
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घाटन समारोहमा उनको ‘नाजी सल्युट’ देखिएको घटनादेखि अमेरिकी विकास एजेन्सी (यूएसएड) लाई ‘अपराधिक संगठन’ भनेर चिनाउने र ‘मर्नुपर्छ’ भन्ने उनको भनाइ र नयाँ सिर्जना गरिएको ‘सरकारी दक्षता विभाग (डोगे)’ को प्रमुखको रूपमा उत्साहपूर्वक लागू गरिएको विनाशकारी अर्थनीतिसम्म अर्बपतिसमेत रहेका एक्स(पूर्व ट्वीटर)का मालिक एलन मस्क अमेरिकी राजनीतिमा एक विनाशकारी शक्ति बन्न पुगेका छन् ।
तर मस्कको आत्ममुग्ध राजनीतिक महत्त्वकांक्षा अमेरिकाको सीमामा मात्र सीमित छैन । ट्रम्प र उनको दक्षिणपन्थी एमएजीए आन्दोलनलाई अमेरिकामा नियन्त्रणमा ल्याउन मद्दत पुर्याएपछि, उनले यसलाई विश्वभर दोहोर्याउने लक्ष्य राखेका छन् ।
दक्षिण अफ्रिकी मूलका मस्कले बेलायतमा दक्षिणपन्थीलाई उत्तेजित गर्ने र आफूअनुकूलका व्यक्तिहरूलाई सत्तामा स्थापित गर्न उनले ‘विश्व भ्रमण’ सुरु गरेका छन् ।
मस्कले गत वर्ष बेलायती दक्षिणपन्थीहरुलाई उच्च मद्दत गरेका छन्। इंग्लिश डिफेन्स लिगका सह-संस्थापक टोमी रोबिन्सन र रिफर्म पार्टीका नेता निगेल फारेजलाई उनले सहयोग गरे।
जनवरीको सुरुमा उनले फेरि ‘टोमी रोबिन्सनलाई मुक्त गर्नुहोस्!’ भनेर ट्विट गरे र बेलायती दक्षिणपन्थी नेताको विवादास्पद वृत्तचित्र ‘साइलेन्स्ड’ को लिंक सेयर गरे ।
यस वृत्तचित्रमा अमेरिकी दक्षिणपन्थी रेडियो होस्ट एलेक्स जोन्सको इन्फोवार्सद्वारा रिपोर्ट गरिएको छ । रोबिन्सनले गलत तरिकाले सिरियाली शरणार्थी विद्यार्थी जमाल हिजाजीले अंग्रेजी विद्यार्थीहरूलाई हिंसात्मक रूपमा आक्रमण गरेको र स्कूलमा एक केटालाई छुरा हान्ने धम्की दिएको दाबी गरेका थिए ।
रोबिन्सनले यस्तै दाबी सन् २०१८ मा योर्कशायरको स्कूलमा हिजाजीलाई पिटिएको भाइरल भिडियोको प्रतिक्रियामा गरेका थिए।
उनको फेसबुकमा १० लाखभन्दा बढीले उक्त भिडियो हेरेका र प्रतिक्रिया जनाएका थिए । यसको परिणामस्वरूप हिजाजीको परिवारमाथि हत्याका धम्कीहरू आइका थिए ।
पछि, अमेरिकाका दक्षिणपन्थी समूहहरूद्वारा आर्थिक लाभ लिएका रोबिन्सनले हिजाजीबाट मानहानीको मुद्दा झेल्नु परेको थियो । जसमा उनी पराजित भए । उनलाई अदालतले हिजाजीलाई १ लाख पाउन्ड क्षतिपूर्ति तिर्न, ५ लाख पाउन्डको कानूनी खर्च उठाउन र सिरियाली विद्यार्थीको बारेमा गलत दाबीहरू दोहोर्याउनबाट रोक्ने निषेधाज्ञा जारी गर्यो ।
‘साइलेन्स्ड’ वृत्तचित्र बनाएर उनले हिजाजीको बारेमा गलत दाबीहरू दोहोर्याउँदै जुलाईमा लन्डनको ट्राफलगर स्क्वायरमा उनले सार्वजनिक रूपमा प्रदर्शन गरे भने अनलाइन प्लेफर्महरुमा व्यापकरुपमा सेयर गरे । रोबिन्सनले निषेधाज्ञा उल्लंघन गरेपछि उनलाई अक्टोबरमा १८ महिना जेल सजाय सुनाइएको थियो ।
