सहकारी ठगीमा रवि लामिछाने पक्रेको सरकारले किन देखेन काँग्रेस उपसभापति गुरुङ र एमाले नेता पोखरेल ?



काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गत शुक्रबार पक्राउ गरेपछि एमाले र काँग्रेसका नेतालाई पनि कारबाही गर्नु पर्ने माग चर्को रुपमा उठेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेको संलग्नता देखिएपछि सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गरेको सफारिसका आधारमा लामिछाने पक्राउ परेका छन् ।

लामिछाने पक्राउ परेपछि रविका समर्थकहरुले अहिले नेपाली काँग्रेसका उपसभापति एंव सांसद धनराज गुरुङ र लेखा समितिका सभापति एंव एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि छानविन गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।

सहकारी ठगी प्रकरणमा सिधै जोडिएका गुरुङ र पोखरेलमाथि अनुसन्धान नगरेको भन्दै विरोध गरिरहेका छन् ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको महाप्रबन्धक ज्योति गुरुङले संस्थाको १४ करोड ८१ लख ६३ हजार ४१८ रुपैयाँ ठगेर २०७६ माघ १८ गतेदेखि फरार छिन् । उनी धनराज गुरुङको पूर्वपत्नी हुन् । उनीहरुले सहकारीबाट ठगेको रकम पचाउन २०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद गरिसकेका छन् । हाल ज्योति फरार छिन् । यस्तै मोरङ जिल्ला धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको करिब १२ करोड रकम ठगी प्रकरणमा लेखा समितिका सभापति पोखरेल मुछिएका छन् । उक्त सहकारीमा पोखरेल पत्नी अञ्जला कोइराला (पोखरेल) तत्कालीन समयमा सञ्चालक थिइन् । हाल उनी बैंकको कालोसूचीमा परेकी छिन्  ।

गुरुङ र पोखरेललाई सरकारले अनुसन्धान नगरेको भन्दै विरोध भएको हो ।

मितेरी सहकारीको प्रबन्धकले नै करिब १५ करोड ठगेर भागेको भन्दै संस्थाको अध्यक्ष कुम्भराज गुरुङले सहकारी विशेष छानविन समितिमा उजुरी दिएका थिए । समितिमा उजुरी गरेपछि समितिले अध्यक्ष गुरुङलाई बोलाएर बयान समेत लिएको थियो । समितिले पछि संस्थामा गएर स्थलगत अनुगमन गरेको थियो ।

प्रतिवेदनमा कांग्रेसका उपसभापति एवं पूर्व कानुनमन्त्री धनराज गुरुङ र उनले सम्बन्ध बिच्छेद गरेको भनिएकी श्रीमती ज्योति गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ।

नेता गुरुङले भने आफ्नी पूर्वपत्नी ज्योति हिनामिनामा संलग्न भएको हुनसक्ने तर आफ्नो सम्बन्ध बिच्छेद भइसकेको बताउँदै आएका छन्।

सहकारीका अध्यक्ष गुरुङले दिएको उजुरीको आधारमा समितिले अध्ययन पछि गुरुङले सहकारीको रकम नतिर्न सम्बन्धबिच्छेद गरेको समितिको निष्कर्ष छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेसहित धनराज गुरुङलाई पनि कारबाहीका लागि सिफारिस गरेको हो । तर, अहिले लामिछाने मात्रै पक्राउ परेका छन् ।

सत्तारुढ दल कांग्रेस उपसभापति गुरुङमाथि अहिलेसम्म कुनै अनुसन्धान भएको छैन । गुरुङ र पोखरेलमाथि अनुसन्धान नगरी रवि लामिछानेलाई पक्राउ गर्नुलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको रास्वपाका नेताहरुको आरोप छ ।

२०७० सालमा सहकारीमा लेखा प्रबन्धक हुँदै महाप्रबन्धक बनेकी ज्योतीले २०७६ मा विभिन्न १३८ भन्दा बढी बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी हुन् । संस्थाबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर छानबिन गरिएको थियो ।

‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रस्तुत रकम हिनामिना छानबिन समिति’ले २०७९ फागुन पहिलो साता बुझाएको प्रतिवेदनमा गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगेको उल्लेख छ । समितिले दिएको प्रतिवेदनमा यथाशीर्घ लेखापरीक्षण गराई रकम यकिन गर्न सुझाव दिएको थियो । पछि लेखापरीक्षण गर्दा गुरुङले १४ करोड ८१ लख ६३ हजार ४१८ रुपैयाँ ठगेको तथ्य फेला परेको हो । ज्योति सहकारीको उक्त रकम ठगेर २०७६ माघ १८ देखि सम्पर्क बिहीन छिन् ।

