प्रयागराजमा ४० करोडले दर्शन गर्ने अनुमान गरिएको महाकुम्भ हुँदै, नेपालबाट पनि पुग्छन् हजारौं दर्शनार्थी
काठमाडौं । भारतको उत्तर प्रदेशका रहेको प्रयागराजमा यसवर्ष महाकुम्भ मेला आयोजना हुँदैछ । गंगा, जमुना र सरस्वती तीनै नदीको संगमस्थल रहेको प्रयागराजमा महाकुम्भ मेला हुन लागेको हो । यो महाकुम्भ मेला १२ वर्षमा हुने गरेको छ ।
महाकुम्भ २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । यसपटक ४० करोडभन्दा धेरै दर्शनार्थीले मेलामा भाग लिने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस महाकुम्भलाई विश्वकै सबैभन्दा ठूलो सांस्कृतिक तथा धार्मिक समारोहका रूपमा हेर्ने गरिएको छ ।
महाकुम्भको समय र स्थान
महाकुम्भ हरेक १२ वर्षमा एक पटक आयोजना गरिन्छ । यो पटकको महाकुम्भ १३ जनवरी(पुस मसान्त) २०२५ मा सुरु भएर २६ फेब्रुअरीसम्म चल्नेछ ।
प्रयागराजलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले विशेष बनाउने उद्देश्यले मन्दिर, घाट, सडक, पार्क तथा पुलहरूको निर्माण र सौन्दर्यीकरण तीव्र रूपमा भइरहेको छ।
महाकुम्भमा १३ जनवरी अर्थात पौष पूर्णिमको दिनबाट शाही स्नानको सुरुवात हुने छ । त्यस्तै माघे संक्रान्तिका दिन पनि शाही स्नाको आयोजना गरिएको छ ।
त्यस्तै औषीको दिन, वसन्त पञ्चमी,अचला सप्ती,माघ पूर्णिमा र शिवरात्रीको दिन पनि शाही स्थान हुने छ ।
कुम्भ मेला ४ स्थानमा हुने गरेको छ । हरिद्वार, प्रायगराज, नासिक, उज्जैनमा कुम्भ आयोजना हुने गरेको छ ।
हरिद्वारमा: सूर्य मेष राशि र बृहस्पति कुम्भ राशिमा हुँदा हुन्छ । तब हरिद्वारमा महाकुंभ मेलाको आयोजना हुने गरेको छ ।
प्रयागराज: बृहस्पति वृष राशिमा र सूर्य मकर राशिमा भएको बेला यहाँ महाकुम्भ मेला हुने गरेको छ ।
नासिक: सूर्य र बृहस्पति सिंह राशिमा भएको बेला यहाँ कुम्भ मेला हुने छ ।
उज्जैन: उज्जैनमा आयोजना हुने कुम्भलाई सिंहस्थ भनिन्छ । बृहस्पति सिंह राशिमा र सूर्य मेष राशिमा हुँदा उज्जैनमा महाकुम्भ मेलाको आयोजना हुने छ ।
कुम्भको आयोजन कहिलेदेखि शुरू भयो भन्ने विषयमा कसैले पनि सुनिश्चित रूपमा केही भन्न सक्दैन । यसको विशेष प्राचीन शास्त्रीय सन्दर्भ पाइँदैन । एक पौराणिक सन्दर्भमा ग्रहहरूको विशेष स्थिति हुँदा मात्र कुम्भ आयोजना हुने संकेत पाइन्छ । स्कन्द पुराणमा उल्लेख छ:
चन्द्रः प्रश्रवणाद्रक्षां, सूर्यो विस्फोटनाद्दधौ।
दैत्येभ्यश्च गुरु रक्षां, सौरिंर्देवेन्द्रजाद् भयात्।।
सूर्येन्दुगुरूसंयोगस्य, यद्राशौ यत्र वत्सरे।
सुधाकुम्भप्लवे भूमौ, कुम्भो भवति नान्यथा।।
अर्थात्, अमृत भरिएको कुम्भ अर्थात् घैंटोका लागि देवता र दैत्यबीच संघर्ष हुँदा चन्द्रमाले कुम्भबाट अमृत छचल्किन दिएनन् र कुम्भ फुट्नबाट पनि बचाए । देवगुरु बृहस्पतिले दैत्यबाट यसको रक्षा गरे अनि शनिले इन्द्रपुत्र जयन्तको हातबाट यसलाई खस्न दिएनन् । त्यसैले देवता र दैत्यको लडाईंमा जुन जुन ठाउँमा र जुन जुन दिन अमृतको कुम्भ छचल्कियो, तिनै तिनै स्थानमा तिनै तिनै तिथिमा कुम्भपर्व आयोजना गरिन्छ ।
कुम्भको आयोजन राजा हर्षवर्द्धनको राज्यकाल (६६४ ईसापूर्व) मा प्रारम्भ भएको मानिन्छ । प्रसिद्ध चिनियाँ यात्री ह्वेङसाङले भारत यात्रामा कुम्भ मेला आयोजनको चर्चा गरेका छन् ।
साथै उनले राजा हर्षवर्द्धनको दानवीरताको चर्चा पनि गरेका छन् । ह्वेङसाङका अनुसार, राजा हर्षवरद्धन हरेक पाँच वर्षमा नदीहरूको संगममा एक ठूलो आयोजना गर्थे जसमा उनले राज्यकोष गरीब र धार्मिक मानिसलाई दान दिनमा खर्च गर्थे ।
ड्रोन शो र विशेष कार्यक्रमहरू
महाकुम्भको प्रमुख आकर्षणका रूपमा पहिलो पटक ड्रोन शो आयोजना गरिने भएको छ । यसमा २ हजारभन्दा बढी ड्रोनले समुद्र मन्थन र अमृत कलशको कथा आकाशमा प्रस्तुत गर्नेछन् ।
यसबाहेक, फ्लोटिंग रेस्टुरेन्ट, हट एयर बेलुन, वाटर एक्टिभिटी, र लेजर लाइट शोले पनि महाकुम्भमा आउने भक्तजन र पर्यटकहरूको ध्यान आकर्षित गर्नेछन् ।
नेपालबाट श्रद्धालुहरूको सहभागिता
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको कारण महाकुम्भमा नेपाली श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति हुने अपेक्षा गरिएको छ । नेपालका विभिन्न धार्मिक संघ-संस्थाहरूले ५० हजारभन्दा बढी नेपालीहरूले यसपटकको महाकुम्भमा सहभागी हुने अनुमान गरेका छन् । नेपाल बाहेक अन्यदेशका हिन्दूहरु पनि मेलामा सहभागी हुने अपेक्षा गरिएको छ । यसअघिका कुम्भमेला र शाही स्नानमा सहभागी हुन नेपालका विशिष्ट व्यक्तिलाई पनि निम्ता हुने गरेको थियो ।
महाकुम्भ २०२५ ले भारतीय अर्थतन्त्रमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ। यो महाकुम्भले पर्यटन, यातायात, होटल र अन्य सेवाहरूमा ठूलो आर्थिक गतिविधि गर्ने अपेक्षा गरिएको छ । यो महाकुम्भमा १ लाख करोड भारतीय रुपैयाँको आर्थिक गतिविधि हुने अनुमान गरिएको छ ।