निश्चित रूपमा यी कुराहरू मस्कका रोबिन्सनबारेका आक्रोशपूर्ण टिप्पणीहरूमा समावेश हुँदैनन्।
बरु, उनले रोबिन्सन र हिजाजी मामिलालाई दुरुपयोग गरी दूरदक्षिणपन्थी नस्लीय धारणा फैलाउने प्रयास गर्छन् । विशेष गरी, गैरपश्चिमी देशको आप्रवासनले पश्चिमी महिलाहरू र युवतीहरुको लागि खतरा उत्पन्न गर्छ भन्ने विचार राख्छन् । साथै उनले यस बहानामा बेलायतको आन्तरिक राजनीतिलाई प्रभावित गर्ने कोसिस गर्ने गरेका छन् ।
मस्कलाई राम्रोसँग थाहा छ कि यो धारणा हालै बेलायतमा लोकप्रिय हुँदै गएको छ ।
गत गर्मीमा वेल्सका रवान्डेली मूलका एक व्यक्तिले नृत्य कक्षामा तीन किशोरीहरूलाई छुरी प्रहार गरी हत्या गरे । त्यसपछि बेलायतमा हिंसात्मक आप्रवासनविरोधी प्रदर्शनहरू र दंगा फैलियो । तर वास्तविक हिंसाको कारण अपराध आफैं होइन, बरु दक्षिणपन्थी समूह र रोबिन्सन जस्ता कार्यकर्ताले फैलाएको गलत सूचना थियो । उनीहरूले शंकास्पद व्यक्तिलाई ‘अल-शकाती’ नामका १७ वर्षीय शरणार्थी भनेर प्रचार गरेका थिए ।
बेलायतका केही सहरहरू जस्तै रोचडेल, रोथरह्याम र ओल्डह्याममा गोरा किशोरीहरू माथि भएको दुर्व्यवहारसँग जोडिएको एक दशक पुरानो ‘ग्रामिङ ग्याङ काण्ड’ मुख्य रूपमा पाकिस्तानी मूलका ब्रिटिश पुरुषहरूद्वारा गरिएको थियो । यो काण्डलाई मस्क र बेलायती दक्षिणपन्थीहरूले जातीयता र आप्रवासनबारे आफ्नो धारणा फैलाउने अवसरको रूपमा प्रयोग गरे ।
जब यो घटना पहिलो पटक सार्वजनिक भयो त्यतिबेला स्थानीय निकाय र सुरक्षाकर्मीले जातिवादी र इस्लामविरोधी हुने भएकाले लुकाउने प्रयास गरेको आरोप लगाइयो ।
तर, २०२२ मा ओल्डह्याम शहरमा गरिएको अनुसन्धानले यो घटनालाई लुकाउने काम नभएको निष्कर्ष निकाल्यो । अनुसन्धानले दक्षिणपन्थीहरुले मुख्य रूपमा पाकिस्तानी अपराधीहरूका ठूला सजायहरूलाई आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको पायो।
तर मस्कलाई यथार्थ र यसको जटिलतासँग कुनै चासो छैन । उनले ‘लुकाइएको’ कथालाई आफ्नो उद्देश्य अनुरूप उपयोग गरेर जनतालाई आप्रवासीविरुद्ध उभ्याउने गरेका छन् र त्यसैलाई निरन्तर फैलाइरहेका छन् ।
२००८ देखि २०१३ सम्म क्राउन प्रोसिक्युशन सेवा (सीपीएस)को नेतृत्व गरेका बेलायती प्रधानमन्त्री कीर स्टार्मर ‘ग्रूमिंग ग्याङहरू’ लाई प्रभावकारी ढंगले सम्बोधन गर्न असफल भएको मस्कले दाबी गरे ।
