
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवनको होटेल तथा पसलहरुबाट ४ लाख ६० हजार रुपैयाँ जरिवाना गराएको छ ।
विभागको टोलीले सोमबार त्रिभुवन राजपथस्थित धादिङ र चितवनको विभिन्न होटेल, रेष्टुँरा, उद्योग र खाद्य पसलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा विभिन्न प्रकारको कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार पाँच व्यापारिक प्रतिष्ठानबाट ४ लाख ६० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार मोवाइल प्रयोगशाला भ्यानको सहयोगमा गरिएको अनुगमनको क्रममा धादिङस्थित सिटी स्टोर्सबाट म्याद नाघेको (प्रयोग गर्नुपनि मिति सकेको) अवस्थामा सिन्थेटिक भिनेगर, ब्रेड र कृत्रिम रंग फेला पारिएको थियो । म्याद नाघेको विभिन्न वस्तु प्रयोग गरेको अभियोगमा उक्त व्यापारिक प्रतिष्ठानबाट ५० हजार रुपैयाँ जरिवाना गराइएको थियो ।
यस्तै सोहि स्थानको हिल टप रेष्टुरेन्टले म्याद नाघेको मरमसला प्रयोग गरेको अभियोगमा ५० हजार, त्रिशुली रिभर साइडमा लेवल उल्लेख नभएको घीउ र ब्रेड प्रयोग गरेको अभियोगमा ५० र भरतपुर २९ को दासढुङगास्थित अशोका रिसोर्ट प्राइभेट लिमिटेडले पनि म्याद नाघेको मरमसला र पेयजन्य पदार्थ प्रयोगमा ल्याएको अभियोगमा १ लाख रुपैयाँ जरिवाना गराइएको छ ।
महर्जनका अनुसार मनकामना दर्शन प्राइभेट लिमिटेडबाट म्याद नाघेको दुध जफ्त गर्नुका साथै दुई लाख १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनको क्रममा भरतपुरस्थित महानगर फलफूल तथा तरकारी बजारको ८ वटा पसलबाट १८ प्रकारको तरकारी र फलफूलको नमूना पनि संकलन गरिएको थियो । उक्त नमूना मोवाइल प्रयोगशाला भ्यानमा परीक्षण गर्दा मापदण्डभित्रै फेला परेको विभागले जनाएको छ ।
मापदण्डविपरित भेटिएका खानेतेल, घीउ, गुदपाक, नमकिनसहित विभिन्न खाद्य पदार्थ बरामद गरी नष्ट गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया