५० वर्षे एकतन्त्रीय शासन ढलेपछि सिरियाली नेता भागेर रुस पुगे



एजेन्सी । अलेप्पो, हमा र होम्स सहरपछि राजधानी दमास्कसलाई इस्लामी चरमपन्थी विद्रोहीले कब्जा गरेपछि देश छाडेर भागेका सिरियाली राष्ट्रपति बसर अल असद रुसको मस्को पुगेका छन् । विद्रोही समूहले भने असद देश छाडेर भागेसँगै अब सिरिया मुक्त भएको बताइरहेका छन् ।

डिसेम्बर ८ मा विद्रोहीले सिरियाको राजधानीसहित प्रमुख सहरहरु कब्जा गरेसँगै सिरिया यतिबेला विश्वभर चर्चाको विषय बनिरहेको छ ।

यसबीचमा सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले भने उनको सरकार चरमपन्थी समूहसँग मिलेर सरकार बनाउन तयार रहेको बताएका छन् ।

यससँगै इरानको विदेश मन्त्रालयले सिरियाको राजधानी दमास्कसमाथि विद्रोहीले कब्जा गरेपछि विज्ञप्ति जारी गर्दै यस विषयमा प्रतिक्रिया दिनुअघि इरानले छिमेकीहरुसँग कुराकानी गर्ने जनाएको थियो ।

प्रेस टिभीका अनुसार इरानले सिरियाली जनताले मात्रै विनाशकारी विदेशी हस्तक्षेपबिना देशको भविष्यको फैसला गर्न सक्ने प्रतिक्रिया दिएको छ ।

साथै इरानले चाँडो भन्दा चाँडो सैन्य संघर्ष अन्त्य गर्न जरुरी रहेको जनाएको छ । साथै आतंककारी कारबाही रोक्न र सिरियाली समुदायको सबै पक्षसँग मिलेर राष्ट्रिय स्तरमा संवाद गर्न पनि जरुरी रहेको इरानको प्रतिक्रिया छ ।

इरानका राष्ट्रपति बसर अल असद भने भागेर शरण लिनका लागि रुसको राजधानी मस्को पुगेका छन् । यद्यपि उनले यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।

कतिपयले भने यस घटनालाई ५० वर्षभन्दा लामो असदको निरंकुश शासन पतन भएको भन्दै व्याख्या गरेका छन् । यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले असदको सत्ताच्युतलाई भने स्वागत गरेका छन् । यसैगरी असद हाल मस्कोमा रहे पनि उनले औपचारिक रुपम कुनै देशमा निर्वासन भने लिइसकेका छैनन् ।


क्लिकमान्डु