मस्कको प्रशंसादेखि ईयुमाथि करसम्म: यी हुन् ट्रम्पको पहिलो मन्त्रिपरिषद बैठकका ५ मुख्य विषय

259
Shares

एजेन्सी । दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले पहलो पटक मन्त्रिपरिषद् बैठक बोलाए । बुधबार ह्वाइट हाउसमा १ घण्टाभन्दा बढी चलेको बैठक पछि प्रश्न-उत्तर सत्रमा परिणत भएको थियो ।

उक्त बैठकमा ट्रम्प आफ्नो मन्त्रिपरिषद्का सदस्यहरूसँगै थिए । अरबपतिसमेत रहेका ट्रम्पका मुख्य सहयोगी एलन मस्क पनि उपस्थित थिए । जसले ‘टेक सपोर्ट’ लेखिएको टी-शर्ट लगाएका थिए । ट्रम्पले सरकारी खर्च कटौतीदेखि लिएर आप्रवासन, अर्थतन्त्र र युक्रेन युद्धसम्म विभिन्न विषयहरूमा चर्चा गरे।

ट्रम्पका महत्वपूर्ण भनाइहरू यस्ता छन्:

ट्रम्प मस्क र रुबियोको प्रशंसा

पत्रकारहरूले ट्रम्पलाई कुन सरकारी विभाग वा कुन मन्त्रीहरू उनका नीतिहरू कार्यान्वयन गर्न सबभन्दा बढी प्रतिरोध गर्दैछन् भनि सोधे । जवाफमा ट्रम्पले भने, ‘अहिलेसम्म म सबै छनोटहरूसँग खुसी छु ।’

तर उनले केही समूहहरू अरूभन्दा सजिलै मिल्ने बताए । विशेषगरी एलन मस्क (जो मन्त्रिपरिषद्का सदस्य होइनन्) र विदेशमन्त्री मार्को रुबियोको कामको प्रशंसा गरे । ‘हामी सरकारको आकार घटाउन केन्द्रित छौं, यो गर्नैपर्छ,’ ट्रम्पले थपे, ‘हामी सन्तुलित बजेट बनाउन चाहन्छौं, सम्भवतः अर्को वर्ष वा त्यो भन्दा अर्को वर्षसम्म।’

मस्क र अन्य मन्त्रीहरूबीचको सम्बन्धबारे बोले

ट्रम्पले एलन मस्क र सरकारी दक्षता विभागको खुलेर समर्थन गरे । यो विभागलाई संघीय खर्च र कर्मचारी संख्या घटाउने जिम्मेवारी दिइएको छ । उनले मस्क र अन्य मन्त्रिपरिषद् सदस्यहरूबीच कुनै तनाव नभएको स्पष्ट पार्न खोजे । ट्रम्पले भने, ‘उनीहरूले एलनको सम्मान गर्छन्, यद्यपि केहीले अलिकति असहमति जनाएका छन् । तर अधिकांशजसो खुसी छन् ।’

पत्रकारहरूले मन्त्रिपरिषद्का कुनै सदस्यहरू मस्कसँग असन्तुष्ट छन् कि भनेर प्रश्न गर्दा ट्रम्पले सोधपुछ गरे । तर कोही पनि बोलेनन् ।

मस्कले पनि डोजे विभागको बचाउ गर्दै भने, ‘हाम्रो मुख्य उद्देश्य सरकारी निकायहरूलाई भ्रष्टाचारमुक्त बनाउनु हो ।’

विभागले गल्तीहरू गर्ने उनले स्वीकारे । एकपटक एबोला रोकथाम कार्यक्रम नै गल्तीले रद्द गरिए पनि पछि पुनःस्थापित गरिएको थियो । ‘तर जब गल्ती गर्छौं, छिटो सुधार्नेछौं,’ मस्कले भने ।

संघीय कर्मचारीहरूलाई चेतावनी

ट्रम्पले मस्कद्वारा संघीय कर्मचारीहरूलाई पठाइएको ईमेलबारे पनि बोले । ईमेलमा उनीहरूलाई पछिल्लो हप्तामा गरेका पाँच कामहरूको विवरण दिन भनिएको थियो, अन्यथा जागिर गुम्न सक्ने चेतावनी दिइएको थियो ।

ट्रम्पले झण्डै १० लाख संघीय कर्मचारीहरू मध्ये केही ‘साँचोमा अस्तित्वमै नहुन पनि सक्छन्’ भन्दै ति मानिसहरु जागिरमा भए नभएको पत्ता लगाउने काम भइरहेको बताए । ‘सायद ती मानिसहरू जागिरमा रहेनन्, हामी तिनीहरू को हुन् भनेर पत्ता लगाउँदै छौं,’ ट्रम्पले भने ।

उनले वातावरण संरक्षण एजेन्सी (ईपीए) लाई ६५ प्रतिशतसम्म कर्मचारी कटौती गर्न सकिने संकेत गरे ।

ट्रम्पले जेलेन्स्कीको भ्रमणको पुष्टि गरे

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार ह्वाइट हाउसमा आउने कुरा पुष्टि गरे । उनले अमेरिका र युक्रेनबीच खनिज सम्झौता हुने बताए । जसको विस्तृत विवरण भने स्पष्ट भइसकेको छैन ।

ट्रम्पले भने, ‘हामीले युक्रेनलाई दिएको पैसाको पुनःप्राप्ति गर्नेछौं। कर तिर्ने अमेरिकी जनताले अनावश्यक भार बेहोर्नु हुँदैन ।’

तर जेलेन्स्कीले भने यो सम्झौताले युक्रेनलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने बताएका छन् । ट्रम्पले भने, ‘अमेरिकाले कुनै सुरक्षा प्रत्याभूति दिने छैन, यो जिम्मेवारी युरोपको हो ।’

युरोपेली संघमाथि कर लगाउने घोषणा

ट्रम्पले युरोपेली संघ (ईयू) बाट आउने सामानमा २५ प्रतिशत कर लगाउने योजना सार्वजनिक गरे । उनले भने, ‘हामी छिट्टै यो घोषणा गर्नेछौं । कारहरूदेखि कृषि उत्पादनसम्म सबैमा कर लाग्नेछ ।’

उनले युरोपलाई, ‘उनीहरूले हाम्रो कारहरू र कृषि उत्पादनहरू स्वीकार गर्दैनन्, तर हामीले उनीहरूको सामान सजिलै आयात गर्नुपर्छ,’ भन्दै आरोप लगाए ।

क्यानडा र मेक्सिकोमाथि कर लगाउने योजना

पत्रकारहरूले ट्रम्पलाई अझै क्यानडा र मेक्सिकोमाथि पनि कर लगाउने योजना बनाइरहेको बारे प्रश्न गरे । ट्रम्पले ‘एप्रिल २ देखि ती करहरू लागु हुने’ पुष्टी गरे ।उनले भने, ‘सबै होइन, तर धेरै चीजहरूमा कर लगाइनेछ ।’