रास्वपाको सडक राजनीति: आन्दोलनमा सामेल हुन सूर्यदर्शन पीडित असहमत, फकाउँदै शीर्ष नेता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सूर्यदर्शन सहकारीका पीडितबीच छलफल भएको छ । सोमबार रास्वपाको नेता तथा सांसद तोसिमा कार्कीको संयोजकत्वमा कास्कीका रास्वपाका नेताहरुसहित १० जनाले पीडितहरुलाई भेटेरे छलफल गरेका हुन् ।

पोखराको ग्यालेक्सी ब्याङकेटमा रास्वपा र सूर्यदर्शन बचत पीडित संघर्ष समितिबीच छलफल भएको हाे। साढे ४ बजेबाट सुरु भएको छलफल ८ बजेसम्म चल्याे । छलफलमा संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठसहित ६ जना सहभागी थिए । रास्वपा उच्च स्रोतका अनुसार सयुक्त कार्यक्रम गर्ने प्रस्ताव गरिएको भएपनि पीडीतहरुले अस्वीकार गरेका थिए । उनीहरुले कार्यक्रममा नै नआउने बताए ।

सहकारी पीडितहरुले भने राजनीति गर्ने भन्दा पनि उनीहरुले बचत फिर्ता पाउनुपर्ने माग राखेका छन । जुनसुकै पार्टी र जे सुकै भएपनि बचत फिर्ता पाउनुपर्ने उनीहरुको माग छ । संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले अहिलेको यो विरोध प्रदर्शनको औचित्य नरहेको भन्दै सहभागी हुन अस्वीकार गरेको बताए।

उनीहरुले सभापति रवि लामिछाने पक्राउ परेपछि विरोध गरिनु सहकारी पीडितहरुको न्यायका लागि नभएको गुनासो गरेका छन् । रास्वपाका नेता तथा सांसद स्वर्णिम वाग्ले, सुमना श्रेष्ठले भेट्न चाहेको भन्दै पीडितहरुलाई बोलाइएको थियो । त्यसपछि संघर्ष समितका अध्यक्ष श्रेष्ठ सहितको टोली भेट्नका लागि तयार भएको थियो ।

सहकारी पीडीतहरुले रास्वपालाई प्रदर्शनीमा सहभागिता जनाएर डुबेको रकम फिर्ता नहुने बताएका छन् । गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको छ ।

सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले विरोध प्रदर्शनका कार्यक्रमहरु गरिरहेको छ । शनिबारदेखि पोखरामा विरोध प्रदर्शनका कार्यक्रमहरु गरिरहेको छ । मंगलबार पोखराको पृथ्वीचोकदेखि अमरसिंहचोकसम्म विरोध र्‍याली पुर्‍याएर पुन: पृथ्वीचोक फर्किएर कोणसभा गरेर विरोध र्‍यालीको समापन गरेको छ ।

बुधबार पुन: विरोध र्‍यालीका कार्यक्रमहरु सार्वजनिक भएको छ । लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियाले सहकारीको रकम अपचलन गरेको निष्कर्षसहित संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएको थियो । संसदीय समितिले रवि लामिछाने, गितेन्द्रबाबु (जीबी (राई, कुमार रम्तेल र छविलाल जोशीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो ।

लामिछालाई गोर्खा मिडियाको १५ प्रतिशतको मालिकसहित प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन लगायतका सहकारीको ६५ करोड रुपैयाँ अपचन गरेको आरोप लागेको छ । सूर्यदर्शन पीडितहरुले लामिछानेविरुद्ध दिएको पूरक उजुरीको आधारमा लामिछानेलाई पक्राउ गरि पोखरा ल्याइएको हो ।

कास्कीको उक्त सहकारीको १ अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।

रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी जीबी राई भने फरार छन्। सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए ।

१९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।


दिनेश खड्का