दिल्लीको वायु ‘अति खराब’: कस्तो छ काठमाडौंको अवस्था ?
एजेन्सी । चिसो मौसम बढेसँगै भारतको राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा व्यापक रुपमा प्रदूषण बढिरहेको छ । त्यस क्षेत्रको हावाको स्तर ‘अति खराब’को सूचीमा परेको छ ।
दिवालीको रुपमा मनाइने तिहारको अवसरमा पटका पड्काइँदा वायु प्रदूषण बढेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उल्लेखित तथ्यांक अनुसार दिल्लीमा सबैभन्दा धेरै वायु प्रदूषण आनन्द विहार क्षेत्रमा देखिएको छ ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजे आनन्द विहारमा एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३९५ देखिएको छ ।
पटका पड्काउन प्रतिबन्ध लगाइए पनि दिल्ली र आसपासका क्षेत्रमा पटाका पड्ने क्रम रोकिएको छैन । जसले गर्दा पनि व्यापक रुपमा वायु प्रदूषण हुने गर्छ । यो वर्षको चिसो मौसम सुरु भएसँगै उत्तर भारतमा वायु प्रदूषण बढ्न थालेको बताइन्छ । र यसको असर देखिन थालेको बताइन्छ ।
यसरी वायु प्रदूषणको असर राजधानी दिल्ली र आसपासमा रहने करिब ३ करोड मानिसहरुमा पर्ने बताइन्छ । यसको असर बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलाहरु र बिरामीहरुमा सबैभन्दा धेरै पर्ने गर्छ । जवकि पछिल्ला दिनहरुमा यति धेरै असर देखिँदैछ कि स्वास्थ्य मानिसहरुमा पनि गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिन थालेको छ ।
दिल्लीमा हरेक वर्ष प्रदूषणको असर यति धेरै पर्छ कि मध्य चिसो मौसममा मानिसहरु बिरामी हुने र पैदल यात्रा पनि गर्न नसक्ने अवस्था आउँछ। बालबालिकालाई यात्रा गर्न असुरक्षित हुँदा दिल्लीका सबैजसो विद्यालयहरु प्रदूषण छेक्न बन्द नै हुने गर्छन् ।
र चिसो मौसममा प्रदूषणको असर धेरै पर्छ । थुप्रै अन्तर्राष्ट्रिय संस्थाहरुले दिल्लीलाई विश्वकै प्रदूषित सहरको सूचीमा राख्ने गरेका छन् । यसैबीच विश्वका सबैभन्दा प्रदूषित १५ सहरमध्ये १२ सहर भारतकै छन् ।
विश्व वायु गुणवत्ता रिपोर्ट अनुसार विश्वका ३० सबैभन्दा धेरै प्रदूषित सहरमा छन् । मेडिकल जर्नल बीएमजेको एक अध्ययन अनुसार प्रदूषणका कारण भारतमा हरेक वर्ष २० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गर्छ । त्यसो त दिल्लीको वायु प्रदूषणलाई लिएर बारम्बार सम्बन्धित निकायमाथि प्रश्न उठ्ने गरेको छ । सर्वोच्च अदालतले समेत प्रदूषणको विषयमा आपत्ति जनाइसकेको थियो ।
काठमाडौंको अवस्था कस्तो छ ?
हरेक वर्ष चिसो बढेसँगै नेपालको व्यस्त राजधानी सहर काठमाडौंमा पनि वायु प्रदूषणले नराम्ररी असर पार्ने गरेको छ । पछिल्ला वर्षहरुमा काठमाडौंमा चिसोलागेसँगै बाक्लो हुस्सु र तुवाँलोले जनजीवन अस्तव्यस्त पार्ने गरेको छ ।
कतिपय अवस्थामा त वायु प्रदूषणले गर्दा विद्यालयहरु समेत बन्द गर्नुपर्ने र उडान बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासको वायुको गुणस्तर अध्ययन गर्ने निकायका अनुसार शुक्रबार मध्याह्न १२ बजे काठमाडौंको वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) १३२ छ । शुक्रबारको तापक्रम भने २५ डिग्री सेल्सियस छ ।
एक्युआई १३२ देखिए पनि सामान्यतया यो अस्वस्थ अवस्था भने हैन । तर अमेरिकी दूतावासको वेबसाइटमा उल्लेख भए अनुसार रोगी तथा संवेदनशील स्वास्थ्य अवस्थाका मानिसका लागि भने यो सचेत हुनुपर्ने अवस्था रहेको उल्लेख छ । जवकि एक्युआई १५३ भन्दा माथि भए अस्वस्थ वायु मानिन्छ ।