारिसमा परेका ३ मध्येबाट १ जनालाई सरकारले गभर्नर नियुक्त गर्नसक्ने छ । बहालवाला दुईवटै डेपुटी गभर्नर एमाले निकट हुन् ।

कांग्रेसबाट पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहेका नबिल बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगना र बहालवाला कार्यकारी निर्देशक डा. गुणाकर भट्टको चर्चामा छ ।

‘हाम्रो उदेश्य भनेको व्यावसायिक ढंगले अर्थतन्त्र हाँक्न सक्ने व्यक्ति गभर्नर हुनुपर्छ भन्ने हो,’ कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले क्लिकमान्डुसँग भने ।

माओवादी अध्यक्ष र भारत जसरी भएपनि सरकार ढाल्न लागि परेका छन् भने पूर्वराजा ज्ञानेन्द्र शाह व्यवस्था नै परिवर्तन गर्न सक्रिय छन् । कांग्रेसकै दोस्रो तहका नेताहरुले पनि सार्वजनिक मञ्चबाटै सरकारको विरोध गरिरहेको अवस्थालाई विश्लेषण गर्दै एमाले कांग्रेससँग लचक भएर सत्ता साझेदारी गरिरहनुपर्ने बाध्यात्मक अवस्थामा भएकाले प्रधानमन्त्री र अर्थमन्त्री चाहेर पनि आफ्नो मान्छे गभर्नर बनाउन सक्ने अवस्थामा छैनन् ।

क्लिकमान्डुको विशेष श्रृंखला ‘को र कस्तो गभर्नर ?’ हेर्न यहाँ क्लिक गर्नुस् ।