इजरायलले भन्यो: हमासको कब्जामा रहेका विपिन जोशी जीवित छन्, उनी छिट्टै नेपाल फर्किन्छन्



काठमाडौं । एक वर्षभन्दा पहिलेदेखि हमास समूहले बन्धक बनाइराखेका नेपाली विद्यार्थी विपिन जोशी जीवीत नै रहेको इजरायल सरकारले जानकारी दिएको छ ।

नेपालका लागि इजरायलका नवनियुक्त राजदूत समुलिक ए वासले जोशी गाजा क्षेत्रमा जीवित नै रहेको सूचना पाएको बताएका हुन् ।

इजरायलमा कृषि अध्ययनका लागि गएका महेन्द्रनगरका विपिन जोशी हमासको आक्रमणको क्रममा १४ महिनाअघि बन्धक भएका थिए ।

त्यसपछि नै उनको विषयमा कुनै खबर सार्वजनिक भएको छैन । काठमाडौंस्थित इजरायली राजदूत वासले बिहीबार भनेका छन्, ‘नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले अरबी देशको स्रोतबाट पाएका छौं । हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताएका छन् । हमासको आक्रमणमा केही नेपालीको मृत्यु हुनुका साथै केही घाइते भएका थिए । हमास समूहले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगेको थियो ।

विपिन जोशीका परिवार र आफन्तले नेपाल सरकारलाई उनको रिहाइका लागि पहल गरिदिन बारम्बार अनुरोध गर्दा पनि सरकारले रिहाइको पहल गर्न सकेको छैन ।


क्लिकमान्डु