
एजेन्सी । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा एलन मस्कले उनलाई साथ दिएका थिए, ठीक त्यसैबेलादेखि अमेरिकाको अर्थतन्त्रबारे विज्ञहरुले चिन्ता व्यक्त गर्न थालिसेका थिए ।
एलन मस्कले किन ट्रम्पलाई साथ दिए भनेर धेरैलाई चासो र आश्चर्य थियो । कतिपयले त यसलाई स्वभाविक रुपमा पनि लिए । यसो हुनुको पछाडि ट्रम्प र मस्क उस्तै कार्यशैली र विचार भएका व्यक्ति हुन् ।
ट्रम्पले भने राष्ट्रपतिमा निर्वाचित भएपछि नै लगातार कठोर र आश्चर्यजनक निर्णयहरु गर्दैआएका छन् । त्यसो त यीमध्ये धेरै निर्णयहरुबारे उनले पहिले नै जानकारी दिएका थिए ।
ट्रम्पले गरेको पछिल्लो महत्वपूर्ण निर्णय हो चीनमाथि ट्यारिफ घोषणा । जुन निर्णयले चीनसँगको व्यापार युद्धलाई गहिराइमा लैजाने धेरैले चेतावनी पनि दिँदैआएका छन् ।
चीनबाट आयात हुने सामानमा अमेरिकाले ३४ प्रतिशत भन्सार कर लगाउने निर्णयसँगै चीनले पनि बदलामा अमेरिकी सामानमाथि कर लगाउने घोषण गरिसकेको छ । र फेरि ट्रम्पले चीनविरुद्ध १०४ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
यसले अमेरिका र चीन मात्रै नभएर समग्र एसिया क्षेत्रमा पनि गम्भीर असर पर्ने विज्ञहरुले चेतावनी दिन थालेका छन् ।
ट्रम्पको निर्णयले एसियामा कस्तो असर पर्छ भन्ने बहसको अर्कै पाटो भयो, अहिले भने ट्रम्पका यस्ता महत्वपूर्ण निर्णय र घोषणाले उनी निकटका प्रभावशाली व्यक्तिहरुलाई चाहिँ कस्तो असर पारिरहेको छ ?
विश्व बजार धराशायी बनिरहेको बेला ट्रम्पले भने करलाई दोब्बर बनाइरहेका छन् ।
तर रोचक कुरा के छ भने ट्रम्पका हरेक निर्णयमा साथ दिने र उनलाई ती योजना ल्याउन उक्साउने उनकै टिमका सदस्यहरुबीच मतभेद देखिन थालेको छ । ट्रम्पको हालैको ट्यारिफको निर्णयले उनका अति निकट मानिएका एलन मस्क र पिटर नाराभोबीच सार्वजनिक रुपमै विवाद देखिएको छ ।
के हो विवाद ?
टेस्लाका मालिक तथा ट्रम्पका निकट सहयोगी एलन मस्क र व्यापार सल्लाहकार पिटर नाराभोको विवाद छताछुल्ल भएको छ।
मस्क र नाराभोको विवादसँगै ट्रम्पको कर योजनाले उनको टिम नै विभाजित भएको त हैन भन्ने चासो देखिएको छ ।
गत बुधबार टम्पले अमेरिकी ब्यापार साझेदारहरुमाथि चर्को दबाब पर्ने गरी महंगो कर योजना घोषण गरे । जसले दशकौंदेखिको अमेरिकी ब्यापार नीतिलाई ब्रेक लगाइदियो । र अर्थशास्त्री र साझेदार देशहरुमा चिन्ता थपिदियो ।
ट्रम्पको कर नीतिसँगै विकसित अवस्थाले अधिकांश देशमा सेयर मार्केट खस्किनुका साथै व्यापारका अन्य माध्यमहरु पनिकमजोर बनेका छन् । यतिसम्म कि अमेरिकामा २०२० को बेला कोरोना महामारीको अवधिमा भन्दा पनि बढी हाल त्यहाँको सेयर मार्केट खस्किएको छ ।
ट्रम्पका लामो समयदेखिका सहयोगी तथा व्यापार सल्लाहकार पिटर नाभारोले हालै ट्रम्पको कर योजनाको खुलेर प्रशंसा गरे । सीएनएनसँगको अन्तर्वार्तामा उनले हालै यस योजनामा ट्रम्पको प्रतिरक्षा गरिरहेका छन् ।
उनले हाल अमेरिकाको सेयर बजार पनि खस्किएको स्विकार गरिरहेका छन् । र अब छिट्टै यो उकासिने पनि उनको विश्वास छ।
