त्रिभुवन विमानस्थलमा उडान कटौतीले भैरहवामा जान बाध्य पारिएका वायुसेवाले १९ चैतदेखिको समर सेड्युलमा एउटै पनि उडान गर्न चाहेनन् । उड्डयन प्राधिकरणले जबरजस्ती गरेर उडान गरेको ४ वटा वायुसेवाले तालिका पेश नगरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थ फेरि विदेशी वायुसेवाको उडान ठप्प छ ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको जबरजस्तीले कात्तिक दोस्रो सातादेखि भैरहवामा बाध्यात्मक उडान गर्न थालेका अन्तर्राष्ट्रिय उडानका वायुसेवा पाँच महिनामै बिच्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग मर्मतको लागि रातको समयमा सम्पूर्ण उडान बन्द गरेर भैरहवा पठाएका विदेशी वायुसेवाले काठमाडौंमा सेड्युल पाउने बित्तिकै भैरहवाको उडान ठप्प भएको हो ।
प्राधिकरणले १ अप्रिल (१९ चैत)देखि उडान बन्द गरेर धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै समर सेड्युलको तालिका प्रकाशन गरेको छ । उक्त तालिका अनुसार यसअघि त्रिभुवन विमानस्थलमा उडान अनुमति नपाएका र कटौती भएका वायुसेवाले काठमाडौंमा नै अनुमति पाएपछि भैरहवाको लागि राखेको तालिका झिकेका छन् । जसका कारण भैरहवाको गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अवतरण गर्ने एउटै पनि वायुसेवा भएनन् ।
काठमाडौंबाट हुने उडान तालिका कटौतीमा परेपछि फ्लाई दुवाईले भैरहवामा दैनिक उडान गर्ने गरेको थियो । यो वायुसेवाले कात्तिकदेखि चैत १८ सम्ममा दैनिक तीन वटा उडान पाएको थियो । काठमाडौंबाट हुने उडान तालिका बढाएर दैनिक ४ वटा बनाएको यो वायुसेवाले भैरहवामा उडान गर्न चाहेन । यसले भैरहवामा एउटा पनि उडान तालिका राखेन ।
भैरहवामा सातामा ३ वटा उडान गर्दै आएको कुवेतको जजीरा एयसलाइन्सले पनि सातामा १० वटा उडान गर्दै आएको थियो । यो वायुसेवाले १९ चैतदेखि काठमाडौंमा उडान घटाएर सातामा ३ वटा मात्रै गरेको भए पनि यसले भैरहवामा भने एउटा पनि उडान गर्न चाहेन ।

काठमाडौंमा उडान गर्न प्राधिकरणले थाई एयर एसियालाई बाध्य पारेको थियो । उक्त वायुसेवाले काठमाडौं विमानस्थलमा समर सेड्युलको लागि दैनिक उडानको अनुमति लिएको छ भने भैरहवाबाट एउटा पनि उडान गर्न चाहेन । यो वायुसेवाले यस अघि विन्टर सिजनमा सातामा ६ उडान काठमाडौंमा गरेर सातामा एक दिन भने भैरहवा उडान गर्ने गरेको थियो ।
कतार एयरवेजले पनि गत विन्टर सिजनमा जम्मा १५ दिन जति भैरहवामा टच डाउन (अवतरण गरेपनि यात्रु नराख्ने, नझार्ने)मात्रै गर्यो । यो वायुसेवाले काठमाडौंमा उडान तालिका पाउन मात्रै भैरहवा उडान गरेको संकेत मात्रै गरेको थियो । यसले भैरहवामा नियमित उडान नै गरेन । यसले विन्टरमा काठमाडौंमा विमानस्थलमा दैनिकम दुई वटा उडान गर्ने गरेको थियो भने अहिलेको समर सिजनमा दैनिक ३ वटाको अनुमति पाएको छ ।
