भारतीय विमानमा फेरि बमको हल्ला, जाँचमा केही नभेटिएपछि काठमाडौंबाट दिल्लीको उडान



काठमाडौं । १६८ यात्रुसहित भारतको नयाँदिल्ली उडानको तयारीमा रहेको एयर इन्डियाको जहाजमा बम रहेको हल्लापछि केही बेर रोकेर सुरक्षा जाँच गरी फेरि दिल्ली उडान गरिएको छ ।

शनिबार अपराह्न ४:३१ मा एयर इन्डियाको विमानमा बम राखिएको हल्ला फैलिएपछि दिल्लीको उडान रोकेर यात्रुहरु ओरालेर विमानभित्र जाँच गरिएको थियो । तर बम वा विस्फोटक पदार्थ नभेटिएपछि केही बेरपछि फेरि उडान गरिएको हो ।

त्रिभुवन विमानस्थलमा बोर्डिङ पास लिइसकेर यात्रुहरु विमानभित्र जाने तयारीमा रहँदा अचानक धमको धम्की आएको थियो । तर सुरक्षा जाँचपछि कुनै खतराको संकेत नभेटिएको त्रिभुवन विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

यसअघि पनि दिल्लीबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरको विमानमा धमको धम्की आएपछि केही बेर सुरक्षा जाँच गरिएको थियो । तर बमको कुनै संकेत भेटिएको थिएन ।

त्यसो त भारतीय विमान कम्पनीहरुले भारतबाट विदेशमा र विदेशबाट भारतमा गरेका उडानमा पछिल्लो समय धमको धम्की पटकपटक आइरहेका छन् । र ती सबैजसो धम्की यथार्थ नभएर हल्ला मात्रै भएका थिए । क्यानडा,अमेरिका, बेलायत, जर्मनी, हङकङ, नेपाल लगायत देशहरुमा भारतीय कम्पनीका उडानमा बमको धम्की पटक पटक आएका छन् ।

त्रिभुवन विमानस्थलमा एक साताको अवधिमा भएको भारतीय कम्पनीको उडानमा बमको धम्की यो दोस्रो पटक हो । शनिबारको हल्लापछि पनि कडा सुरक्षा जाँच गरिए पनि कुनै संकेत भेटिएको छैन । सेनाले कुकुरसहित बम डिस्पोजल टोली प्रयोग गरेर विमानभित्र बम वा विस्फोटक पदार्थ खोजी गरेको थियो । तर कुनै संकेत नभेटिएपछि सामान्य अवस्थामा उडान भएको हो ।

पछिल्लो केही साताको अवधिमा सयौं यस्ता बमका धम्की आउँदा भारतीय विमान कम्पनीलाई करोडौंको क्षति पुगेको बताइएको छ । साथै यस्ता बमको धम्कीका हल्लाहरु भारत सरकारका लागि टाउको दुखाइको विषय बनिरहेको छ । यद्यपि केही शंकास्पद व्यक्तिहरुलाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।


क्लिकमान्डु