
काठमाडौं । नेपाल र भारतका मैदा उद्योगीबीच सहकार्य गर्ने सहमति भएको छ ।
दुई देशका मैदा मिल कम्पनीका बीचमा प्रविधि आदानप्रदान, प्राविधिक ट्रेनिङ कार्यक्रममार्फत प्राविधिक जनशक्ति उत्पादन, खाद्य सुरक्षा लगाएका विषयमा सहकार्य गर्ने सहमति भएको हो ।
रोलर मिल एसोसिएसन अफ इन्डियाले हालै भारतको गोवामा आयोजना गरेको ‘मिलिङ भिजन २०३० र त्यसपछिको भविष्य’ नामक सेमिनारमा दुई देशका उद्योगीबीच सहकार्यसम्बन्धी सम्झौता भएको नेपाल मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालले जानकारी दिए ।
उक्त कार्यक्रममा संघका अध्यक्ष कुमुद दुगडको नेतृत्वमा नेपालका १६ वटा मैदा मिल कम्पनीहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी नेपालका प्रतिनिधिहरूले कार्यक्रम निकै उत्साहजनक र ज्ञानवद्र्धक रहेको बताएका छन् । कार्यक्रमबाट प्राप्त ज्ञानले नेपालमा गहुँको उत्पादन, भण्डारण, निरीक्षण, प्रशोधन, गहुँजन्य गुणस्तर वस्तुको उत्पादन र बजारीकरणमा ठूलो भूमिका निर्वाह गर्ने उनीहरूको भनाइ छ ।
कार्यक्रममा मैदा मिलको भविष्य, गहुँको उत्पादन, खाद्य सुरक्षा, नयाँ प्रविधि र विभिन्न चुनौतीलगायतका विषयमा छलफल गरिएको थियो ।
गहुँलगायत अन्य विभिन्न बालीको निरीक्षण तथा उत्पादन वृद्धि गर्नको लागि स्याटलाइटबाट वास्तविक उत्पादनको क्षेत्रफल र अवस्था निरीक्षण गर्ने, उत्पादनको भविष्यवाणी गर्ने गरेको विशेषज्ञहरूले जानकारी गराएका थिए ।
यसले वास्तविक कृषि उत्पादन वृद्धि गर्नको लागि योजनाबद्ध तरिकाले काम गर्न र उत्पादन बढाउन सहयोग भएको पाइएको छ । त्यस्तै लामो समयका लागि खाद्य भण्डारण गर्दा अपनाउनुपर्ने कुराहरू र त्यसैक्रममा उपयोग हुने प्रविधिहरूका विषयमा विभिन्न कम्पनीका प्रतिनिधि र खाद्य भण्डारण विषेशज्ञहरूले जानकारी गराएका थिए ।
कार्यक्रममा गहुँको बजारीकरण, भण्डारण, निरीक्षण र प्रशोधनसम्बन्धी प्राविधिक कम्पनीहरूको मेसिन तथा इक्विपमेन्ट प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष दुगडलाई सम्मान समेत गरिएको थियो । भारतीय लोकसभाका सांसद प्रवीण खण्डेलवालसहित फेडरेसन अफ रोलर्स फ्लोर मिल इन्डियाका केन्द्रीय अध्यक्षलगायत उच्च पदस्त व्यक्तित्व समेतको उपस्थितिमा दुगदलाई सम्मान गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष दुगडले नेपालमा गहुँको उत्पादन वृद्धि गर्न, गहुँको भण्डारण व्यवस्थित गर्न, खाद्य सुरक्षा कायम राख्दै गहुँ जन्य आँट मैदा सुजी चोकरलगायतका वस्तुहरूको गुणस्तरीय उत्पादन गर्न आफूहरू सरकारसँग सहकार्य गरी अगाडि बढेको जानकारी दिए ।
नेपालमा गहुँको वास्तविक उत्पादन स्याटलाइटलगायत विभिन्न प्रविधि र वास्तविक मौज्दातको तथ्याङ्कमार्फत पुनः गणना गरी यसको वास्तविक तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको उनको भनाइ थियो ।
सो कार्यक्रममा भारत सरकारले फ्लोर मिलमा कार्यरत प्राविधिकलाई नयाँ प्रविधिमूलक उत्पादनका लागि लखनउमा प्राविधिक तालिम केन्द्र सञ्चालनमा ल्याइने, गहुँ बोर्ड गठन गर्ने तथा नेपालका उद्योगी व्यवसायी र प्राविधिकलाई नयाँ प्रविधिको जानकारी गराउन नियमितरूपमा तालिमको अवसर प्रदान गरिने घोषणा समेत गरिएको थियो ।
रोलर मिल एसोसिएसन अफ इन्डियाले प्रत्येक पाँच वर्षमा एकपटक यस्तो सम्मेलन आयोजना गर्दैआएको छ ।
सम्मेलनमा भारतका छ सयभन्दा धेरै मैदा आँटा मिल कम्पनीहरू तथा अन्य वैदेशिक राष्ट्रका मिलिङ कम्पनीहरू र खाद्यान्न उत्पादन, खाद्य सुरक्षा, खाद्य व्यस्थापन एवं खाद्य प्रशोधन प्रविधिसँग सम्बन्धित कम्पनी र विशेषज्ञहरूको उत्साहजनक सहभागिता थियो ।
संघका अनुसार हाल नेपालमा गहुँको औद्योगिक र घरेलु खपत १२ लाख टन आँकलन गरिएको छ ।
यसमध्ये नेपालमा चार लाख टन गहुँको अभाव देखिन्छ । जुन भारतलगायत अन्य मुलुकबाट परिपूर्ति गर्नुपर्ने अवस्था छ । नेपालले मुख्यतय गहुँको आयात भारतबाट गर्दै आएको भए पनि भारतले चार वर्षदेखि गहुँको नेपाल निर्यातमा प्रतिबन्ध लगाएको छ ।
यस वर्ष भारत सरकारले नेपाललाई नेसनल को–अपरेटिभ एक्सपोर्ट लिमिटेडमार्फत दुई लाख टन गहुँ निर्यात गर्ने निर्णय गरेको छ । संघको प्रतिनिधिले भारत सरकार भारतीय सो कम्पनीका प्रबन्ध निर्देशक अनुपम कौशिकलगायतका टिमसँग सहज तरिकाले गहुँ आयात गर्ने सम्बन्धमा समेत विस्तृत छलफल गरेको थियो ।
उक्त छलफलमा अब हुने गहुँ आयातका क्रममा देखिने समस्या समाधान गर्न दुवै पक्षलाई सहज र विश्वासको वातावरण बनाएर काम गर्ने सहमति भएको छ ।
प्रतिक्रिया