आम्दानी निरन्तर घटेपछि एनसेलले ऋण पनि घटायो
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको आम्दानी निरन्तर घट्दै गएको छ । आजियाटा ग्रुपको मुख्य लगानी रहेको एनसेलको बिजनेस निरन्तर घट्दै गएको छ ।
एनसेलले बजार हिस्सा गुमाउनुको साथै भ्वाइस कल घट्न थालेका कारण व्यापार घटेको हो । कम्पनीको बिनजेसमात्र घटेको छैन, नाफाको मार्जिन (प्रोफिट मार्जिन)मा पनि भारी गिरावट आएको छ ।
पछिल्लो ५ वर्षमा कुल आम्दानीको आधाभन्दा बढी प्रोफिट मार्जिन रहँदै आएकामा चालु आवमा पहिलोपल्ट यस्तो मार्जिन ५० प्रतिशतभन्दा कममा झरेको हो । कुल आम्दानीमा खर्चमात्र कटाएर अर्थात् ब्याज, कर र डिप्रिसियसन अघिको नाफालाई प्रोफिट मार्जिन भनिन्छ ।
एनसेल एक्जियटाको आम्दानी पछिल्लो ४ वर्षमा घट्दै गएको छ । कम्पनीको सन् २०२२ को तुलनामा सन् २०२३ मा र सन् २०२३ को तुलनामा सन् २०२४ मा घटेको हो । यसैगरी सन् २०२५ मा पनि आम्दानी घट्ने क्रमले निरन्तरता पाएको छ ।
सन् २०२२ मा ३९ अर्ब ७३ करोडको बिजनेस गरेको एनसेलले सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख र सन् २०२४ मा ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि ८ अर्ब ३० करोडको मात्र बिजनेस गरेकामा यही दरले वर्षभरी ३३ अर्बकोमात्र व्यवसाय गर्न सक्ने देखिन्छ ।
बिजनेसको आकार निरन्तर खुम्चँदा कम्पनीका लागि चिन्ताको अर्को पाटो हो, प्रोफिट मार्जिन । कुल आम्दानीको ५५ प्रतिशतसम्म सञ्चालन नाफा हुने गरेकामा चालु आवमा घटेर ४८ प्रतिशतमा झरेको छ ।
यता एनसेलले हाल करिब १२ अर्ब रुपैयाँ कर्जा लिएको देखिन्छ । गत आव अन्त्यमा कम्पनीले लिएको ऋणको आकार १३ अर्ब रुपैयाँ थियो ।
०००
एनसेलको बिजनेस र प्रोफिट मार्जिन घट्ने क्रम कम्पनी एक्लैको होइन । दूरसञ्चार उद्योगकै नाफा खस्किरहेकामा चालु आवको पहिलौ त्रैमासमा मार्जिन घटेको हो । एकातिर नाफा मार्जिन घट्ने र अर्कातिर मोबाइल सेवा सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्ने भएकाले आवश्यक कर्जाको ब्याज बढ्नाले कम्पनीलाई भार थपिएको छ ।
अर्कातर्फ कम्पनीको आम्दानी बजार हिस्सा ह्वात्तै घटेको छ । सन् २०२३ मा दूरसञ्चार सेवा प्रदायकको कुल आम्दानीमा एनसेलको हिस्सा ५३ प्रतिशत छ । सन् २०२० मा यस्तो हिस्सा ६१ प्रतिशत थियो । एनसेलको ग्राहक संख्या हिस्सा भने ३९ प्रतिशतमात्र छ । दुरसञ्चार सेवा प्रदायकबीच प्रतिस्पर्धा कुल आम्दानीमा मात्र नभएर प्रतिग्राहक आम्दानीमा पनि रहेका अवस्थामा एनसेल प्रतिस्पर्धीभन्दा केही माथि छ ।
यता सन् २०२४ सम्म कम्पनीलाई कुल ८६ अर्ब रुपैयाँ बराबरको आकस्मिक दायित्व सिर्जना भएको छ । जसमध्ये ५८ अर्ब रुपैयाँ टेलियासोनेराबाट स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको थियो । यता कम्पनीले सेयरधनीलाई उच्च प्रतिफल दिने क्रमलाई निरन्तरता पनि दिएको छ । कम्पनीले पछिल्लो ३ वर्षमा औसत ८३ प्रतिशतका दरले लाभांश दिएको छ ।
तर, सन् २०२४ को नाफा फिर्ता लैजाने (रिप्याट्रेसन) क्रममा भने केही समस्या सिर्जना भएको छ । सरकारले स्वीकृति नदिँदा रेनल्डले ६ अर्ब १६ करोड रुपैयाँ लाभांश लैजान पाएको छैन ।
