‘नेता बदले समस्या हल हुन्छ भने व्यवस्था बदल्नतिर लाग्ने होइन’

खुला बजार, निजी क्षेत्र र नागरिकले स्वतन्त्र रुपमा काम गर्ने कुरामा विश्वास गर्नुपर्छ

210
Shares

सरकार भनेको यस्तो हो जहाँ उपस्थित हुन्छ त्यो ठाउँ बिग्रन्छ । सरकार जति कम उपस्थित भयो उति सप्रन्छ । नागरिक बलियो भएर राज्य बलियो हुन्छ । नागरिकलाई सशक्त बनाउनु पर्छ । सरकारको काम सहजकर्ताको हो ।

बिजुली बनाउने, सडक, टेलिफोन कम्पनी, टेलिभिजन, बैंक चलउने, बिमा चलाउने काम पनि नागरिकले गर्न सक्छ भनेर विश्वास गरे सबैतिर खुला गरेको हो । गएको १५/२० वर्षमा हामीले कहाँ गल्ती गर्‍यौं भने त्यो सुधारको कामलाई द्रुत गतिमा अघि बढाउनु पर्नेमा हामी संकीर्ण बन्यौं, कतिपय केसमा त हामी पछाडि फर्कियौं ।

नागरिकहरु खराब छन्, सरकार असल छ, असल सरकारले नागरिकलाई नियन्त्रण गर्छ भन्ने मानसिकताले हामी डन्डा बोकेर गइहाल्छौं ।

कुनै नयाँ काम गर्दा मलाई नोसोधी काम गर्ने भन्ने सरकारलाई लाग्छ । मोर रेगुलेसनले रिजल्ट दिन्छ भन्नेतर्फ गयौं हामी, दोस्रो प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो ।

हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरु, म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन । पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की भन्ने अवस्था आउने भनेको हामी कहाँनेर पुग्यौँ ?

हामी पुँजीवादी अर्थव्यवस्थामा विश्वास गर्ने राजनीतिक दल भएकाले यो क्रोनिलिज अर्थात आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था होइन ।

पुँजीवादी व्यवस्थाले न्याय स्वतन्त्र सबैलाई बराबर अवसरको कुरा गर्छ । मैले नियम बनाएर आसेपासेलाई शिक्षा, बिमा लगायतमा पोस्छु भने त्यो पुँजीवादी व्यवस्था होइन ।

सरकार वा नेतृत्वमा बस्नेले गलत गरेका कारण समस्या आएको छ तर हामी त्यता नलागेर आइडिया नै गलत भयो कि भन्ने भयो जसले समस्या भयो ।

सरकारको नियन्त्रणमा रहेको सार्वजनिक सम्पत्तिको व्यवस्थापन गर्न अब नागरिकलाई दिनुपर्छ ।

प्राधिकरणले मात्र बिजुली बनाउन सक्छ भनेको भए अहिले बंगलादेशमा बिजुली बेच्ने अवस्था आउने थिएन । नेपाली नागरिकको पैसाबाट उद्यम गर्ने मानिसले बैंकबाट पैसा लिएर जाँदा यो अवस्था आएको हो ।

बिजुली, प्लेन प्राइभेट सेक्टरले चलाउन सक्छ भने विमानस्थल किन सक्दैन होला त्यसैले धेरै कुरालाई थप खुला गर्दै जानु पर्छ । कानुनी सुधारमा यो काम गर्न खोजेका छौं ।

म खुला बजार, निजी क्षेत्र र नागरिकले स्वतन्त्र रुपमा काम गर्ने कुरामा विश्वास गर्छु । मेरो प्राइभेट सेक्टर भनेको खर्बपति मात्र होइन ठेलामा साग बेच्ने पनि हो ।

हामी(कांग्रेस) बेलाबेलामा एमाले जस्तो बेलाबेलामा माओवादी जस्तो देखिन खोज्ने होइन ।

हामीले अहिले पार्टीमा यो विषयमा कुरा गरिरहेका छौं । किन लामो समयदेखि पूर्वाधार समयमा बन्न सकिनेरहेको छैन भनेर हामीले सोलुसन खोज्न खोजिरहेका छौं । हामी दुई महानमन्त्रीले लिड गरेर काम गरिरहेका छौं । नेपालमा रोजगारीको चक्र कसरी बनिरहेको छ भनेर अध्ययन गरिरहेका छौं । हामी निर्णय गर्ने ठाउँमा भएकाले लहडमा होइन तथ्य र तथ्यांकमा आधारित हुनुपर्छ भन्ने हाम्रो प्रयास हो ।

नागरिकलाई राज्यमाथिको विश्वास बढाउँदै लैजानु छ । राज्य भनेको मुख्य देखिने सरकार हो । सरकार र सरकारको नेतृत्वले बोल्दै गर्दा नागरिकलाई विश्वास हुनु पर्छ ।

सरकारमा बसेको मानिसले एउटा गलत निर्णय गर्दा त्यसको असर पर्छ । मन्त्रिपरिषद्बको बैठक बस्दा पनि गलत निर्णय गर्छ कि भनेर डराउनु पर्ने अवस्था बनेको छ ।

अहिले नेपाली कांग्रेस सम्मिलित भएको सरकार हो । यसको पर्फमेन्स बढाउन चाहन्छौँ । गभर्नेन्सको कुरामा नचुकोस् भन्न काम पनि गर्न चाहन्छौँ, खबरदारी पनि गर्न चाहन्छौं । हामी पनि अहिले फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ । फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिले कहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिन्छ । तर त्यहाँ हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिन्नौं । हामी त्यसको पार्ट बन्दैनौँ । हामी त्यसको अंग बन्दैनौँ । हामी फोहोर सफा गर्न गएको हो ।

हामीलाई थाहा छ हामी अहिले गाली खाइरहेका छौं । हामीलाई प्रश्न गरिरहेका छन् । किनभने बाहिरबाट हेर्दै गर्दा त्यस्तै देखिन्छ तर हामी त्यो होइनौँ । हामी त्यही फोहोरी राजनीतिको अंग बन्नका लागि अहिले क्रियाशिल भएको हुँदै होइनौँ । हामी तपाईंहरुको शुभेक्षा र आशिर्वादबाट यहाँभित्र रहेको फोहोर सफा गर्न चाहन्छौं ।

हामीले व्यवस्था बदल्यौँ तर अवस्था के कारणले बदलिरहेको छैन भने नेताको शैलीको कारणले गर्दा बदलिएको छैन । अवस्था बदलिने कुराको अवरोध नेतृत्व हो । नेता भनेर कुनै अमुक भनेको छैन, म पनि त्यसभित्र पर्दछु । नेतृत्वको शैली हो । नेतृत्वको शैली बदल्ने हो । नेतृत्वको शैली बदल्न, सम्झाएर बुझाएर अहिलेको शैली बदल्नसके त्यो बदल्ने हो । सम्झाएर बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्ने हो । समस्या नेतामा छ । नेता बदल्दा समस्या समाधान हुन्छ भने त्यो भन्दा अर्को कुरा बदल्नुपर्छ की भनेर भन्नेकुराले निकास आउँदैन ।

हामीले के ठानेका थियौँ भने दुईवटा ठूला ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौं । खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं । व्यक्तिगत रुपमा त मैले यस पटक केही भुमिका लिनुपर्छ भन्दै गर्दा म सरकारमा बसेर भुमिका लिन्न तर यो सरकार सफल बनाउने यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रुपमा वार फुटिङमा काम गर्दछु, व्यक्तिगत रुपमा जोखिम उठाउन, गाली खान तयार छु किनभने अब काम गर्नुपर्छ भनेर लागेको हो । परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ । विशेष गरी इकोनोमिक फण्डमा काम गर्ने हो । त्यस कारणले शुरुको चरणमा जोतिएर गएर काम गरेको पनि हो । उत्साहका साथमा धेरै कुरा बदल्ने भनेर लागेको पनि हो । तर बिस्तारै के लाग्न थालेको छ भने देशलाई कंकर्डको स्पिड चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहोल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर । सरकार ट्याक्टरको स्पिडमा छ । मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन । गति नै पक्रन सकेन ।

हामी छिटोछिटो काम गरौं भनेर अग्रसर भइरहेका छौं, तर जुन स्तरको जोश, उत्साह र समर्पण नेतृत्वबाट अपेक्षित हुन्छ, त्यो देखिएको छैन । यही अभावले हामीभित्रै अलमल सिर्जना गरिरहेको छ यो अलमल कुनै नयाँ राजनीतिक विकल्प खोजौं भन्ने होइन ।

हामी अहिले बनेको सरकारमै काम गर्न चाहन्छौं । नयाँ सरकार बने पनि बहुमतको संरचना नहुँदा धेरै परिवर्तन हुने छैन । त्यसैले अहिलेको संरचनाभित्रै परिणाममुखी काम गर्नुपर्छ भन्ने धारणा हामीले लिएका छौं । हामी सम्पूर्ण शक्ति लगाएर डेलिभरीमा केन्द्रित भएका छौं, तर चाहिँजस्तो परिणाम आउन सकिरहेको छैन ।

उदाहरणका लागि, काठमाडौंमा शिक्षकहरूको आन्दोलन महिनौंयता चलिरहेको छ । उनीहरूले अल्टिमेटम दिए, आन्दोलन गरिरहेका छन् । यदि सरकारले सोही गतिमा काम गरेको भए, उनीहरू सडकमा आउनुपर्ने अवस्था नै आउँदैनथ्यो ।

त्यस्तै, सहकारी पीडितमध्ये ५ लाखभन्दा कम बचत भएका व्यक्तिहरूको बचत फिर्ता गर्ने संसदीय समितिको सुझाव आएको महिनौं भइसकेको छ । रामेश्वर खनालको प्रतिवेदन आउनुअघि नै सूर्य थापाको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन बुझाइसकेको थियो । त्यो सुझावअनुसार तत्काल काम गरिएको भए, अहिले मानिसहरू सडकमा आउनुपर्ने थिएन ।

कतिपय ठाउँमा सरकारले अनावश्यक रूपमा कर्मचारी परिचालन गरेर उल्टै असन्तोष बढाएको छ । यस्तो कार्यशैलीले आमजनतामा निराशा बढाएको छ, राम राम भन्ने त छ, तर गर्ने के हो? भन्ने प्रश्न उठ्न थालेको छ ।

तर हामी यसलाई बदल्न, सरकारलाई सक्षम बनाउने नियतले अघि बढेका हौं । हामी कांग्रेससहितको सरकारको कार्यक्षमता बढोस् भन्ने चाहन्छौं र त्यसमा खबरदारी गरिरहेका छौं ।

(मंगलबार काठमाडौंमा बौद्धिक पेशाकर्मी अभियानले गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्त गरेको विचारको सम्पादित अंश )