उनले ट्विट गरे: ‘स्टार्मर ६ वर्ष क्राउन प्रोसिक्युशन प्रमुख भएको बेलामा बेलायतको बलात्कारमा सहभागी थिए । स्टार्मर जानु पर्छ र बेलायतको इतिहासमा सबैभन्दा खराब सामूहिक अपराधमा उनको सहभागिताको लागि उनलाई मुद्दा चलाउनु पर्छ।’ उनले महिला र केटीहरू विरुद्ध हिंसा र सुरक्षाको लागि संसदीय उपमन्त्री जेस फिलिप्सलाई ‘बलात्कार नरसंहार समर्थक’ भने । मस्कले राजा चार्ल्स तृतीयलाई बेलायती संसद भङ्ग गरी नयाँ निर्वाचनको आदेश दिन आह्वान गर्दै धेरै पोष्टहरू पनि गरे ।
मस्कका ट्विटहरू र रोबिन्सन जस्ता व्यक्तिहरूप्रति उनको खुला समर्थनले बेलायतमा तत्काल परिवर्तन ल्याउन सक्दैन । तर उनी स्पष्ट रूपमा बेलायतमा दक्षिणपन्थी उदयको लागि मञ्च तयारी गर्दै छन्,’राजनीतिक र आर्थिक रूपमा ।
मस्कले उनको दक्षिणपन्थी विचारको समर्थनमा विश्वभ्रमण गरिरेहका छन् । त्यसको भागका रूपमा उनको जर्मनी भ्रमणलाई लिन सकिन्छ ।
प्रविधि उद्योगका महारथी र डोगे नेताले जर्मनीको दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी पार्टीलाई समर्थन गरेका छन् ।
डिसेम्बरको अन्त्यमा रूढिवादी समाचारपत्र वेल्ट एम सोन्टागमा प्रकाशित एक लेखमा मस्कले दक्षिणपन्थी पार्टीप्रति आफ्नो समर्थन सार्वजनिक गरेको र उक्त पार्टीलाई जर्मनीको ‘अन्तिम आशाको किरण’ भनेर चिनाएको उल्लेख छ ।
मस्कले पार्टीले आप्रवासनमा प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउँदा जर्मनहरूलाई सुरक्षित राख्न र त्यहाँको संस्कृतिलाई बचाउन सक्ने सुझाव दिए । उनले लेखे, ‘एउटा राष्ट्रले आफ्नो मूल मूल्यहरू र सांस्कृतिक विरासतलाई संरक्षण गर्नुपर्छ ताकि यो बलियो र एकजुट रहन सकोस् ।’
जनवरीको सुरुमा, मस्कले एएफडी नेता एलिस वेइडेलसँग एक्समा प्रत्यक्ष कुराकानी गरे । यसमा उनले ‘एफएडीले मात्र जर्मनीलाई बचाउन सक्छ’ भन्दै आप्रवासनले प्रेरित अपराधमा वृद्धि र ‘लैङ्गिक अध्ययन’ सहित ‘उदार शिक्षा प्रणाली’ ले जर्मनीलाई पीडित बनाएको दाबी गरेका थिए । त्यसक्रममा वेइडेलले हिटलर रूढिवादी वा स्वतन्त्रतावादी थिएनन् भनेर दाबी गरिन् । बरु उनी कम्युनिस्ट, समाजवादी भएको बताइन् ।
उनले मस्कलाई आफूलाई प्राथमिकता दिएकोमा धन्यवाद दिइन् ।
जनवरीको अन्त्यमा मस्कले जर्मनीको हालेमा एएफडी र्यालीमा भिडियो लिंकमार्फत सम्बोधन गरे । उपस्थित हजारौंलाई सम्बोधन गर्दै उनले फेरि दक्षिणपन्थी पार्टीलाई ‘जर्मनीको भविष्यको लागि उत्तम आशा’ भनेर घोषणा गरे । उनले जर्मनी ‘हजारौं वर्ष पुरानो राष्ट्र’ हो भनेर थपे र एएफडी समर्थकलाई देशको भविष्यको लागि ‘लड्न’ समेत आह्वान गरे ।
एएफडीको नवनाजी सम्बन्धहरूलाई संकेत गर्दै मस्कले जर्मनीले ‘अतितका नाजी अपराधहरूको लागि दोषी महसुस गर्ने’ बाट अगाडि बढ्नु पर्ने र जर्मनहरूले ‘जर्मन संस्कृति, जर्मन मूल्यहरूमा गर्व गर्नुपर्ने’ बताए ।
पार्टीलाई सार्वजनिक रूपमा समर्थन गरेका मस्कले यसका नेतालाई आफ्न चरमपन्थी एजेन्डा प्रचार गर्ने मञ्च प्रदान गरे ।
जसबाट मस्कले जर्मनीको फेब्रुअरी २३ को निर्वाचनमा एएफडीलाई ट्रम्प-शैलीको जित हासिल गर्न सहयोग गरिरहेको देखिन्छ।
ट्रम्पले अन्य धेरै देशहरूमा दक्षिणपन्थीलाई माथि पुग्न मद्दत गर्ने प्रयास गरिरहेका छन् ।
उनले इटालीको दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनीसँग नजिकको सम्बन्ध कायम गरेका छन् । उनीहरूले लर्ड अफ द रिङ्स र विदेशी द्वेषको लागि आपसमा प्रेम बाँड्छन् । उनले मेलोनीलाई ‘बाहिरभन्दा भित्र अझ सुन्दर’ भने । मेलोनीले मस्कलाई ‘एक प्रतिभाशाली’ भनेर चिनाइन् । मस्कले मेलोनी र ट्रम्पबीच बढ्दो सम्बन्धलाई सुविधाजनक बनाउन मद्दत गरेको सोच्नु अनुचित हुने छैन ।
युरोप बाहिर मस्कले अर्जेन्टिनाको राष्ट्रपति जाभिएर मिलेईको प्रशंसा गरेका छन् ।
मिलेईको ‘चेनस’ अर्थनीति उपायहरूले डोगेको लागि प्रेरणा दिएका छन् । मिलेई ट्रम्पको उद्घाटन समारोहमा पनि उपस्थित थिए ।
सेप्टेम्बरमा मस्कले एल साल्भाडोरका तानाशाह नायिब बुकेलेसँग भेट गरे । ग्याङ हिंसाविरुद्ध बुकेलेको अत्यधिक विवादास्पद ‘मानो दुरा’ वा ‘फलामे मुट्ठी’ नीति र उनको ठूला जेलहरूले विश्वव्यापी चर्चा बटुलेका छन् ।
अहिले ट्रम्प प्रशासनले बुकेलेको जेलहरूमा अपराधीहरूलाई राख्ने योजना बनाइरहेको समाचारहरु सार्वजनिक भएका छन् ।
बुकेलेले अमेरिकी जेलका लागि स्थान दिएर मद्दत गर्न इच्छुक रहेको बताएका थिए ।
‘शुल्क अमेरिकाको लागि अपेक्षाकृत कम तर हाम्रो लागि महत्वपूर्ण हुनेछ, जसले हाम्रो सम्पूर्ण जेल प्रणालीलाई टिकाउ बनाउँछ,’ उनले भनेका छन् ।
यस बीचमा, मस्कको दक्षिणपन्थी प्रभावले प्राण लिएको छ र उनले अहिलेसम्म भ्रमण गरेका वा केही भनेका देशहरूमा पनि यसको प्रभाव पार्न सुरु भएको छ ।
जस्तो उनले पोल्याण्डको राजनीति बारेमा केही पनि भनेका छैनन्। तर हालैको एक सर्वेक्षणले ४५ प्रतिशतभन्दा बढी मतदाताले अर्बपति मस्कले समर्थन गर्ने उम्मेदवारलाई मत दिने देखाएका छन्।
मस्कको विश्वव्यापी दक्षिणपन्थी क्रान्तिको प्रयास अहिले प्रारम्भिक चरणमा छ । उनका केही प्रयासहरुले काम गर्न सक्छ । तर, मस्कले धेरै देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सकेकोमा चिन्ता छ । आशा गरौं कि चाँडै नै मस्कको विश्वव्यापी प्रयासहरुविरुद्ध संयुक्त प्रतिरोध हुनेछ ।
(अलजजिरामा प्रकाशित रोस्किल्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विकास अध्ययनका सह-प्राध्यापक सोमदीप सेनको विचारको अनुवाद)
प्रतिक्रिया