यो थाहा पाएपछि पूर्वमन्त्री गुरुङले २०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद गरेका थिए । उनले पूर्वपत्नी ज्योतीसँग सम्बन्ध बिच्छेद गरेको विषय संसदमा समेत जानकारी गराएका छन् । उनले यसअघि आफ्नो सम्बन्ध बिच्देको कारण सहकारीका अध्यक्ष कुम्भराज गुरुङ भएको आरोप लगाएका थिए । प्राप्त प्रमाण अनुसार उनले श्रीमतिले अपचलन गरेको करिब १५ करोड रुपैयाँ पचाउन सम्बन्ध बिच्छेद गरेको पाइएको छ ।

गुरुङले आफूले २०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद भएको र त्यसपछि सम्पर्क नभएको दाबी गरेका थिए । प्राप्त प्रमाणका आधारमा उनको भनाइ गलत साबित हुन्छ । उनको भनाइ र प्रमाण हेर्दा श्रीमतिले सहकारीबाट ठगेको पैसा अपचलन गर्न सम्बन्ध बिच्छेद भएको धेरैको बुझाइ छ ।

२०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद गरेको दावी गरेका धनराजले मितेरी सहकारीबाट २०७७ माघ २० गते पनि १८ लाख १० हजार रुपैयाँ कर्जा लिएका थिए । कर्जामा हकवालाको नाम ज्योती गुरुङ रहेको छ भने नातामा श्रीमति भन्ने उल्लेख छ ।
धनराजले सहकारीबाट २०७७ साल फागुन ३ गते १२ लाख रुपैयाँ कर्जा लिएका थिए । त्यसमा पनि हकवालाको नाम ज्योती गुरुङ र नातामा श्रीमती भन्ने उल्लेख छ ।

यसले पनि धनराजले श्रीमतिसँग सम्बन्ध बिच्छेद सहकारीको पैसा नतिर्नकै लागि गरेको पुष्टि गर्छ । सम्बन्ध बिच्छेद गरेको १ वर्षपछि निकालेको कर्जाको हकवालामा श्रीमति र नातामा पनि श्रीमति नै भन्ने उल्लेख छ । तर, धनराजले सम्बन्ध बिच्छेद भएपछि सम्पर्क नभएको बताउँदै आएका छन् । ज्योतीले सहकारी र सहकारीका बचतकर्तालाई गठेको पैसामा आफू नजोडिनका लागि गुरुङले सम्बन्ध बिच्छेद गरेको सहकारीका सञ्चालकको दाबी छ ।

धनराज उक्त सहकारीमा २०५८ साल कात्तिक ११ गते सेयरधनी बनेका थिए । संस्थामा उनको ३४ हजार ३३३ रुपैयाँको सेयर स्वामित्व छ । धनराजकी पूर्वश्रीमति ज्योति गुरुङ २०७६ फागुन १२ गतेदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकी छन् ।

यता लेखा समितिका सभापति पोखरेलकी श्रीमती पेशाले शिक्षक भए पनि उमागौरी सहकारीको नाम मात्रैको सञ्चालक थिइन् । उनी संस्थामा ६ वर्ष सञ्चालकको रुपमा रहिन् । हाल सहकारी करिब २ वर्षदेखि बन्द छ । सहकारी बन्द भएपछि बतकर्ताले उनलाई समेत दोषी देखाएर कोशी प्रदेशको सहकारी रजिस्ट्रारमा उजुरी दिएका छन् । उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि प्रहरीमा पठाएको छ । अनुसन्धानको क्रममा पोखरेलको समेत नाम जोडिएको स्रोतको दाबी छ ।

तर, प्रहरीले पोखरेल माथी अनुसन्धान गरेको छैन । रविलाई पक्राउ गर्ने प्रशासनले गुरुङ र पोखरेललाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने रास्वपाको माग छ । राजनीतिक शक्तिका आधारमा यी दुई जनालाई भने प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सकेको छैन । गुरुङ र पोखरेललाई नदेख्ने सरकारले रविलाई मात्रै देख्दा राजनीतिक प्रतिशोध साँधिएको हो कि भन्ने शंका उब्जिएको छ ।


क्लिकमान्डु