कुलमानलाई हटाउने सरकारको तयारी: ऊर्जा मन्त्रालयले सोध्यो ६ बुँदे स्पष्टीकरण
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अर्को स्पष्टीकरण पनि सोधेको पाइएको छ ।
कात्तिक १३ गते एक साताभित्र बुझाउने गरी ऊर्जा सचिव सुरेश अधिकारीले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा पछिल्लो तीन महिनामा गरेको कामको विवरणसहितको ६ बुँदे स्पष्टीकरण मागिएको छ ।
बिदाबाहेक सातदिनभित्र उक्त स्पष्टीकरण घिसिङले मन्त्रालयलाई बुझाउनुपर्नेछ । आज उक्त स्पष्टीकरण बुझाउने अन्तिम दिन हो ।
ऊर्जा मन्त्री दीपक खड्का उद्योगहरुमा लाइन नकाटी डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद समाधान गर्ने तयारीमा थिए । तर कुलमानले एग्रेसिभ भएर लाइन काटेपछि उनलाई ६ बुँदे स्पष्टीकरण सोधिएको स्रोतको भनाइ छ।
ऊर्जा मन्त्री दीपक खड्काले यस अघि नै १५ बुँदे विवरण मागिसकेका छन् । असोज २३ गते १५ बुदे विवरण मागिएको हो । १५ बुदे विवरण नबुझाएपछि ६ बुदे स्पष्टीकरण सोधिएको हो । उनले दशै,तिहार र छठको विदाका कारण नभ्याएको भन्दै उनले स्पष्टीकरण बुझाएका छैनन् ।
१५ बुदे स्पष्टीकरणमा ऊर्जा मन्त्रालयले प्रबन्ध निर्देशक घिसिङलाई विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरण समेत मागेको छ ।
विद्युत प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।
विगत ४ वर्षदेखि प्रबन्ध निर्देशकबाट भएका बोलपत्र स्वीकृत, विभाग निर्देशनालयबाट भएका खरिद स्वीकृतिको समेत विवरण मागिएको छ ।
यसैबीच डेडिकेटेड ट्रंक लाइन विवाद जारी रहँदा सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ र त्यसको कार्यान्वयन गर्दै टीओडी मिटरको बिल दिँदै १५ दिनभित्र उद्योगहरुबाट बक्यौता असुल गर्ने निर्णय गरेको छ ।
त्यस्तै उद्योगमा २४ घण्टाभित्र बिजुली जोड्न मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।
ऊर्जा मन्त्री दिपक खड्काले बिजुली जोड्नका लागि सञ्चालक समितिको बैठक बस्नु नपर्ने बताएको भए पनि मंगलबार मध्याह्नसम्म प्राधिकरणले उद्योगहरुमा लाइन जोडेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा लाइन नजोडिए हेर्दै जाने प्रतिक्रिया दिएका छन् । ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ,’ प्रधानमन्त्रीले भनेका थिए।