यसरी गरे औद्योगिक राजधानी विराटनगरका उद्योगी व्यवसायी र मारवाडी समूदायले लक्ष्मी पूजा
विराटनगर । औद्योगिक राजधानी विराटनगरका उद्योगी व्यवसायी, मारवाडी समूदाय र सर्वसधारणले बिहीबार धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना श्रद्धाभक्तिका साथ गरेका छन् ।
उद्योगी, व्यापारी, मारवाडी समुदाय र सर्वसाधारणले विशेषगरी घर, झयाल, ढोका, कोठा, आँग, कौसीको सरसफाइ गरेर मिलिक मिलिक बत्ती, दियो बालेर दिपावली गर्दै लक्ष्मीलाई आमन्त्रण गरेका छन् ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औसीको रातलाई सुखरात्रि पनि भनिँदै आएको छ । यहाँका हरेक उद्योगी, व्यवसायी, सर्वसाधारण र मारवाडी समुदायले लक्ष्मी पुजाकालागि विहीवार साँझ घरको आँगनदेखि मुल ढोका हुँदै लक्ष्मीको पूजा गर्ने स्थान सम्म गाईको गोबर र रातो माटोले लिपपोत गरेर चामलको पिठो र अवीले लक्ष्मीको पाइला लक्ष्मीलाई घरमा भित्रिने वाटो देखाएका छन् ।
मारवाडी र उद्योगी व्यवसायीले लक्ष्मी पूजालाई विशेष पुजाका रुपमा लिने गरेको मारवाडी सेवा सदन विराटनगरमा अध्यक्ष नन्दकिशोर राठीले क्लिकमान्डुलाई बताए । उनले भने, ‘उद्योगी व्यवसायी र मारवाडी समुदायकालागि आजको दिन विशेष पनि हो ।’
मारवाडी समुदायले विशेष गरेर पण्डित पढाएर गणेश लक्ष्मीसहित सोढषमात्रीका र नौ ग्रहको पूजा गर्छन् । घर र लक्ष्मीको पूजा गर्ने ठाउँलाई सफा गरिन्छ । त्यसपछि गणेश लक्ष्मीसहित सोढषमात्रीका र नौ ग्रहको पूजा गरेर गुलियो र मिठाई खाने परम्परा रहेको राठीले जानकारी दिए ।
दीपावली गरेपछि पूजा कोठामा कलश, दियो र गणेश लक्ष्मी अनि कुँवेर स्थापना गरेर नयाँ नोट, धान चामल फलफूल, सेलरोटी चढाएर लक्ष्मीका आराधना गरेर घरका कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानेर पूजा गरेर दक्षिणा समेत दिने मारवाडी समुदायमा प्रचलन रहेको राठीले जानकारी दिए ।
उद्योगी व्यवसायीले वर्ष भरी गरेको आर्थिक कारोबारको खातापाताको विशेष रुपमा पूजा पनि गर्छन् । पहिला खाता पाताको पुजा हुन्थो । अहिले खातापाताको ठाउँमा कम्प्युटरको पुजा गरिन्छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले त्यसक्रममा कमल गठ्ठाको पनि पूजा गरिन्छ । पूजाका क्रममा राखिएका नयाँ नोट खर्च गरिँदैन र त्यसलाई तिजौरीमा राख्ने चलन छ । उनकाअनुसार आजकोदिन घरबाट सुको पनि बाहिर नजाओस् भन्ने परम्परा छ ।
लक्ष्मीपूजा सन्ध्याकालमा सकेर मध्यरातमा घरका महिलाले घरको अलक्ष्मी भागोस र लक्ष्मीले वास गरोस् भन्दै नाङलो ठटाउने प्रचलन पनि विराटनगरका उद्योगी व्यवसायी र सर्वसाधारण्मा जीवितै छ । पुराना उद्योगी ८२ वर्षीय ताराचन खेतानले भने उद्योगी व्यवसायी र यहाँको मारवाडी समुदायकालागि लक्ष्मी पूजा विशेष पर्व हो । उनले भने ,’पुराना मानिस पुरानै परम्पराले लक्ष्मी पुजागर्दा अहिलेका युवापिढीले पनि परम्परालाई नै निरन्तरता दिँदै आएका छन् ।’