अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा मनाए दीपावली



एजेन्सी । पूर्वीय हिन्दूहरुको विशेष महत्त्वको चाड तिहारको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा दीप प्रज्वलन गर्दै लक्ष्मी पूजा गरेका छन् ।

यस अवसरमा बाइडेनसँगै उनकी पत्नी, उपराष्ट्रपति कमला ह्यारिससहित ह्वाइट हाउसमा कार्यरत भारतीय मूलका अमेरिकीहरु पनि सहभागी थिए । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावली मनाएका हुन् ।

यस अवसरमा उनले हिन्दू अमेरिकीहरुलाई दीपावलीको शुभकामना पनि दिएका थिए । यसअघिका दिपावलीमा पनि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा यसैगरी दीपावली मनाउने गरिएको थियो ।

यसपटक अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम तयारी भइरहँदा राष्ट्रपति कार्यालयमा दीपावली मनाउँदा यसले भारतीय मूलका मतदाताहरुलाई आकर्षिक गर्न सकिने पनि अपेक्षा गरिएको छ । आप्रवासीहरुका लागि उदार नेताको रुपमा चिनिएका बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि यो दीपावली अर्थपूर्ण मानिएको छ ।

यद्यपि आप्रवासीका लागि अनुदार मानिएका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले पनि यसैगरी पहिले आफ्नो कार्यकालमा भारतीय मूलका अमेरिकीहरुको साथमा दीपावली मनाएका थिए ।


क्लिकमान्डु