आर्थिक विकासका लागि अध्यादेशमार्फत कानुन संशोधन गरिएको हो : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको बताएका छन्।
आज नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग सङ्घको २५औँ वार्षिक साधारणसभामा मन्त्री लेखकले सरकारले स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको समेत उल्लेख गरे।
‘सरकारले अध्यादेशमार्फत शासकीय सुधार, उद्योग व्यवसायको सहज सञ्चालन र सुशासनसँग सम्बन्धित कानुन संशोधन गरेको छ,’ उनले भने।
मन्त्री लेखकले गैरआवासीय नेपालीको लगानीसम्बन्धी केही निर्णय समेत गरेको बताए। ‘सूचना प्रविधिको प्रयोग गरी सेवा निर्यातको सहजीकरणका लागि कानुन संशोधन गरिएको छ,’ उनले भने।
उक्त अध्यादेशले आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा नेपाल ल्याउनका लागि सहज हुने उनको भनाइ थियो।