इन्साइडर ट्रेडिङ र कर्नरिङ गर्नेविरुद्ध निर्ममताका साथ कानुनको डण्डा चलाउँछुः सन्तोषनारायण श्रेष्ठ
पुँजी बजारलाई विकसित, सवल र चलायमान बनाई देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य साथ स्थापित नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्व भर्खरै सम्हालेको छु । यस जिम्मेवारीलाई सफलता पूर्वक निर्वाह गर्न मलाई यहाँहरूको साथ सहयोग अत्यन्त आवश्यक हुन्छ । आफ्नो भूमिका निर्वाह गर्न मैले ‘फेयर, ट्रान्सप्यारेन्ट/रेजिलियन्ट क्यापिटल मार्केट’लाई मुल नाराको रुपमा लिएको छु ।
नेपालको पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाइमा पुर्याउन धितोपत्र बोर्डको मात्र नभई हाम्रो क्यापिटल मार्केट इकोसिस्टमको समस्त सरोकारवालाहरूको संस्थागत सुदृढिकरण गर्न आवश्यक छ । त्यसका लागि म निरन्तर रुपमा लागि रहने छु र सोको लागि यहाँहरूलाई समेत आह्वान गर्दछु ।
पछिल्लो दशकमा नेपालको पुँजी बजारमा भएको प्रगतिसँगै चुनौती पनि थपिँदै गएको यहाँहरूलाई थाहा भएको विषय नै हो । त्यस्ता चुनौतीलाई क्रमश समाधान गर्दै त जाने नै हो, तर सर्वसाधारण लगानीकर्ताहरूको हितको संरक्षणलाई सर्वोच्च स्थान मा राखी उहाँहरूको मनोबल उच्च राख्न बजारमा हुने म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङलगायत अन्य सबै किसिमका अनैतिक क्रियाकलाप र अभ्यासहरूलाई निस्तेज पार्न निर्ममताका साथ प्रस्तुत हुन म हिच्किन्न !
मार्केट इकोसिस्टमका महत्वपूर्ण अङ्ग भई काम गरिरहनुभएकाहरुले बजारलाई चलायमान, सहज र विश्वासपूर्ण बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहनुभएको छ । उहाँहरु प्रति मेरो उच्च सम्मान छ । यसका साथै विभिन्न समस्याहरु भोग्दै आउनु परेको छ । जस्तै मार्जिन ट्रेडिङलाई प्रभावकारिताका साथ सञ्चालन गर्ने, सिस्टम इम्प्रुभमेन्टका कुरा । यस्तै समस्याहरुको सम्बन्धमा बोर्डले के सहयोग गर्न वा भूमिका खेल्न सक्क्ष, सुझावको अपेक्षा गरेको छु ।
सर्वसाधारण लगानीकर्ताहरुले यहाँहरुबाट अपेक्षा गरेको मूल विषय भनेको समयमै हिसाबको राफसाफ हो । यसका लागि विशेष ध्यान दिनुहुन आग्रह गर्छु । यसका अलावा आफ्नो सेवाको दायरा पनि बढाउँदै लैजानु पर्छ भन्ने मेरो मान्यता छ र त्यसको लागि म तत्पर छु ।
(बोर्डका अध्यक्ष श्रेष्ठले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभामा व्यक्त गरेको विचार)