सर्लाहीको बरहथवामा आगलागी, पौने तीन करोडबराबरको क्षति



सर्लाही । सर्लाही जिल्लाको बरहथवा बजारमा शुक्रबार राति लागेको आगलागीबाट पौने तीन करोड रुपैयाँको क्षति भएको छ ।

उक्त आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको छ । बरहथवा नगरपालिका ७ स्थित बजारमा स्थानीय किसुन दासको घरमा सञ्चालित तीनवटा पसलमा भएको आगलागीबाट ठूलो क्षति पुगेको हो ।

आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको छ । गएराति साढे ११ बजेतिर सुरु भएको आगलागी आज बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।

स्थानीय, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।


क्लिकमान्डु