तर मस्कले नाभारोलाई लक्षित गर्दै सामाजिक सञ्जाल एक्समार्फत कडा आलोचना गरेका छन् ।
त्यसो त अमेरिकी नयाँ करको पहिलो चरण अस्ट्रेलिया, बेलायत, अर्जेन्टिना र साउदी अरब लगायतदेशहरुमा १० प्रतिशत कर शनिबारदेखि लागु भयो । यसैगरी ट्रम्पले चीन, भारत लगायत देशहरु विरुद्ध लगाएको पारस्परिक कर बुधबारदेखि लागु हुने बताइएको छ ।
युरोपमाथि भन्सार करबारे एलन मस्क
एलन मस्कले करको सन्दर्भमा दिएको टिप्पणी नाभारोविरुद्ध मात्रै हैन । शनिबार मात्रै एलन मस्कले इटालीयन कार्यवाहक प्रधानमन्त्री मात्तेओ सिल्भानीसँग भिडियो कुराकानी नै गरे । इटालीका नेता सिल्भानीको पार्टी भने कट्टर दक्षिणपन्थी पार्टीको रुपमा चिनिन्छ ।
वार्ताको क्रममा एलन मस्कले अमेरिका र युरोपबीच ‘शून्य कर’को अवस्था आफूले चाहेको प्रतिक्रिया दिए । यतिसम्म कि, राष्ट्रपति ट्रम्पले युरोपियन युनियनमाथि २० प्रतिशत कर लागु गरेका छन् ।
विशेषगरी युरोप र उत्तर अमेरिकासँग करको अवस्था कल्पना गर्न नहुने मस्कको भनाइ थियो । साथै यी देशहरुबीच खुला ब्यापार क्षेत्र कायम हुनुपर्ने मस्कको भनाइ थियो ।
त्यसो त मार्चमा युरोपियन अटोमोबाइल मेनुफेक्चरर्स एसोसिएसनले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत वर्ष सोही महिनाको तुलनामा जनवरी र फेब्रुअरीमा मात्रै युरोपमा टेस्लाको बिक्री ४९ प्रतिशतले खस्किएको छ ।
यति मात्रै टेस्लाको सेयर मूल्य पनि घट्न थालेको छ । गत वर्षको तुलनामा डिसेम्बरमा टेस्लाको सेयर आधाले घटेको छ ।
नाभारोले भने एलन मस्कमाथि कडा टिप्पणी गरेका छन् । आइतबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा नाभारोले एलन मस्कको धारणा सुन्दा रोचक लागेको भन्दै उनले करको विषय नबुक्रेको प्रतिक्रिया दिए ।
‘मलाई लाग्छ, एलन मस्कको बारेमा बुझ्नुपर्ने कुरा भनेको उनी कार बिक्री गर्छन्,’ नाभारोले भनेका छन् ।
गत महिना करको विषयमा टेस्ला कम्पनीले अमेरिकी सरकारलाई चेतावनी दिँदै जब कर वृद्धिले अमेरिकी उत्पादनलाई नै लक्षित गर्छ भने यसले विद्युत्तीय कम्पनीलाई नै असर पार्ने जनाएको थियो ।
यसरी ट्रम्पको दोस्रो कार्यकालमा उनको अति निकट भएर काम गरिरहेका योजनाकारहरुबीच नै कर वृद्धिलाई लिएर मतभेद र विवाद सार्वजनिक भएपछि उनका अन्य योजनाहरु पनि प्रभावित हुने देखिएको छ ।
यसवाहेक ट्रम्पको टिमबीच मतभेद र विवाद भएकाा अन्य थुप्रै संकेत पनि देखिएका छन् । जवकि ट्रम्पका पक्षधर अधिकारीहरुले यस करको विषयमा ५० भन्दा बढी देशसँग परामर्श लिएको बताइरहेका छन् ।
युरोपका देशहरुसँग परामर्श गरे पनि अर्को तर्फ ट्रम्पको करवृद्धिको निर्णयबाट टेस्लाका मालिक स्वयं मस्क नै खुसी देखिएका छैनन् । त्यसो त चीनमा दबाबमा परिरहेको टेस्लाले युरोपमा चिनियाँ ब्यापारलाई रोक्दै आफ्नो प्रभाव जमाउने दाउमा थियो, जुन योजना हाल ट्रम्पका कठोर निर्णयहरुको छायामा परिरहेको छ ।
यसबीचमा अमेरिकामा भने ट्रम्पका निर्णयहरु भने व्यापक रुपमा आलोचित र अलोकप्रिय बनिरहेका छन् ।







प्रतिक्रिया