गौतमबुद्ध अख्न्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले १९ चैतदेखि सुरु भएको समर सिजनमा सातामा एउटा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट भैरहवा कनेक्टिङ गरेर काठमाडौ आउने बाहेक कुनै पनि उडान नभएको बताए ।
निगमको जहाज साताका एक दिन हरेक मंगलबार विहान मात्रै भैरहवा हुँदै काठमाडौं आउने भएको छ । यो अन्य कुनै पनि वायुसेवाको अन्तर्राष्ट्रिय उडान तथा अवतरणको तालिका भैरहवामा छैन् । निगमले यस अघि काठमाडौबाट भैरहवा हुँदै दुवई गएर पुन काठमाडौं नै आउने गरी उडान गरेको थियो । उक्त उडान बन्द गरेर निगमले अब मलेसियाबाट भैरहवा हँुँदै काठमाडौं आउने भएको छ ।
भैरहवा विमानस्थलबाट गत वर्ष नै हिमालय एयरलाइन्सले एक महिनाजति उडान गरेको थियो । अहिले यो वायुसेवा पोखरा गएकोले भैरहवामा हिमालयको उडान छैन ।
भैरहवा विमानस्थलका प्रवक्ता साहका अनुसार यहाँ उडान गर्ने वा नगर्ने सम्बन्धित वायुसेवाको व्यापारिक योजना हुनसक्छ । भैरहवामा उडान गर्न नचाहेका ती वायुसेवाले लाभ हुने र सहज नभएको बहानामा काठमाडौं विमानस्थल मात्रै केन्द्रित भएका छन । यस अघि आएका वायुसेवा पनि जबरजस्ती भएको उडान मात्रै सावित भएको पनि साहले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा विमानस्थल चलाउन जबरजस्ती गरेको भएपनि सम्बन्धित वायुसेवाले भने उडानै गर्ने, भएकै तालिका कटौती गर्ने र सेवा सुविधा सहज नभएको भन्दै पन्छदै आएका छन् ।

भैरहवाबाट ३ सय उडान
भैरहवा विमानस्थलबाट पछिल्लो तीन महिना (जनावरी–मार्च २०२५)मा जम्मा ३ सय वटा उडान भएको छ । यो तथ्यांक अनुसार भित्रुवन विमानस्थलको यो अवधिमा ३० प्रतिशत उडान कटौती हुँदासमेत भैहरवामा भने औषतमा मासिक १०० सय वटा मात्रै उडान भएको छ । भैरहवामा भएको २९९ उडानबाट १५ हजार १४८ यात्रुले सेवा पाएका छन् । यो अवधिमा ११ हजार ५३७ यात्रुले ट्रान्जिट उडान गरेका थिए ।
भैरहवा विमानस्थलमा पछिल्लो तीन महिनामा नेपाल वायुसेवा निगमले ३४ वटा उडान गरेको छ । यो उडानबाट निगमले यो विमानस्थलबाट २४ सय ७४ यात्रुलाई ट्रान्जिट उडानको सेवा मात्रै दिएको छ ।
कुवेतबाट आएको जजीरा एयरलाइन्सले २६ वटा मात्रै उडान गर्यो । यसले ३६ सय ७ यात्रुलाई उठडान अवतरणको सेवा दिएको छ । फ्लाई दुवाइले ६० वटा उडान गर्यो । यसबाट २३ सय २३ यात्रुलाई सेवा दिएको यो वायुसेवाबाट २६ सय ७७ जना यात्रुले ट्रान्जिट सेवा लिएका छन् ।
पछिल्लो तीन महिनाको अवधिमा थाई एयर एसियाले जम्मा ८ वटा उडान गरेर ९ सय ५८ यात्रुलार्य मात्रै सेवा दियो । एयर चाइनाले पनि ६ वटा उडान गर्यो भने यसले १४६ यात्रुलाई सेवा दियो ।
प्रतिक्रिया