एनसेलले लिएका सबै कर्जा २५ वर्षे लाइसेन्स सकिनु (२०२९ सेप्टेम्बर १)अघि नै फरफारक हुने किसिमका छन् ।
यता एनसेलका लागि चुनौतीको अर्का विषय हुन्, फोरजीमा नेपाल टेलिकमको राम्रो उपस्थिति र करका नाममा सिर्जना हुने आकस्मिक दायित्व ।
भ्वाइस र अन्तर्राष्ट्रिय कलको मात्रा घट्दा एनसेलको आम्दानी निकै प्रभावित भएको छ । तर, खर्च कटौती गर्दा मार्जिनमा केही राहत मिलेको छ । पछिल्लो तथ्यांकअनुसार भ्वाइसतर्फ कम्पनीको मार्केट सेयर ४९ प्रतिशत र डेटामा ५३ प्रतिशत रहेको छ ।
०००
सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापित कम्पनीले सन् २००५ मा नेपालमा दूरसञ्चार सेवा प्रदान गर्न थालेको हो । सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो । कम्पनीको ८० प्रतिशत स्वामित्व वेस्ट इन्डिजको रेनोल्ड होल्डिङको नाममा छ । बाँकी २० प्रतिशत स्वामित्व हिस्सा नेपाली कम्पनी सुनिभेरा भेन्चर्सको छ ।
युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले रेनोल्ड होल्डिङको स्वामित्व लिएपछि कम्पनीले सन् २०१० देखि ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको थियो । कम्पनीको नाम सन् २०१६ मा फेरिएर एनसेल प्रालि बन्यो ।
त्यसयता आजियाटा ग्रुपले रेनल्ड होल्डिङ किन्यो । त्यसपछि कम्पनीको नाम भयो, एनसेल आजियाटा लिमिटेड ।
हालै आजियाटाले रेनोल्डमा रहेको आफ्नो पूर्ण स्वामित्व बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको छ । स्पेक्ट्रलाइट नेपाली मुलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको हो । यो २०२३ को कुरा हो । यद्यपि नेपालको कानूनी अवरोधको कारण एनसेलको माउ कम्पनी स्पेक्ट्रलाइटको स्वामित्व हेरफेर प्रक्रिया सम्पन्न हुन सकेको छैन । यसर्थ, एनसेलको कम्पनी नाम अझ पनि एनसेल आजियाटा लिमिटेड नै छ ।
०००
यसैबीच एनसेल आजियाटाले कर्जा लिनका लागि गराउने रेटिङको रकम घटाएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन गरी कुल २२ अर्ब ६० रुपैयाँ ऋण लिन रेटिङ गराएको छ । कम्पनीले १० अर्ब ६० करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि गराएको रेटिङमा इक्राएनपी एलए रेटिङ पाएको छ भने १२ अर्ब रुपैयाँ अल्पकालीन कर्जाका लागि इक्राएनपी एवान रेटिङ पाएको छ ।
यसअघि कम्पनीले १५ अर्ब बराबरको दीर्घकालीन ऋणसहित कुल २७ अर्बको रेटिङ गराएको थियो ।
०००
एकातिर व्यवसायको आकार नै खुम्चिरहेको र अर्कातिर नाफाको मार्जिन पनि खुम्चिरहेको बेला सिंगापुरे व्यवसायी सतीशको प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शतीस सिंगापुरका प्रतिष्ठित व्यवसायी हुन् । एनसेलको स्वामित्व किनेर प्रवेश गरेका उनी हाल एनसेल सञ्चालक समिति अध्यक्ष हुन् ।
सिंगापुरमा लाल साहु डिस्ट्रिब्युसन स्थापना गरी उद्यमशीलतामा प्रवेश गरेका सतीश सिंगापुरमा आईटी वितरण उद्योगको चिनिएका व्यक्ति हुन् ।
४ वर्षमा लाल साहुको बिजेनस १३ देशमा फैलिएको छ ।
सतीश पछिल्लो १५ वर्ष दूरसञ्चार व्यवसायमा छन् । उनले सन् २००९ मा स्मार्ट आजियाटाको स्थापना गरेका थिए । त्यसयता एशिया, प्रशान्त तथा अफ्रिकामा दुरसञ्चार व्यवसायमा संलग्न छन् । यस्तै पछिल्लो समय उनले एनसेलको स्वामित्व किनेका छन्।