
विराटनगर । सामान्यतया गाईको गोबर घरको शुद्धीकरणका लागि लिपपोत गर्न, बायोग्यास उत्पादन गर्न र जैविक मल बनाउन प्रयोग गरिन्छ । तर, सोही गोबरबाट विभिन्न धार्मिक सामग्री-भगवानका मूर्ति, दियो, लक्ष्मीका पाउ, श्रीयन्त्र, जलपात्र, माला, अगरबत्ती आदिसमेत बनाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।
हिन्दू धर्मअनुसार गाईलाई गौमाता मानिन्छ र यसको गोबर तथा गोमूत्रलाई पवित्र मानिन्छ । यही आस्था र विश्वासलाई आधार मानेर विराटनगर-५ बरगाछीकी ३२ वर्षीया बेबिना दाहालले गाईको गोबरबाट विभिन्न धार्मिक सामग्री उत्पादन गरेर बजारमा ल्याएकी छन् ।
नवप्रवर्तक उद्यमीका रूपमा बेबिनाले गोबरबाट भगवानका मूर्ति, दियो, श्रीयन्त्र, जलपात्र, लक्ष्मीका पाउ, माला, अगरबत्ती लगायत दर्जनभन्दा बढी धार्मिक सामग्री उत्पादन गरेर बजारमा ल्याएकी हुन् । ती सामग्री पटक–पटक प्रयोग गर्न मिल्ने र गोबरको कुनै दुर्गन्ध नआउने उनको दाबी छ ।

यी सामग्री पहिलो पटक बिक्रीका लागि उद्योग संगठन मोरङको आयोजनामा माघ १२ देखि सञ्चालित विराट एक्स्पो २०२५ मा राखिएको छ । प्रतिगोटा न्यूनतम १० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मूल्य पर्ने यी सामग्री एक्स्पोमा राखिएको स्टलमा उपलब्ध छन् । दैनिक ५–६ हजार रुपैयाँ बराबरको बिक्री भइरहेको उनी बताउँछिन् ।

गाईको गोबरबाट बनेका यी सामग्रीको उत्पादन तथा बजारीकरण गर्न उनले विराटनगर-५, दामबन्दीमा करिब ७ लाख रुपैयाँको लागतमा ‘उन्नत गोठ प्रालि’ कम्पनी खोलेकी छन् । यस कम्पनीमार्फत १० जना महिलाले रोजगारी पाएका छन् ।
बेबिनाले दूध नदिने गाईको संरक्षणका लागि गोबरबाट धार्मिक सामग्री उत्पादन सुरु गरेको बताइन् । ‘गाईले दूध दिँदासम्म राम्रै हेरचाह गरिन्छ तर दूध दिन छाडेपछि ती गाई बेसहारा बनाइन्छन्,’ उनले भनिन्, ‘त्यस्ता गाईको संरक्षणका लागि मैले गोबरबाट सामग्री उत्पादन थालेको हुँ ।’
उन्नत गोठ प्रालिले ‘गौमय’ ब्रान्ड स्थापना गरेर गाईको गोबर तथा गोमूत्रबाट विभिन्न सामग्री उत्पादन गर्दै वातावरण संरक्षणमा समेत योगदान पुर्याउने लक्ष्य राखेको छ ।

‘हामीले गाईको गोबर किन्ने अभियान थालेपछि दूध नदिने गाईलाई गाईधनीहरूले पनि राम्ररी घाँस खुवाउन थालेका छन्,’ उनले भनिन्।
गोबर संकलन अभियान
उन्नत गोठ प्रालिले गोबर संकलनका लागि विराटनगर-५ का ८ स्थानमा केन्द्र स्थापना गरेको छ । कम्पनीले गाईको गोबर प्रतिकिलो २/३ रुपैयाँमा किन्ने गरेको छ । हाल दैनिक ५० किलो गोबर संकलन भइरहेको उनी बताउँछिन् ।
‘उत्पादन थालेको एक सातामात्रै भएको छ तर माग अत्यधिक भएकाले हामीले गोबर संकलन केन्द्र थप्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।
बेबिनाका अनुसार गोबरबाट बनेका यी सामग्री पानीले गल्ने छैनन् र पटक–पटक प्रयोग गर्न सकिन्छ । ‘हाम्रो सामग्री नफुट्ने र वर्षौंसम्म टिक्ने हुन्छ,’ उनले दाबी गरिन् ।

बजारमा पूजाका लागि शुद्ध गोबर खोज्न कठिन हुने भएकाले कम्पनीले गोबरलाई धुलो बनाएर प्याकिङ गर्ने व्यवस्था पनि गरेको छ । ‘शहरका घरमा पूजा गर्दा शुद्धीकरणका लागि गोबर आवश्यक पर्छ । हामीले धुलो गोबर प्याकिङ गरी उपलब्ध गराएका छौं ।’
धुलो गोबरको मूल्य प्रतिएक पाउ २५ रुपैयाँ तोकिएको छ । ‘यो पानीमा मिसाएर लिपपोत गर्दा गोबरकै सुगन्ध आउँछ र वातावरण शुद्ध हुन्छ,’ उनले भनिन् ।
बेबिनाको यो नवप्रवर्तक उद्यममा उनका पति निश्चल अधिकारीले पनि साथ दिएका छन् । उनी ग्लोबल आइएमई बैंक विराटनगर शाखाका प्रबन्धकसमेत हुन् ।

‘बेबिनाको यो अनौठो सोच र व्यवसायिक यात्रा मलाई मन पर्यो,’ अधिकारीले भने, ‘उनलाई सहयोग गर्न पाउनु मेरो लागि खुसीको कुरा हो ।’
यस प्रकारका सामग्री निर्माण गर्न लोकल गाईको कसिलो गोबर बढी उपयुक्त हुने अधिकारीले बताए । ‘गाईलाई गोठमै राखेर दाना खुवाउँदा गोबर पातलो हुन्छ, जसबाट राम्रो सामग्री बन्दैन,’ उनले भने, ‘त्यसैले हामीले स्थानीय गाईको गोबरलाई प्राथमिकता दिएका छौं ।’

संकलित गोबरलाई राम्रोसँग टुसाएर साँचोमा राखेर विभिन्न सामग्री तयार गरिने उनी बताउँछन् । साथै, गोबरलाई धुलो बनाएर प्याकिङ गरी बजारमा पठाउने काम पनि भइरहेको छ ।
बेबिनाको उद्यमले धार्मिक आस्था, वातावरण संरक्षण, गाईको संरक्षण र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया