थाइल्यान्डमा ‘फोर्ब्स ग्लोबल सीईओ सम्मेलन’ सुरु



एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी मिडिया फोर्ब्सको २२औं ग्लोबल सीईओ सम्मेलन थाइल्यान्डको बैंककमा आयोजना भएको छ । बुधबार सुरु भएको दुईदिने सम्मेलनमा विश्वभरका ४ सय जति व्यवसायी नेताहरु सहभागी छन् ।

‘न्यु प्याराडाइम्ज’ थिममा आयोजित सम्मेलनमा तीब्र रुपमा विश्वसामु आउँदै गरेका विभिन्न परिवर्तन र रुपान्तरणहरुबारे विचार विमर्श गरिँदैछ । यस वर्ष विश्वभर देखिएका रुपान्तरणहरु, निर्वाचनहरु, भूराजनीति, व्यापार तनाब, अस्थिर अर्थतन्त्र, ऊर्जा र तीब्र रुपमा आउँदै गरेको प्रविधि लगायत विषयमा सम्मेलनमा बहस हुँदैछ ।

सम्मेलन उद्घाटन गर्दै एलभीएमएचका चेयरम्यान तथा सीईओ बर्नार्ड अर्नल्टले किनोट स्पिच दिएका थिए । सम्मेलनको दोस्रो दिन थाइल्यान्डका प्रधानमन्त्री पाएतेङतर्न सिनावात्रा फोर्ब्सको कार्यकारी उपाध्यक्ष मोइरा फोर्ब्ससँगको संवादमा सहभागी हुनेछिन् ।

यस्तै थाक्सिन सिनावात्राले फोर्ब्सका अध्यक्ष तथा फोर्ब्स मिडियाका प्रधानसम्पादक स्टेभ फोर्ब्ससँग संवाद गर्ने तालिका छ । दुईदिने सम्मेलनमा ५० जना सहभागीले विभिन्न शीर्षकमा बोल्नेछन् ।

विश्व अर्थतन्त्र, थाइल्यान्डको व्यवसायको परिदृष्य, प्रविधि, अन्वेषण तथा आर्टिफिसियल इन्टेलिजेन्स र लगानीका अवसरहरु लगायत विषयहरुमा उनीहरुले बोल्नेछन् । सम्मेलनमा फोर्ब्सका अध्यक्ष बर्नार्ड अर्नल्ट मालकोम एस फोर्ब्स लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

‘रिफर्मिङ द ग्लोबल इकोनोमी’, ‘ मास्टरिङ द मार्केट’, ‘रियल इस्टेट गेट्स रियल’, ‘इनोभेटिङ द फिचर’, ‘द कर्नर अफिस्ज न्यु भ्यु,’ ‘इनोभेटिङ द भ्युचर’, ‘इनर्जी प्रोस्पेरिटी प्याराडक्स,’ ‘ब्राइट आइडियाज फेस न्यु रियालिटी’, ‘फेमिली बिजनेस लुकिङ एट द नेक्स्ट फ्रन्टायर’,’अल्ट्रिजम इन एन एज अफ स्केप्टिसिजम’, ‘भेन्चर क्यापिटल्स स्ट्रेस टेस्ट’, ‘आसियन कनेक्टिभिटी एन्ड चेन्ज’, ‘स्टार्टअप एन्ड युनिकर्न्स’ र ‘इन्टेलिजेन्स विदआउट बोर्डर्स’ गरी १३ वटा शीर्षकमा एजेन्डा तय गरिएको छ ।

यसअघिको सम्मेलनमा भने नेपालको तर्फबाट फोर्ब्सको डलर अर्बपति सूचीमा रहेका विनोद चौधरी पनि वक्ताको रुपमा सहभागी थिए । यस्तै सीपी ग्रुप, थाइबेभ, बैंकक बैंक, बारितो प्यासिफिक, फ्रासेर्स प्रोपर्टी इन्टरनेसनल र कन्टेनर टर्मिनल सर्भिस यसपटकको सम्मेलनमा स्पोन्सरको रुपमा रहेका छन् ।


क्लिकमान्डु