अमेजनको अवैध सुनखानीमा मौलाएको यौनधन्धा



एजेन्सी । अमेजन जंगल संसारभर सुनिएकै नाम हो । जहाँ वर्षौंदेखि अवैध रुपमा सुन उत्खनन र व्यापार हुँदैआएको छ । उत्तरी ब्राजिलको राज्य इताइतुबालाई अवैध सुन उत्खनन ब्यापारको मेन्द्र नै मानिन्छ । जहाँबाट ठूलो मात्रामा सुन उत्खनन र ब्यापार हुनेगरेको छ ।

यो क्षेत्र सुन उत्खननको लागि त चर्चित छ नै, महिलाहरुले सुनका लागि देहब्यापार गर्ने प्रवृत्तिले पनि यो ठाउँ चिनिन थालेको छ । बीबीसीमा प्रकाशित एक रिपोर्ट अनुसार ब्राजिलियन महिलाहरु अमेजनको यस क्षेत्रमा सुनका लागि आफ्नो देह ब्यापार गरिरहेका छन् । अर्थात् उनीहरु सुनको लागि यौन धन्धामा लागिरहेका छन् ।

यस क्रममा कैयौं महिलाहरु यौन शोषण तथा आक्रमणको शिकार बन्ने गरेका छन् भने कतिपय महिलाहरुको हत्या समेत हुने गरेको समाचारमा उल्लेख छ । समाचारमा उल्लेख भए अनुसार यौन धन्धाकै बीच यही खानी क्षेत्रमा जन्मिएर यहीँ हुर्किएका महिलाहरु पनि फेरि यौन धन्धामै संलग्न रहेका पनि छन् ।

समाचारमा डाएने लिएटेको भोगाइ र संघर्ष पनि समेटिएको छ । जहाँ उनी पहिले यौनकर्मी बन्न नचाहेको तर बाध्यतावश यस क्षेत्रमा लागेको बताएकी छन् । १७ वर्षको उमेरमा उनका पतिको मृत्यु भएपछि बाध्य भएर साथीको सल्लाहमा यौन धन्धामा लागेको डाएनेको अनुभव छ । उनले खानी क्षेत्रमा खानी उत्खनन गर्ने मानिसहरुका लागि खाना बनाउने, सरसफाइ जस्ता काम गर्दै क्रमश:यौनकर्ममा लाग्न बाध्य भइन् ।

यस क्षेत्रमा यौनकर्मीको रुपमा काम गर्ने महिलाहरुको संख्या यकिन छैन । तर यस्ता महिलाहरु हजारौं छन् । नातालिया कबलकान्टे २४ वर्षको उमेरमा यौनकर्ममा लागेकी थिइन् । यस क्षेत्रमा यसरी यौनकर्ममा लाग्नु सामान्यजस्तै भइसकेको उनले बताएकी छन् । उनी भन्छिन्, ‘सहरका सबै महिलाहरु यस्तो काममा लागेका छन् भनेर त भन्न मिल्दैन । तर यौनकर्मीको रुपमा काम गर्ने महिलाहरुको संख्या कम छैन ।’

यसबीचमा यौनकर्ममा लागेको ४ वर्षपछि मालिकसँग विवाह गरिन् र त्यसपछि उनी एक वेश्यालयको मालिक बनिन् । यो क्षेत्र अति दुर्गम पनि छ । वर्षायाममा यस क्षेत्रमा पुग्न निकै कठिन हुन्छ । जहाँको बाटो धुलाम्मे छ । एउटा चर्च र रक्सी भट्टी पनि छ । तर उत्खनन गर्नेहरु गाउँबाहिर काठले बनेका झुपडीहरुमा बस्छन् । जहाँ महिलाहरु खाना बनाउँछन्, कपडा धोइदिन्छन् र पुरुषहरुसँग रात बिताउन पनि उनीहरु बाध्य हुन्छन् ।

नातालियाका अनुसार उत्खननकर्मी पुरुषहरु सुन संकलन गरेपछि मात्रै गाउँमा आउँछन् । ब्राजिलको कानुन अनुसार वेश्यालय सञ्चालन गर्नु गैरकानुनी मानिन्छ । यहाँ उत्खननबाट पर्यावरणमा हुने असरबारे धेरैलाई जानकारी छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सुनखानी क्षेत्रमा महिला हिंसा, शारीरिक शोषण र तस्करी जस्ता गतिविधि पनि हुने गरेका छन् । तर यहाँको महिलाहरु यौनधन्धामा लाग्न बाध्य भएको विषयमा भने कमै मात्र बहस हुने गरेको छ । पुरुषहरु भने सुन उत्खनन गरेर ल्याउँछन् र महिलाहरुलाई दिन्छन् । त्यसवापत महिलाहरु ती उत्खननकर्मीहरुको इच्छाअनुसार यौन सम्बन्ध राख्नुपर्ने हुन्छ ।

ब्राजिलको सुन क्यानडा, स्विजरल्यान्ड र बेलायतमा सबैभन्दा धेरै निर्यात हुने गरेको छ । युरोपमा निर्यात हुने समग्र सुनको ९० प्रतिशतभन्दा धेरै अवैध उत्खनन क्षेत्रबाटै संकलन गरिएको इन्स्टिच्युटो इस्कोहल्स थिंकट्यांकले जनाएको छ ।


क्लिकमान्डु