बीआरआई सम्झौता: प्रधानमन्त्री ओलीको गृहजिल्लामै दुई ठूला योजना
काठमाडौं । नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौतामा झापा जिल्लामा मात्रै दुई महत्त्वाकांक्षी परियोजना परेका छन् ।
प्रधानमन्त्री केपी ओलीको चुनावी क्षेत्र रहेको झापामा ‘झापा स्पोर्ट्स तथा एथलेटिक्स कम्प्लेक्स’ योजना र ‘चाइना-नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ स्थापना गरिने बताइएको छ ।
बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो । जस अनुसार चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क स्थापना गरिने भएको हो । जुन पार्क दमकमा स्थापना गरिने उल्लेख छ । उक्त पार्कले पूर्वी नेपालको बजार र अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
पार्क प्रोजेक्टको पीडीएका लागि दुबै पक्ष सहमत भएको फ्रेमवर्क सम्झौताको पूर्णपाठमा उल्लेख छ ।
यसैगरी सम्झौताको १०औं नम्बरमा झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स अन्तर्गत अत्याधुनिक आर्ट स्टेडियम निर्माण हुने बताइएको छ । उक्त योजना अन्तर्गत खेलका लागि अत्याधुनिक रंगशाला साथै अत्याधुनिक पूर्वाधार तथा तालिम उपलब्ध हुनेछ।
यस योजनालाई वहुउद्देश्यीय योजना पनि भनिएको छ । फुटबल, क्रिकेट लगायतका विभिन्न खेलका लागि संरचना निर्माण गर्दै तालिम पनि उपलब्ध गरिने उक्त सटेडियम अन्तर्राष्ट्रिय स्तरको हुनेछ । सथै यस संरचनाले युवालाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्नुका साथै अन्तर्राष्ट्रियसहित स्थानीय, क्षेत्रीय र राष्ट्रिय खेल इभेन्ट आयोजना गर्ने अपेक्षा गरिएको छ ।