आज नेपाली समुदायमा भाइटीका र मिथिलामा भरद्वितीया मनाइँदै, उत्तम साइत बिहान ११ः३७ बजे



काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

तराई मधेशका जिल्लामा भने आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् ।

यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ ।

यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।

यमपञ्चकमा पर्वत मूलका र मैथिल हिन्दूको पर्व मनाउने विधि र तरिका केही फरक भएपनि पौराणिक कथावस्तु भने एउटै देखिन्छ । सत्ययुगमा राजा बलिका बहिनीहरू गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टिका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताए ।

मैथिल परम्पराको भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन नै छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् ।

पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छ । यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टिका लगाइ दिने मैथिल परम्परा छ ।

मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस्भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने भनिने यो विधिमा सा¥हो न सा¥हो केराउलाई बज्रसँग तुलना गरेर ‘बजरी’ भनिएको डा विमलको भनाइ छ ।

बजरी ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको उनले बताए । यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् । यो विधि मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा द्वितीया तिथिबाट शुभसाइत निकालिन्छ ।

मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीनवटा पर्व परम्परा देखिन्छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा यमुना नै हुन् ।

कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्वभने द्वापरयुगकालीन भगवान श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीचको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको बताइन्छ ।

मिथिलाञ्चलभरिका गाउँ सहरको चौबाटामा आज एकाबिहानै विभिन्न लोकगीत र नाचगान गर्दै दिदीबहिनीहरूले गाईको गोबर र केराउका दाना९बजरी०लाई ओखलमा कुटेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन छ ।

दिदीबहिनीहरुले ओखलमा गोबरसँगै कुटिएको केराउका दाना गोबरबाट झिकेर धोई पखाली आ–आफ्ना दाजुभाइलाई मिठाइ, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाउने गर्दछन् । दिदीबहिनीहरूले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु भने भनाइका साथ दाजुभाइलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाएर बजरी खुवाएर भैयादुज पर्व मनाउने परम्परा यहाँ चलिआएको जानकारहरू बताउँछन् ।

मिथिलाञ्चलमा भैयादुज पर्व हर्षोल्लास र खुसीका साथ मनाउने गरेको र यस पर्वले दिदीबहिनी तथा दाजुभाइको सम्बन्ध अझै प्रगाढ बनाउने गरेको उनले बताए ।


क्लिकमान्डु