सन् २०२५ ले टेक्नोलोजी क्षेत्रमा ल्याउने प्रभावः सिक्सजी दौडिने, एआईबाटै होला सबै काम ?



काठमाडौं । नयाँ वर्ष सन् २०२५ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेक्नोलोजी क्षेत्रले नयाँ उचाइ हासिल गर्ने विश्लेषण गरिएको हो ।

अमेरिकाको आईटी कम्पनी गार्टनरले जारी गरेको २०२५ को लागि टप टेक्नोलोजी ट्रेन्डसम्बन्धि सूचीमा एजेन्टिक एआईदेखि न्यूरोलोजी इनोभेसनसम्मलाई सामेल गरिएको छ ।

सो प्रतिवेदन अनुसार प्रविधिमा आउने नवीनताले सन् २०२५ मा ठूलो क्रान्ति ल्याउनेछ भने कृत्रिम वौद्धिकता (एआई)ले जीवन सहज बनाउनेछ ।

कृत्रिम वौद्धिकताले सन् २०२४ मै विश्वभर हलचल मचाइसकेको छ । तर यो प्रविधि सन् २०२५ मा भने अझै परिस्कृत र भरपर्दो रुपमा आउने छ । अझै रचनात्मक र समाधान मैत्री रुपमा एआई प्रविधि आउने छ ।

एआईको सहयोगमा विभिन्न उपकरणका साथै वैज्ञानिक अनुसन्धान, डेटा विश्लेषण, इन्जिनियरिङ, स्वास्थ्य क्षेत्रमा भएका कठिन समस्या पनि समाधान गर्ने तयारी भइरहेको छ ।

सिक्सजी सँगै उच्च स्पिडको कनेक्टीभिटी
सन् २०२५ मा टेक्नोलोजी क्षेत्रमध्ये इन्टरनेट सेवाले पनि नयाँ छलाङ मार्नेछ । अहिले विश्वभर इन्टरनेट क्षेत्रमा फाइभ जी प्रविधि सञ्चालनमा छ । तर वैज्ञानिकले यसअघि नै तयार पारिसकेको उच्च गतिको सिक्सजी प्रविधि पनि सन् २०२५ मा औपचारिक रुपमा विश्वभर सञ्चालनमा आउन लागेको छ । सिक्सजी फाइभजीको तुलनामा सय गुणा बढी गतियुक्त इन्टरनेट प्रविधि हो ।

कम्प्युटर प्रणाली पनि परिस्कृत हुने
सन् २०२५ मा कम्प्युटर प्रणालीमा पनि उल्लेख्य परिवर्तन हुनेछ । अमेरिकाले कम्प्युटर प्रणालीअन्तर्गत क्वान्टम प्रविधिमा क्रान्तिकारी परिवर्तन हुने बताएको छ । जसअनुसार आगामी समयमा कम्प्युटर प्रणाली महत्त्वपूर्ण विषयमा सहयोग गर्नुका साथै अनुसन्धान, वित्त र वन्दोवस्तीको विषयमा पनि सहयोग गर्न सक्षम हुनेछ ।

क्लाउडमा आधारित क्वान्टम कम्प्युटर प्रणालीले आगामी समयमा हाम्रो काम गराई र जीवनशैलीमा ठूलो प्रभाव पार्ने बताइएको छ । विज्ञहरुका अनुसार आगामी समयमा जलवायु परिवर्तन तथा मोडलिङ, भौतिक खोज, जिनोमिक्स, स्वच्छ ऊर्जा र इन्क्रिप्सन सहितको विभिन्न क्षेत्रमा क्रान्तिकारी परिवर्तन हुनेछ ।

स्वास्थ्य क्षेत्र पनि परिस्कृत
कम्प्युटर प्रणालीले सन् २०२५ मा स्वास्थ्य क्षेत्रमा पनि ठूलो प्रभाव पार्नेछ । जसअनुसार जीनोमिक प्रविधि र डेटामा आधारित स्वास्थ्य सेवामा क्रान्तिकारी विकास हुनेछ ।

वेयरेबल हेल्थ प्रविधि र एआईको सहयोगमा पुरानो र पुरानो तथा अत्यन्त जटिल रोगलाई पहिचान गर्न र उपचारको विषयमा जानकारी दिन सक्षम हुनेछ । यो प्रविधि रियल टाइम स्वास्थ्यस्थितिमा आधारित हुनेछ ।

अन्तरिक्ष अन्वेषण क्षेत्रमा पनि नयाँ चमत्कार हुने
रिपोर्टहरुका अनुसार सन् २०२५ अन्तरिक्ष अन्वेषणको मानेमा पनि नौलौ हुने बताइएको छ । आगामी समयमा स्पेस एक्स, ब्लु ओरिजिन जस्ता अन्तर्राष्ट्रिय कम्पनीले अन्तरिक्षमा उच्चस्तरीय उडान भर्नुका साथै चन्द्रमामा पर्यटकलाई घुमाउन लैजानेसम्मको गृहकार्य हुँदैछ । यसका साथै मंगल ग्रहसम्बन्धी अनुसन्धानलाई पनि थप अगाडी बढाइनेछ ।

मेटाभर्स अझै परिस्कृत हुने
सन् २०२५ मा शिक्षा, सहयोग र मनोरञ्जनको क्षेत्रमा मेटाभर्सको क्षमता अझै परिस्कृत हुने बताइएको छ । भर्चुअल र वास्ताविक प्रविधिको क्षेत्रमा अझै परिस्कृत हुने सम्भावना छ । यसको सहयोगमा संसारभरको भर्चुअल मनोरञ्जनस्थल र ऐतिहासिक स्थलको खोज र प्रत्यक्ष रुपमा अनुभव पनि गर्न सकिनेछ ।

स्वच्छ ऊर्जामा नौलो प्रयोग
सन् २०२५ मा विद्युतीय सवारी साधन(ईभी) को क्षेत्रमा पनि नौलो प्रयोग हुने बताइएको छ । आगामी समयमा ईभीमा प्रयोग हुने ब्याट्री सोलिड स्टेट प्रविधिमा आधारित हुनेछ । जसले लामो दूरी यात्रा र लामो समयसम्म चार्ज टिक्न सहयोग प्रदान गर्नेछ ।

कुनै समय कल्पना मात्रै गरिएको अटोनोमस सवारी साधन अब वास्तविक हुन गइरहेको छ ।

पानीको व्यवस्थापन
२०२५ मा एआईकै सहयोगमा पानीको व्यवस्थापन पनि गर्न सम्भव हुनेछ । रिर्पोटहरुका अनुसार एआई प्रविधिको सहयोगमा कृषि र सहरी क्षेत्रमा पानीको उपलब्धतासम्बन्धि समस्या पनि समाधान गर्न क्रान्तिकारी प्रविधि आउनेछ ।


क्लिकमान्डु