कर्मचारी र शिक्षकको पोशाकमा ढाका अनिवार्य गर्ने कोशी सरकारको तयारी


विराटनगर । कोशी प्रदेश सरकारले ढाका कपडा उद्योगको संरक्षण र प्रबद्र्धनका लागि आगामी आर्थिक वर्षदेखि प्रदेश भरका निजामती कर्मचारी र शिक्षकका लागि कार्यालय पोशाकमा ढाका कपडा अनिवार्य गर्ने तयारी गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विहीबारदेखि सुरु तीन दिने ढाका महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री हिकमतकुमार कार्कीले ढाका उद्योगलाई प्राथमिकता दिने बताएका हुन् ।

प्रदेश भरका निजामती कर्मचारी र शिक्षकको पोशामा ढाका कपडा अनिवार्य गर्न प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेर ढाका कपडाको प्रवद्र्धन र उद्योगको संरक्षण गर्ने सरकारको लक्ष्य रहेको कार्कीले बताए ।

संघीय र प्रदेश सरकारले निजामती कर्मचारी र शिक्षकलाई हरेक वर्ष पोशाक भत्ता उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘त्यही भत्ताले कार्यालय पोशाक ढाकाको कपडा किन्नु उपयुक्त हुन्छ ।’

प्रदेश भरका निजामती कर्मचारी र शिक्षकलाई ढाका कपडाको पोशाक अनिवार्य लगाउन प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि नीति नै बनाउँदै छ । ‘यो अभियानले ढाका कपडाको प्रवद्र्धन र उद्योगको संरक्षण हुने विश्वास छ,’ उनले भने ।

हिमाल, पहाड र तराईको मौसम अनुसार ढाकाको कपडा उत्पादन गर्न कार्कीले सम्बद्ध उद्यमीलाई आग्रह गर्दै अन्य प्रदेशमा पनि निजामती कर्मचारी र शिक्षकको पोशाक ढाका कपडाको अनिवार्य गर्न संघीय सरकार, प्रदेश सरकार र मुख्यमन्त्रीसँग आफूले पहल गर्ने कार्कीले आश्वासन दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय महिला समिति अध्यक्ष कमला श्रेष्ठले ढाका कपडा नेपालीहरुको पहिचान र गौरवसँग जोडिएकाले यस्ता उद्योगको संरक्षण र प्रबद्र्धनका लागि सरकारलाई आग्रह गरिन् । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले प्रदेश भरका निजामती कर्मचारी र शिक्षकलाई कार्यालय पोशाकमा ढाका कपडा अनिवार्य गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए ।

कोशी प्रदेशमा साना ठूला गरेर करिव ३०० ढाका कपडा उद्योग सञ्चालनमा छन् । ति उद्योगमा २ हजारभन्दा बढीले रोजगार पाएको प्रारम्भिक आँकडा छ । अधिकांश उद्योगमा महिलाको स्वामित्व छ । प्रदेशको उत्पादन मुलक क्षेत्रमा ढाका कपडा उद्योगमा हिस्ता करिब १० प्रतिशत रहेको बताइएको छ ।

आगामी शनिवारसम्म विराटनगरको जैन भवनमा सञ्चालन हुने ढाका कपडा महोत्सवमा ढाका कपडाको व्यापार तथा लगानी प्रबद्र्धनका लागि ढाका उद्योगमा सम्भावित लगानी तथा व्यवसायिक अवसर र ढाका कपडा उद्योगका चुनौती, अवसर र प्रवद्धर्दनका वारेमा महिला उद्यमीहरुसँग सम्वाद गर्ने कार्यक्रम रहेको महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए ।

निजामती कर्मचारी र शिक्षकको पोशाकमा ढाका कपडालाई अनिवार्य गर्ने मुख्यमन्त्री कार्कीको आश्वासनको स्वागत गर्दै राउतले भने, ‘औद्योगीकरण र उद्योग व्यापारको प्रबद्र्धनका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार छ ।’

नेपाली ढाका उद्योगलाई प्रबद्र्धन गर्दै कोशी प्रदेशका महिला उद्यमीहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्ने, ढाका कपडाको व्यवसायिक संभावना बढाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार विस्तार गर्ने तथा स्थानीय स्तरमा महिला उद्यामशिलतालाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने महोत्सवको मुख्य लक्ष्य रहेको महोत्सव संयोजक तथा नेपाल उद्योगा वाणिज्य संघ कोशी महिला उद्यमी विकास समिति संयोजक सरु केसीको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा आयोजित महोत्सवमा कोशी प्रदेश सरकारको वन तथा पर्यटन, सामाजिक विकास र उद्योगा तथा वाणिज्य मन्त्रालयको आर्थिक सहकार्य छ ।

महोत्सवमा ३० वटा स्टल राखिएको छ । कोशी प्रदेशका विभिन्न जिल्लावाट सहभागी भएका उद्यमीलाई आयोजकले नि:शुल्क स्टल सहित खान र वस्नको पनि व्यवस्था गरेको छ । महोत्सवमा करिव एक करोडको कारोवार हुने लक्ष्य राखिएको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी मार्सेलीले जानकारी दिए ।