
एजेन्सी । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाथर प्रतिमा क्षेत्रमा सोमबार भएको पटाका कारखानामा राखिएका पटाकाहरू विस्फोट हुँदा आगलागी भएको थियो ।
यस घटनामा मंगलबार दिउँसो अर्को एक व्यक्तिको ज्यान गएको छ । यससँगै मृतकको संख्या आठ पुगेको छ। मृतकमध्ये चारजना बच्चाहरू छन्, जो एउटै परिवारका सदस्य हुन्।
प्रहरीका अनुसार घटनाको समयमा उक्त परिवारका एघार सदस्यमध्ये तीनजना घरबाहिर थिए । बाँकी सबैको मृत्यु भइसकेको छ।
पटाका व्यवसाय गर्दै आएका सोही परिवारका दुई दाजुभाइ चन्द्रकान्त बनिक र तुषार बनिकविरुद्ध मुद्दा दर्ता गरिएको छ।
प्रहरीका अनुसार यी दुई दाजुभाइसँग पटाका व्यवसाय गर्ने आधिकारिक अनुमति (लाइसेन्स) थियो । घरमा ठूलो परिमाणमा पटाका राखिएको थियो। कुनै कारणवश विस्फोट हुँदा बनिक परिवारका सात सदस्यको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकमध्ये चन्द्रकान्त र तुषारका पिता अरविन्द बनिक (६५ वर्ष), हजुरआमा प्रभावती बनिक (८० वर्ष), चन्द्रकान्तकी श्रीमती सांत्वना बनिक (२८), छोरा अर्णव बनिक (९), छोरी अस्मिता बनिक (८ महिना), तुषारकी छोरी अनुष्का बनिक (६) र छोरा अंकित बनिक (६ महिना) छन्।
दुबै दाजुभाइ र उनीहरूकी आमा त्यतिबेला घरबाहिर थिए । तुषारकी श्रीमती रूपाले पछि अस्पतालमा ज्यान गुमाइन् ।
स्थानीय बासिन्दाहरूले विस्फोट भएको घरमा लामो समयदेखि अवैध रूपमा पटाका उत्पादन भइरहेको आरोप लगाएका छन् ।








प्रतिक्रिया