जनसंख्या बढाउन कलेजमा ‘प्रेम शिक्षा’ पढाउने चीनको तयारी
एजेन्सी । चीनमा लगातार जनसंख्या गिरावट हुन थालेपछि युवाहरुलाई सन्तान उत्पादनका लागि सरकारले प्रोत्साहन स्वरुप विभिन्न योजनाहरु ल्याएको छ । युवाहरुलाई प्रेम र विवाहका लागि प्रोत्साहन गर्दै चीन सरकारले विभिन्न योजना ल्याएको हो ।
चीनको जनसंख्या हाल करिब १ अर्ब ४० करवड छ । विश्वकै सबैभन्दा धेरैजनसंख्या भएको देशमध्ये चीन पनि एक हो । जबकि पछिल्लो समय भारतले चीनलाई जनसंख्यामा उछिनेको छ । यससँगै चीनमा ज्येष्ठ नागरिकहरुको संख्या बढ्नुका साथै नयाँ सन्तान उत्पादनमा मन्दी आउँदा चीन सरकारलाई जनसंख्या बढाउने चुनौती पनि थपिएको छ ।
यसवाहेक ज्येष्ठ नागरिकको संख्या बढिरहँदा सरकार र सिंगो देशको अर्थव्यवस्थालाई नै खर्चको पनि दबाब बढिरहेको छ । कुनै देशलाई शक्तिशाली बनाउन त्यस देशको जनसंख्याले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । चीन र भारत यसकै उदाहरण हुन् । तर चीनमा पछिल्लो २ वर्षमा जनसंख्या ह्वात्तै घट्दा चीन सरकारलाई एक चुनौनी बनेको छ ।
विवाहबाट टाढा चिनियाँ युवाहरु
कलेजका युवाहरु प्रजनन क्षमताको रुपमा सबैभन्दा सक्रिय हुन्छन् । तर चिनियाँ युवाहरुमा पछिल्लो समय विवाह र प्रेमलाई लिएर आफ्नो विचार परिवर्तन गरिरहेको बताइन्छ । यसबारे जियाङसु सिन्ह्वा न्युज पेपरले पनि सामग्री तयार पारेको छ । जहाँ भनिएको छ, ‘कलेज तथा विश्वविद्यालयले विवाह र प्रेम शिक्षा पाठ्यक्रम ल्याएर कलेजका छात्रछात्राहरुला विवाह र प्रेमको विषयमा पढाउनुपर्छ ।’
स्वास्थ्य र सकारात्मक विवाह तथा विवाह र सन्तान जन्माउनका लागि एक उत्तम सांस्कृतिक माहोल बनाउनु यी पहलको लक्ष्य हो । राज्य परिषदले यही वर्ष नोभेम्बरमा स्थानीय सरकारसँग मिलेर देशमा जनसंख्या गिरावट समस्या समाधानका लागि उपाय निकालेको थियो ।
स्थानीय सरकारहरुले युवाहरुलाई उचित उमेरमा विवाह र सन्तान जन्माउन प्रेरित गर्दै सम्मानका योजना पनि ल्याए । साथै कतिपय स्थानीय सरकारले उचित उमेरमा विवाह गर्ने र सन्तान जन्माउने जोडीलाई आर्थिक सहायता तथा पुरस्कार पनि दिने घोषणा गरेका छन् । यद्यपि जनसंख्याविदहरुले भने यस्ता कदमबाट जनसंख्याको सन्तुलन कायम हुने सम्भावना नरहेको बताएका छन् ।
रोमान्टिक सम्बन्धप्रति उदासिन युवा
चाइना पपुलेसन न्युजको एक सर्वेक्षण अनुसार लगभग ५७ प्रतिशत कलेज क्षात्रक्षात्राहरुले आफू प्रेममा जोडिन नचाहेको प्रतिक्रिया दिएका छन् । प्रेम र पढाइको बीच सन्तुलन बनाउन समय नै मिलाउन कठिन हुने उनीहरुको तर्क छ ।
‘व्यवस्थित र वैज्ञानिक विवाह र प्रेम शिक्षाको कमीका कारण कलेजका विद्यार्थीहरुले भावनात्मक सम्बन्धलाई बुझ्न सकिरहेका छैनन्,’ जियाङसु सिन्ह्वा न्युज पेपरको समाचारमा उल्लेख छ । जहाँ भनिएको छ विश्वविद्यालयका जुनियर कलेजका विद्यार्थीहरुलाई जनसंख्या र राष्ट्रिय परिस्थिति, नयाँ विवाह र सन्ता जन्माउने बारे अवधारणा अध्ययन गराउने विषयमा ध्यान केन्द्रित गर्न सकिन्छ ।
जवकि सिनियर कलेजका विद्यार्थीहरु ग्र्याजुएसनका विद्यार्थीहरु जनसंख्यालाई लिएर केस स्टडी, ग्रुप डिस्कसन र सम्बन्ध बनाउने विषयमा पढाइ गर्न सकिने बताइएको छ । उक्त कोर्सले विवाह र प्रेमलाई सही ढंगमा बुझाउन सकिने र प्रेम सम्बन्धप्रति सकारात्मक सोच विकास गर्न मद्दत गर्ने पनि बताइएको छ ।
चीन ठूलो जनसंख्या भएको देश भए पनि सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरु रहेको देश पनि हो । अर्थात् यहाँ बुढ्यौली बढ्दै गरेको जनसंख्या धेरै छ । जुन कुरा चीनका लागि चुनौती बनिरहेको बताइन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २०४० सम्म चीनमा ६० वर्षभन्दा धेरै उमेर भएको जनसंख्या २८ प्रतिशतभन्दा धेरै हुनेछ । बुढ्यौली जनसंख्या यति ठूलो हुनु चीनका लागि चुनौती बनिरहेको छ । जसले पेन्सनको रुपमा खर्च बढ्ने स्वभाविक समस्या आउने देखिन्छ । यस्तै सम्भावित समस्या समाधानका लागि चीनले पेन्सन पाउने उमेर पनि बढाएको छ ।