नेपालकै सबैभन्दा सेतो र पानी नसोस्ने टायल लेमिनारले गरायो सवा ३ अर्ब ऋणको रेटिङ
काठमाडौं । देशकै पहिलो भिट्रिफाइड टायल उत्पादक कम्पनी लुम्बिनी सेरामिक्सलाई अनुभवी संस्थापक र संरक्षित बजारको लाभ मिल्ने भएको छ । ४ अर्ब रुपैयाँ लागतमा स्थापित यो उद्योगमा मंगलम ग्रुपमा आवद्ध अनुभवी व्यक्तित्वहरुको लगानी रहेकाले सुरुवाती दिनमा खासै समस्या नहुने देखिएको हो ।
करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा लेमानार ब्रान्डमा टायल उत्पादन गर्दै आएको कम्पनीलका लगानीकर्तामा सीभीपीसी पाइप, पानी ट्यांकी उत्पादनको अनुभव छ । यसैगरी उनीहरुमा सेनिटरी, बाथरुम र प्लम्बिङ एसेसोरिजलगायत हार्डवेयरको आयात तथा वितरण पनि गरिसकेकाले सोही अनुसार अनुभव छ । सुरुवाती दिनमा उनीहरुको यो अनुभवले कुसन मिल्नेछ ।
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ (०.०८ प्रतिशतमात्र पानी सोस्ने) लेमिनार टायल प्रतिस्र्धीभन्दा उच्चकोटीको हो । देशकै कान्छो, ठूलो र अत्याधुनिक यो उद्योग २०८१ भदौ १ गतेदेखि सञ्चालनमा आएको हो ।
यता आयातित टायलको तुलानामा आन्तरिक उत्पादनका टायल निकै सस्ता पर्छन् । देशले टायल आयातमा ४० प्रतिशत उच्च भन्सार लगाएको छ । टायलको कच्चा सामाग्रीमा ५ प्रतिशतमात्र ट्यारिफ लाग्ने भएकाले लेमिनारलाई प्रतिस्पर्धा गर्न सजिलो छ । नेपाल टायल उद्योग स्थापना भएसँगै सरकारले भन्सार महसुल बढाएको हो ।
यसैगरी देशमा सहरीकरण बढ्नु टायल उद्योगका लागि सकारात्मक वातावरण बनेको अर्थ दिन्छ ।
यसकारण देशको एकमात्र भिट्रिफाइड टायल कम्पनीलाई बजारमा उल्लेख्य हिस्सा ओगट्न निकै नै सजिलो हुने मानिएको हो । लुम्बिनी सेरामिक्स सन् २०१९ मा निजी कम्पनीका रुपमा स्थापना भएर सन् २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीले ग्लेज्ड भिट्रिफाइड फ्लोरिंग र टायलको उत्पादन गर्नेछ ।
लुम्बिनी सेरामिक्समा कम्पनीका अध्यक्ष सुब्रत धितालको १८.४ प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको सञ्चालकहरु श्याम सुन्दर खेतान, आशुतोष खेतान, सिन्नी खेतान, शशी चुरिवाल र सिर्जन अर्याल छन् ।
गुलरियामा रहेको लेमिनारको कारखानाबाट वार्षिक ४ करोड १० लाख वर्ग फिट टायल उत्पादन गर्ने क्षमता छ । नेपालको पहिलो र एकमात्र सतप्रतिशत भिट्रिफाइड टायल ब्रान्ड लेमिनार अहिले घरको भित्ता र भुइँ सजावट गर्न पहिलो रोजाइमा पर्ने कम्पनी हो ।
लेमिनार उत्पादनमा आएको केही हप्तामै आईएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै पहिलो कम्पनी बन्न सफल भएको थियो, लुम्बिनी सेरामिक्स ।
करिब ५०० वटा भन्दा बढी आकर्षक डिजाइनमा कम्पनीले चारवटा आकारका टायल उत्पादन गर्दछ । करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।
लुम्बिनीले ३ अर्ब १८ करोड रुपैयाँ ऋणका लागि पुनः रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालबाट कम्पनीले २ अर्ब ५० करोड रुपैयाँको दीर्घकालिन ऋणका लागि इक्रा एनबी एलबी प्लस र ६८ करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि कम्पनीलले इक्राएनपी एफोर रेटिङ पाएको छ । कम्पनीले यसअघि पनि सोही ऋणका लागि रेटिङ गराएकामा यस्तै रेटिङ पाएको थियो ।